ग्रामीण तथा दुर्गम भेगलाई जनतालाई पनि बैंकिङ पहँचमा ल्याउन सुरु गरिएको ब्रान्चलेस बैंकिङ अर्थात शाखारहित बैंकिङ सेवा पनि प्रभावकारी हुन नसकेको देखिएको हो । पछिल्लो समयमा शाखारहित बैंकिङ सेवा सञ्चालन गर्ने क्रम जति बढिरहेको छ त्यति नै मात्रामा बन्द हुने क्रम पनि बढेको पाइएको हो । राष्ट्र बैंकका अनुसार गत असार मसान्तसम्मा आठ सय १२ स्थानमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याए । जसमध्ये, १३ प्रतिशत अर्थात एक सय दुई स्थानका सेवाहरु बन्द भइसकेका छन् ।
नचलेका शाखाहरु धमाधम बन्द हुँदै
नेपाल राष्ट्र बैंकले २०६६ जेठमा शाखारहित बैंकिङ सेवाको अवधारणा ल्याएपछि वाणिज्य बैंकहरूले ०६८ सालमा सेवा सुरु गरेका थिए । पाँच वर्षमा यति धेरै सेवा विस्तार हुने सकारात्मक पक्ष हो । यद्यपि, बैंकहरूबीच कसले धेरै ठाउँमा सेवा सुरु गर्ने भन्ने प्रतिस्पर्धामा सम्भाव्यता अध्ययन नै नगरी यस्ता सेवाहरु खोलिँदा आज धमाधम बन्द हुने स्थितीमा पुगेका छन् । छोटो समयमै धेरै शाखारहित सेवा सञ्चालनमा ल्याउने होडमा लागेका बैंकहरुलाई त्यही सेवाबाट घाटा हुन थालेपछि त्यस्ता स्थानका सेवाहरु बन्द हुन थालेका हुन् । ग्रामीण भेगमा बैंकिङ सेवा पुर्याउन नेपाल राष्ट्र बैंकको यो अवधारणालाई योजनावद्ध तवरले अघि बढाउन सकिएको भए साँच्चै नै यसले युगान्तकारी परिवर्तन ल्याउने सम्भावना देखिएको थियो । तर, यसलाई दिगो रूपमा सञ्चालन गर्न सम्बन्धित बैंक र राष्ट्र बैंकले चासो नलिँदा विस्तार गरिएका सेवा पनि बन्द गर्नुपर्ने स्थिती सिर्जना भइरहेको छ ।
सक्षमको सहयोग
केही स्थानमा यस्ता शाखाहरु बन्द भएपनि कतिपय स्थानमा ब्रान्चलेस बैंकिङ सेवाले निकै सहयोग पुर्याइरहेको छ । शाखारहित बैंकिङ सेवाको सुरुवाती दिनमा बैंकहरूले आफूखुसी विस्तार गरेपछि पछिल्लो समय यसका लागि दातृ निकायको सहयोगका कारण यसको विस्तार पनि बढिरहेको छ । बेलायती सहयोग नियोगको सहयोगमा सञ्चालित सक्षम परियोजनाले शाखारहित बैंकिङ सेवा विस्तारका लागि गत वर्षदेखि सहयोग गर्न थालेको छ । परियोजनाको सहयोगमा भूकम्प प्रभावित १४ जिल्लाका साथै सुदूर र मध्यपश्चिमाञ्चलमा शाखारहित बैंकिङ सेवा विस्तार भइरहेको छ । पछिल्लो एक वर्षमा मात्र परियोजनाको आर्थिक सहयोगमा ४५५ वटाभन्दा बढी स्थानमा शाखारहित बैंकिङ सेवा विस्तार भइसकेको छ । भूकम्प प्रभावित र दुर्गम ठाउँमा सेवा सञ्चालनका लागि हाल परियोजनाले बैंकको लागतमा ५० प्रतिशत सहयोग गर्दै आएको छ ।
सक्षमको सहयोग बन्द भएपछि भने उक्त सेवा सुचारु राख्न गाह्रो हुने बैंकरहरु बताउँछन् । भूकम्प प्रभावित जिल्लामा सरकारले दिने अनुदान वितरण प्रक्रिया शाखारहित बैंकिङ सेवामार्फत भइरहेको छ । यसबाट तत्कालका लागि शाखारहित सेवाको ग्राहक कारोबार भने राम्रो भएको देखिएको छ ।
के हो ब्रान्चलेस बैंकिङ ?
बैंकको शाखा नभएका स्थानमा सरल तथा सहज रूपमा वित्तीय पहुँच पुर्याउनका लागि ल्याइएको एक अवधारणा हो शाखारहित बैंकिङ सेवा । यसअन्तर्गत बैंकको सेवा नपुगेको स्थानमा बैंकका तर्फबाट स्थानीय व्यापारी वा सेवाग्राहीलाई अभिकर्ताका रूपमा सम्झौता गरिन्छ । अभिकर्ताले बैंकले उपलब्ध गराएको मेसिनमार्फत स्थानीयलाई खाता खोल्ने, रकम जम्मा गर्ने, झिक्ने, रेमिट्यान्स भुक्तानी र स–सानो ऋण लगानीलगायत सेवा दिन्छन् । राष्ट्र बैंकको निर्देशनअनुसार ‘क’ वर्गका वाणिज्य बैंक र ‘ख’ वर्गका विकास बैंकले शाखारहित बैंकिङ सेवा सञ्चालन गर्न पाउँछन् । तर, हालसम्म वाणिज्य बैंकहरूले मात्र यस्तो सेवा दिइरहेका छन् । बैंक तथा वित्तीय संस्थाले महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाबाहेक शाखा नभएका क्षेत्रमा शाखारहित सेवा विस्तार गर्न पाउने व्यवस्था छ ।



