एनएमबि बैंकले ‘एकघर, एकखाता’ योजना अन्तरगत देशैभरी वित्तिय साक्षरता सहितको अभियान चलाउने भएको छ । सो बैंकले आफ्ना शाखा रहेका जिल्लाहरुमा वित्तिय साक्षरता सहित सर्बसाधारणलाई बैंक खाता खोल्नमा सहजिकरण गर्ने भएको छ । जसका लागि नेपाली फिल्म इन्डष्ट्रिजका महानायक राजेश हमाललाई ब्राण्ड एम्बेस्टर बनाइएको छ । नायक हमालले विभिन्न जिल्लाहरुमा सडक नाटकदेखि खाता खोल्ने काम सम्म गर्ने छन् । उनका साथमा बैंकका कर्मचारीहरु यस अभियानमा लाग्ने छन् । एनएमबि बैंकले घरघरमा गएर आफैले फोटो खिचेर बैंक खाता खोलीदिने छ । बैंकले आफ्ना शाखा भएका सबै जिल्लाहरुमा यो अभियान संचालन गर्ने बताएको छ ।
यो मलाई मन परेको छ : राजेश हमाल
‘एकघर एकखाता’ अभियानका ब्राण्ड एम्बेस्टर राजेश हमालले यो अभियान आफूलाई निकै मन परेको बताएका छन् । वित्तिय साक्षरता सहित आम नागरिकहरुलाई बैंकसम्म पहुँच पुर्याउने कार्यमा आफ्नो भूमिका रहनेमा आफू खुसी भएको उनले बताए । ‘मलाई यो अभियान निकै मन परेको छ, यो एउटा बैंकको प्रचार मात्रै नभएर देशका नागरिकमाथिको सामाजिक उत्तरदायित्व पनि हो’ नायक हमालले बैंकिङखबरसँग भने ‘म सबै ठाउँमा जानेछु र बैंक खाता संचालनमा आफैले उत्साहित गर्नेछु ।’ उनले सडक नाटकदेखि आम मानिसलाई वित्तिय साक्षरताबारे चेतना अभिबृद्धि गर्नेछन् । ‘यस किसिमको काम गर्न पाउँदा मलाई सन्तुष्टि मिल्ने छ’ नायक हमालले भने ‘यो त देशका लागि र समाजका लागि पनि गर्नुपर्ने काम नै हो ।’ बैंकहरुले विभिन्न सरल योजनाहरु ल्याएपनि सर्बसाधारणमा बैंक भनेको पैसा भएका र धनि व्यक्तिहरुको मात्रै हो भन्ने भ्रम चिर्न यो कार्यले सहयोग गर्ने हमालको भनाई छ । कलाकारिता क्षेत्रमा लागेको भएपनि हमालले बैंक वित्तबारे राम्रो जानकारी र शिक्षा लिएका छन् । उनले बैंकमा खाता खोल्न झन्झटीलो छ भन्ने मानिसको बुझाईलाई पनि दुर गर्नमा आफ्नो भूमिका सहयोगी हुने बताए । ‘यति धेरै बैंकहरु छन् हेर्नुस न कतिपय मानिसहरुको अझै बैंक खाता समेत छैन, यो त राम्रो होइन नि हैन र ?’ उनले भने ‘सबै मानिसको बैंक खाता भयो भने उनीहरुले थोरै पैसा पनि बचत गर्छन् र आवश्यक परेको बेलामा आफ्नै पैसाले काम गर्न सक्छन्’ हमालले काम गर्ने क्षमता भएका मानिसलाई बैंकहरुले साथ दिएकोप्रति निकै खुसी व्यक्त गरे । ‘काम गर्न सक्नेका लागि त बैंकले नै उद्यमी बनाइदिन्छ, तर यो कुरा सबैलाई बुझाउन जरुरी छ’ उनले भने । आफ्नो जीवनका धेरै खुसीहरु मध्ये यो कार्यमा पनि एउटा खुसी मिलेको राजेश हमालको भनाई छ ।
यो राष्ट्रिय अभियान हो – उपेन्द्र पौडेल सिइओ
एक घर एक खाता अभियान घोषणा कार्यक्रममा बैंकका सिइओ उपेन्द्र पौडेलले यो अभियान राष्ट्रिय अभियान भएको बताए । सरकारी योजना र बैंकको योजना मिल्नु राष्ट्रिय योजनाको सामिप्यता भएको भनको भनाई छ । कैयौं नागरिकहरु बैंक खाताबाट बंचित भएको अबस्थामा यो अभियानबाट वित्तिय चेतना बढ्ने र बैंक खाता खोल्नका लागि सर्बसाधारणलाई सहयोगि हुने उनले बताए । ‘यसले बैंकको प्रमोशन गर्नु अलग कुरा हो, तर वित्तिय साक्षरतामा सहयोगि पुराउने हाम्रो अर्को लक्ष पनि हो’ पौडेलले भने ‘बैंक खाता संचालन गर्न कठिन छैन भन्ने बुझाउन र बैंकसम्म पहुँच विस्तार गर्न नागरिकलाई यसले सहयोग गर्ने छ ।’ उनले सर्बसाधारणको यस अभियानमा उल्लेख्य सहभागिता होस भन्ने हेतुले राजेश हमाललाई ब्राण्ड एम्बेस्टर बनाएको बताए । ‘राजेश हमाल गाउँमा जाँदा मानिसले बित्तिय जानकारी पाउने भएका छन्, सबैले मन पराएका नायक भएका कारण यो अभियान झन शसक्त हुने छ’ उनले भने । नेपाल राष्ट्र बैंकले यसै बर्ष प्रकाशित गरेको मौद्रीक नीतिमा पनि वित्तिय साक्षरता अन्तरगत हरेक नागरिकको बैंक खात अभियान चलाउने घोषणा गरेको थियो । सोही अभियानलाई एनएमबि बैंकको यस योजनाले सहयोग गर्ने अपेक्षा लिइएको छ । 

