नेपाल राष्ट्र बैंकले आफ्ना निगरानीमा राखेपछि समस्याग्रस्त बैंक तथा वित्तीय संस्थाहरुको अवस्था विस्तारै सुुधारिँदै गएको छ । कर्जा प्रवाहको अवस्था वा सुशासनको समस्याका कारण समस्याग्रस्त घोषणा भएका यस्ता ११ संस्थाहरुको कर्जा १४ अर्ब ४ करोड २३ लाख रुपैयाँ रहेकोमा गत असार मसान्तसम्ममा आठ अर्बभन्दा बढी कर्जा उठेको हो । उक्त, संस्थाहरुमा अब उठ्न बाँकी कर्जा ६ अर्ब ४२ करोड ३५ लाख रुपैयाँ मात्र रहेको राष्ट्र बैंकले जनाएको छ ।
बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनअनुसार राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेका वित्तीय संस्थाले थप निक्षेप संकलन तथा कर्जा लगानी गर्न नपाउने प्रावधान छ । समस्याग्रस्त कारबाही भोगेका संस्थाले खराब कर्जा उठाएर निक्षेप फिर्ता गर्ने र संस्थाको वित्तीय स्वास्थ्य सुधार गनुपर्ने हुन्छ ।
समस्याग्रस्त ११ वित्तीय संस्थामध्ये सबैभन्दा धेरै कर्जा नेपाल सेयर मार्केट्स एण्ड फाइनान्सको रहेको छ । समस्याग्रस्त हुनुअघि फाइनान्सको ५ अर्ब १८ करोड रुपैयाँ रहेकोमा गत असारसम्ममा २ अर्ब ४१ करोड ३७ लाख रुपैयाँ कर्जा उठ्न बाँकी छ । तर, संस्थाको खराब कर्जा ९८.६३ प्रतिशत छ । फाइनान्सको सम्पूर्ण कर्जा जोखिममा छ ।
उठ्न बाँकी कर्जा सबैभन्दा थोरै हुनेमा अरुण फाइनान्स रहेको छ, जसको गत असार मसान्तसम्ममा ५ करोड ५१ लाख २२ हजार रुपैयाँ मात्र उठ्न बाँकी रहेको तथ्यांक छ । समस्याग्रस्त घोषणा हुँदा अरुणको १३ करोड ६० लाख रुपैयाँ कर्जा रहेको थियो । हाल फाइनान्सको खराब कर्जाको अंश भने ९८ प्रतिशत छ ।


