
बैंकिङ खबर/ नबिल बैंक र नेपाल बंगलादेश बैंकको सेवा चार दिन अवरुद्द हुने भएको छ। यी दुई बैंकबीच मर्जर तथा प्राप्तिपछि असार २७ गतेदेखि एकिकृत कारोबार गर्ने भएकोले सो को लागि डाटा माइग्रेसन गर्नुपर्ने भएकोले सेवा प्रभावित हुने बैंकले जनाएको छ ।
जसअनुसार दुबै बैंकको सम्पूर्ण तथ्याङ्कलाई एकल बैकिङ्ग सफ्टवेयरमा समायोजन (Data migration) गर्ने प्रयोजनको लागि मिति २०७९/०३/२४ गते शुक्रबार कार्यालय समय पछि मिति २०७९/०३/२७ गते सोमबार विहान कार्यालय समय अगाडिसम्म नबिल बैंक लि. का सम्पूर्ण बैंकिङ्ग सेवा तथा कारोबार र मिति २०७९/०३/२५ गते शनिबार सार्वजनिक विदाको दिन सञ्चालन हुने सम्पूर्ण काउण्टर (365 days Banking) तथा अन्य बैंकिङ्ग सेवा बन्द रहने छ । उक्त समयमा नबिल बैकका क्रेडिट कार्ड र प्रिपेड कार्ड भने सञ्चालनमा रहने ।
त्यसै गरी नेपाल बङ्गलादेश बैंक लि. मा भने मिति २०७९/०३/२३ गते विहिबार कार्यालय समय पश्चात मिति २०७९/०३/२७ गते सोमबार बिहान कार्यालय समय अगाडि सम्म उक्त बैंकका सम्पूर्ण बैकिङ्ग सेवा तथा कारोबार बन्द रहने छ । उक्त समयमा नेपाल बङ्गलादेश बैंक लि. का क्रेडिट कार्ड भने सञ्चालनमा रहने छ। साविक नेपाल बङ्गलादेश बैंक लि. ले जारी गरेका डेबिट क्रेडिट प्रिपेड कार्डहरु मिति २०७९/०३/२७ गते सोमबार विहान कार्यालय समय पश्चात सुचारु हुने छ ।
त्यस्तै दुवै बैंकको असार १९ गते बसेको संचालक समितिको बैठकले असार २७ गतेदेखि एकिकृत कारोबार गर्ने इर्ने गरेको थियो । नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई १००ः४३ को स्वापमा गाभ्न लागेको हो । जसअनुसार नेपाल बङ्गलादेश बैंकका शेयरधनीहरुले नेपाल बङ्गलादेश बैंकको १०० कित्ता बराबर नबिल बैंक लिमिटेडको ४३ कित्ता शेयर प्राप्त गर्नेछन् ।
२०७८ चैत्र मसान्तको बित्तीय विवरण अनुसार नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति गरे पश्चात नबिल बैंकको चुक्ता पूंजी २२ अर्व ८३ करोड २९ लाख ८ हजार पुग्नेछ भने कर्जा रकम ३०९ अर्ब र निक्षेप रकम ३२० अर्ब पुग्नेछ। त्यसैगरी बैंकको गैरकोषमा आधारित व्यवसायको आकार १४५ अर्ब पुग्नेछ। प्राप्ति पश्चात् नबिल बैंकको शाखा सञ्जाल बृद्धि भई २५४ पुग्नेछ । त्यसैगरी, ९ महिनाको संयुक्त खुद मुनाफा ४ अर्ब ४६ करोड हुनेछ ।





