साधारण सेयरमा लगानी गर्दा अब सर्वसाधारणको बैंक खातामै रकम रोक्का हुने भएको छ । नेपाल धितोपत्र बोर्डले साधारण सेयरमा लगानी गर्दा लगानीकर्ताको बैंक खातामै रकम रोक्का गर्ने (आस्वा) व्यवस्था लागू गर्ने अन्तिम तयारी गरेको जानकारी गराएको छ ।
बोर्डले साधारण सेयरमा लगानी गर्ने लगानीकर्ताको बैंक खातामै पैसा रोक्का गरी बाँडफाँडपछि मात्र परेको सेयरको पैसा काट्ने व्यवस्थालाई व्यवस्थित गर्न खोजेको जनाएको छ । बोर्डका अनुसार आस्वा तत्काल वाणिज्य बैंक र राष्ट्रियस्तरका विकास बैंकका खातालाई लागू हुनेछ । भारत र बंगलादेशमा भइरहेको व्यवस्थाको अध्ययन गरेर मात्र उक्त व्यवस्था लागू गरिनेछ । ढिलोमा माघदेखि आस्वा प्रणालीले काम गर्न सुरु गर्ने छ ।
नेपाल धितोपत्र बोर्डले धितोपत्र खरिद आवेदन रकम रोक्का राख्नेसम्बन्धी निर्देशिका २०७३ को मस्यौदा बोर्डमा लैजाने क्रममा छ । यो निर्देशिका लागू भएपछि एक व्यक्तिले धेरैको नामबाट आवेदन दिने प्रचलनको अन्त्य हुने अपेक्षा गरिएको छ ।
कसरी आउँछ खातामा रकम ?
यो प्रक्रियामा धितोपत्र खरिद आवेदन रकम रोक्का, बैंकबाट रकम रोक्का गराएको पत्र लिई साधारण सेयर खरिद आवेदनसहित बिक्री प्रबन्धककोमा बुझाउनुपर्ने हुन्छ । यसका साथै धितोपत्र खरिद आवेदन रकम रोक्का राख्ने सुविधा प्रदान गर्ने वित्तीय संस्थाको सकारात्मक नेट वर्थ, लगातार तीन वर्ष नाफामा गएको, खराव कर्जा पाँच प्रतिशतभित्र रहेको, कालोसूचीमा नरहेको तथा नेपाल राष्ट्र बैंकबाट समस्याग्रस्त घोषणा नगरिएको हुनुपर्छ । यो मापदण्ड पूरा गरी बोर्डबाट अनुमति लिएको संस्थाले आफ्ना खातावालाको मात्र खाताको रकम रोक्का गर्न सक्छ । यो व्यवस्थापछि बिक्री प्रबन्धक तथा संकलन केन्द्रमा चेक र नगद बुझाउने झन्झट हुँदैन । साथै लगानीकर्ताले बैंकमा रोखेको रकम रोक्का गरी सेयर आवेदन दिन सक्नेछन् । सेयरको बाँडफाँडपछि खातावालाले नपरेको सेयरको पैसा आफ्नै खातामा पाउने हुँदा हालजस्तो चेक जम्मा गराउनु पर्ने हुँदैन ।



