Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

बैंकमा १३ खर्ब रुपैयाँ थुप्रियो : अर्थतन्त्र भने चलायमान भएन !

२०८३ श्रावण ६ गते

बैंकिङ खबर / नेपाल राष्ट्र बैंकका पछिल्ला तथ्यांकअनुसार अहिले बैंक तथा वित्तीय संस्थाको प्रणालीमा करिब १३ खर्ब रुपैयाँ बराबरको अधिक तरलता रहेको छ । अर्थात् बैंकसँग लगानीयोग्य रकम प्रशस्त छ। तर त्यो पैसा उद्योग, व्यवसाय, कृषि वा उत्पादनका क्षेत्रमा पुग्न सकेको छैन। परिणामस्वरूप बैंकमा पैसा थुप्रिने र अर्थतन्त्र सुस्त रहने विरोधाभास देखिएको छ। नेपालको बैंकिङ प्रणाली अहिले एउटा रोचक तर चिन्ताजनक अवस्थाबाट गुज्रिरहेको छ। केही वर्षअघि बैंकहरूमा तरलता अभाव थियो। उद्योगी–व्यवसायीले कर्जा नपाएको गुनासो गर्थे, ब्याजदर १५–१६ प्रतिशतसम्म पुगेको थियो र लगानी गर्न चाहनेहरू बैंकको ढोका–ढोका धाउन बाध्य थिए। तर अहिले अवस्था ठ्याक्कै उल्टो भएको छ। बैंकसँग पैसा छ, तर त्यसलाई लैजाने ग्राहक छैनन् । यो केवल बैंकिङ क्षेत्रको समस्या होइन, समग्र अर्थतन्त्रको संकेत हो।

बैंकिङ प्रणालीमा तरलता बढ्नुको सबैभन्दा ठूलो कारण रेमिट्यान्स हो। पछिल्ला दुई वर्षदेखि नेपालमा रेमिट्यान्सले लगातार नयाँ रेकर्ड बनाइरहेको छ। चालु आर्थिक वर्षको जेठसम्म मात्रै २१ खर्ब २० अर्ब रुपैयाँ विप्रेषण भित्रिएको छ। पछिल्ला तीन महिनादेखि मासिक झण्डै २ खर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिरहेको छ।

बैंकहरू अहिले कर्जा दिन तयार छन्। ब्याजदर पछिल्ला पाँच वर्षयताकै न्यून स्तरमा झरेको छ। कतिपय बैंकले निक्षेपमा ४ प्रतिशतभन्दा कम ब्याज दिइरहेका छन् भने कर्जाको ब्याज पनि उल्लेख्य रूपमा घटेको छ। तर निजी क्षेत्र भने नयाँ लगानी गर्न इच्छुक देखिएको छैन।

उद्योगी–व्यवसायीका अनुसार बजारमा माग घटेको छ। उत्पादन गरे पनि बिक्री हुने सुनिश्चितता छैन। निर्माण क्षेत्र सुस्त छ। घरजग्गा कारोबार अझै पुरानो लयमा फर्किएको छैन। उपभोक्ताको क्रयशक्ति कमजोर छ। यस्तो अवस्थामा थप ऋण लिएर नयाँ उद्योग खोल्ने वा व्यवसाय विस्तार गर्ने जोखिम लिन धेरै व्यवसायी तयार छैनन्। यसको प्रत्यक्ष असर बैंकको कर्जा विस्तारमा परेको छ। बैंकसँग पैसा छ, तर कर्जा माग गर्ने ग्राहक कम छन्।

विदेशबाट आएको यो रकमको ठूलो हिस्सा बैंकमै जम्मा हुन्छ। त्यसैले बैंकहरूको निक्षेप निरन्तर बढिरहेको छ। अर्कोतर्फ सरकारको खर्च पनि आर्थिक वर्षको अन्त्यतिर बढेपछि बजारमा थप नगद प्रवाह भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक बुलेटिनले समेत कुल राष्ट्रिय बचत जिडिपीको ४४.८ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ। यसले बैंकिङ प्रणालीमा बचत बढिरहेको स्पष्ट देखाउँछ।

ब्याज घट्दा पनि चलायमान भएन अर्थतन्त्र 

सामान्यतया ब्याजदर घटेपछि लगानी बढ्ने अपेक्षा गरिन्छ। किनभने सस्तो ब्याजमा ऋण पाइने हुँदा उद्योग, व्यापार र निर्माण क्षेत्र सक्रिय हुन्छन्। तर नेपालमा अहिले त्यो सम्बन्ध कमजोर देखिएको छ। यसको प्रमुख कारण निजी क्षेत्रको कमजोर मनोबल हो। नीतिगत अनिश्चितता, बजारको सुस्त माग, सरकारी खर्चको कमजोर कार्यान्वयन, निर्माण व्यवसायीको भुक्तानीमा ढिलाइ तथा समग्र आर्थिक गतिविधिमा आएको मन्दीले व्यवसायीहरू नयाँ लगानी गर्न हिच्किचाइरहेका छन्। नेपाल राष्ट्र बैंकको आर्थिक बुलेटिनले अर्को महत्त्वपूर्ण तथ्य पनि देखाएको छ। राष्ट्रिय बचत इतिहासकै उच्च भए पनि कुल घरेलु बचत भने जिडिपीको ९.७ प्रतिशत मात्रै रहेको छ। यसको अर्थ स्पष्ट छ। नेपालमा बचत बढेको छ, तर त्यो मुख्यतः विदेशबाट आएको रेमिट्यान्सका कारण हो। देशभित्र उद्योग, कृषि, उत्पादन र रोजगारीबाट सिर्जित आय भने अपेक्षाअनुसार बढ्न सकेको छैन। यदि बचतको आधार घरेलु उत्पादन भएको भए त्यो रकम उद्योगमा पुनः लगानी हुने सम्भावना बढी हुन्थ्यो। तर अहिलेको बचत उपभोगपछि बैंकमा थुप्रिने प्रवृत्ति बढी देखिएको छ।