सानिमा बैंकले आफ्ना सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।
कैंकले गत आर्थिक वर्षको मुनाफाबाट उक्त लाभांश प्रस्ताव गरेको हो । गत आर्थिक वर्षमा बैंकले एक अर्ब पाँच करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । हाल सानिमा बैंकको चुक्तापुँजी चार अर्ब ५९ करोड रुपैयाँ रहेको छ । बोनस सेयर वितरण पश्चात् बैंकको पुुँजी सवा पाँच अर्ब रुपैयाँको हाराहारीमा पुग्नेछ ।
राष्ट्र बैंकको निर्देशनअनुसार, आगामी असार मसान्तसम्ममा आठ अर्ब पुँजी पुर्याउन बैंकलाई अझैपनि पौने तीन अर्ब पुँजी आवश्यक हुन्छ । यसका लागि बैंकले बोनस सेयर वितरणपश्चात् कायम चुक्तापुँजीबाट ३० प्रतिशत हकप्रद सेयर समेत निष्काशन गर्ने निर्णय गरेको छ । जसपश्चात् बैंकको पुँजी पौने सात अर्ब नाघ्नेछ । बाँकी पुँजी बैंकले चालू आर्थिक वर्षमा आर्जन गर्ने मुनाफाबाट वोनस सेयर दिएर पुर्याउन सक्ने देखिन्छ ।