
बैंकिङ खबर/ अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च भएको छ । नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको विनिमय दर १ सय २७ रुपैयाँ ३० पैसा तोकेको छ । यो अहिले सम्मकै उच्च हो ।
सोमबार एक अमेरिकी डलरको विनिमय दर १ सय २६ रुपैयाँ ७८ पैसा थियो । गएको हप्तादेखि हरेक दिनजसो अमेरिकी डलरको भाउ उकालो लागिरहेको छ । पछिल्ला केही महिनायता विश्व बजारमा अमेरिकी डलरको माग बढ्दा त्यसको असर भारतीय मुद्रा (भारु) हुँदै नेपाली मुद्रासम्म आइपुगेको हो ।
नेपाली र भारतीय रुपैयाँबीच स्थिर विनिमय दर छ । स्थिर विनिमय दरसँगै नेपालको कुल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर छ । यसकारण भारतीय रुपैयाँको विनिमय दर घटबढ भएपछि नेपाली रुपैयाँ पनि प्रत्यक्ष प्रभावित हुन्छ ।


