सरकारले घोषणा गरेअनुसार पुर्वाधार विकास बैंक स्थापना गर्ने योजना कार्यान्वयनतर्फ अघि बढेको छ । चालु आर्थिक वर्षको बजेट तथा मौद्रिक नीतिमा घोषणा भएअनुसार २० अर्ब पुँजी हुने पुर्वाधार विकास बैंक स्थापना गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको हो । कार्यगत र प्राविधिक तहमा छलफल भईरहेको र त्यसबारे छलफल गरिरहेको कार्यदलले अवधारणापत्र बुझाएपछि नीतिगत तहमा अन्तिम छलफल हुने राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डीतले बताए । ‘पुर्वाधार विकास बैंक स्थापनाको प्रक्रिया अघि बढिसकेको छ’, उनले बुधबार बैंकिङ खबरसंग भने, ‘त्यसबारे छलफल अघि बढाएको कार्यदलले अवधारणापत्र माथिल्लो तहमा बुझाएपछि नीतिगत तहमा छलफल हुन्छ र त्यसले मुर्त रुप पाउँछ ।’
पुर्वाधार विकास बैंक स्थापनाका लागि आवश्यक पुर्वाधार, लगानीकर्ता, श्रोतलगायतका विषयमा छलफल गरी अवधारणा तयार पार्न राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका निर्देशकको संयजकत्वमा एउटा कार्यदल गठन गरिएको थियो । सो कार्यदलले अवधारणा तयार पार्ने काम अन्तिम चरणमा पुगेको जनाएको छ ।
सरकारले यसअघि नै घोषणा भईसकेको पुर्वाधार बैंक स्थापना गर्ने कार्यक्रमलाई निरन्तरता दिँदै चालु आर्थिक वर्षको बजेटमा निजी क्षेत्रसहितको संलग्नतामा नयाँ पुर्वाधार विकास बैंकको अवधारणा अघि सारेको थियो । त्यस अनुरुप एक तहको अवधारणा पनि तयार पारिएको र प्राविधिक तहको अवधारणा तयार भएपछि अन्य प्रक्रिया अघि बढ्ने राष्ट्र बैंकका सहप्रवक्ता पण्डीतले बताए ।
पुर्वाधार विकास बैंकको अवधारणालाई नेपाल राष्ट्र बैंकले २० अर्ब चुक्ता पुँजी पुर्याएर पुर्वाधार विकास बैंक खोल्न पाइने व्यवस्था मौद्रिक नीतिमा ल्याएको छ । पुर्वाधार विकास बैंक स्थापनाको लागि इमर्जिङ नेपाललिमिटेडको नेतृत्वमा विशाल ग्रुप, गोल्छा अर्गनाइजेशन, दुगढ ग्रुप, आइएमई ग्रुप लगायतले सेयर हाल्दैछन् । त्यस्तै कर्मचारी संचय कोष, नागरिक लगानी कोष समेत पूर्वाधार विकास बैंकमा सहभागी हुनेछन् । यसमा भारतको प्रसिद्ध इन्भेष्टमेन्ट कम्पनी केयर इन्डिया पनि सहभागी हुने भएको छ ।
पुर्वाधार विकास बैंकको प्रक्रिया अघि बढीसकेको र यसले चाँडै मुर्त रुपमा पाउने इमर्जिङ नेपालका प्रमुख कार्यकारी अधिकृत विनोद आत्रेयले जानकारी दिए । इमर्जिङ नेपाललाई पुर्वाधार विकास बैंक स्थापनाको लागि मुख्य लगानीकर्ता कम्पनीको रुपमा हेरिएको छ । यही कम्पनीको नेतृत्वमा लगानीकर्ताको समुहले बैंक स्थापनाको लागि शेयर हाल्नेछन् । ‘झन्डै तीन दर्जन उद्योगी तथा व्यवसायी, सरकारी उच्च प्रशासक र नेतृत्वदायी भूमिकामा पुगेका व्यक्तिहरुको अवधारणका रुपमा पुर्वाधार विकास बैंक खोल्ने प्रकृया अगाडि वढेको हो ।’ बैंकिङ खबरसंगको विशेष कुराकानीमा आत्रेयले भने, ‘अर्थ मन्त्रालय र राष्ट्र बैंकले चाहेको खण्डमा ६ महिनाभित्र पूर्वाधार विकास बैंक स्थापना गर्न सकिन्छ भन्ने हाम्रो विश्वास छ ।’ उनले पूर्वाधार क्षेत्रमा लगानी गर्ने वित्तीय संस्था नभएको हुँदा सरकारी र निजी अवधारणामा पूर्वाधार विकास बैंकको आवश्यकता भएको बताए ।
नेपालमा पूर्वाधारहरु कमजोर हुँदा मुलुकको विकास सुस्ताएको छ । खासगरी सडक–यातायात, उर्जा, शिक्षा, स्वास्थ्यालगायतका क्षेत्रमा अपेक्षित विकास हाँसिल हुन सकेको छैन । विदेशी लगानीकर्ताले पनि प्रतिकुल वातावरण रहेको भन्दै नेपालमा लगानी गर्ने उत्साह नदेखाउँदा विकासको गति सुस्ताएको हो । पुर्वाधार विकास बैंकको स्थापना भएको खण्डमा नेपालको विकासमा त्यसले निकै टेवा पुर्याउने अपेक्षा गरिएको छ ।




