२०७३ आश्विन ५ गते

दुई वर्षभित्र ६० करोड पुँजी पुर्याउन, यस्तो छ आरएसडीसी लघुवित्तको योजना

rsdcआरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो पुँजी वृद्धि योजना सार्वजनिक गरेको छ । राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत थोक कर्जाको कारोबार गर्ने लघुवित्तको चुक्ता पुँजी ६० करोड पुर्याउने घोषणा गरेको थियो । घोषणाअनुसार थोक कर्जाको कारोबार गर्ने लघुवित्तले २०७५ साल असारसम्ममा तोकिएको पुँजी पुर्याउनुपर्ने व्यवस्था गर्दै यसमा लागि योजना पेस गर्न गत भदौसम्मको समयसीमा दिएको थियो । सोही अनुरुप आरएसडीसी लघुवित्तले पुँजी वृद्धिको योजना सार्वजनिक गरेको हो ।

यस्तो छ योजना
हाल कम्पनीको चुक्तापुँजी हाल ६ करोड रुपैयाँ रहेको छ । हालै ४ करोड बराबरको साधारण सेयर बाँडफाटपछि कम्पनीको चुक्तापुँजी १० करोड रुपैयाँ पुग्नेछ । कम्पनीको योजनाअनुसार, गत आर्थिक वर्षको मुनाफाबाट १५ प्रतिशत बोनस सेयर दिएर चालू आर्थिक वर्षको पुससम्ममा चुक्तापुँजी ११ करोड ५० लाख रुपैयाँ पुर्याउनेछ । उक्त पुँजीबाट एक बराबर दुईको अनुपातमा हकप्रद सेयर जारी गरेर कम्पनीले चालू आर्थिक वर्षभित्रै चुक्तापुँजी ३४ करोड ५० लाख रुपैयाँ पुर्याउनेछ । चालू आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर दिएर आगामी आर्थिक वर्षको पुष मसान्तसम्ममा ३६ करोड २२ लाख ५० हजार रुपैयाँ पुँजी पुर्याउनेछ । त्यसपछि पाँच बराबर तीन कित्ताका दरले हकप्रद जारी गरेर ५७ करोड ९६ लाख रुपैयाँ पुँजी पुर्याउनेछ । उक्त पुँजीमा आगामी आर्थिक वर्षको मुनाफाबाट दुई करोड ५३ लाख ५७ हजार रुपैयाँ पुँजीकृत गरि ६० करोड ४९ लाख ५७ हजार रुपैयाँ पुँजी पुर्याउनेछ ।