रुपा कोइराला । जलविद्युत्को क्षेत्रमा सर्वसाधारणको लगानी बढाउन पछिल्लो समय विभिन्न जलविद्युत् कम्पनीहरुले आईपीओ निष्काशन गरिरहेका छन् । कतिपयले भर्खरै निर्णय गरेका छन्, कतिपयले धितोपत्र बोर्डमा स्विकृत पाइसकेका छन् भने कतिपय पाइपलाइनमा छन् । हेरौँ, कुन कुन जलविद्युत् कम्पनीको आईपीओ निष्काशनको क्रममा छ ?
युनाइटेड मोदीको एक करोड १५ लाख कित्ता
युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले स्थानीय बासिन्दाका लागि आइपीओ जारी गर्न अनुमति पाएको छ । कम्पनीले कुल १ अर्ब १५ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशनको अनुमति पाएको हो । जसमध्ये, ११ करोड ५० लाख रुपैयाँ बराबरको सेयर सर्वसाधारणका लागि छुट्याइएको छ भने बाँकी ८६ करोड २५ लाख रुपैयाँ बराबरको सेयर संस्थापकहरुका लागि छुट्याइएको छ । युनाइटेड मोदी हाइड्रको पनि बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल रहेको छ । युनाइटेड मोदीले स्थानीयलाई सेयर बिक्री गरेपछि सर्वसाधारणलाई पनि बिक्री खुला गर्ने तयारी गरेको छ ।
युनाइडेट मोदीबाहेक पाँच वटा जलविद्युत् कम्पनीहरु पाइपलाइनमा छन् :
हिमालयन पावर पार्टनरको १० लाख ६५ हजार कित्ता
हिमालयन पावर पार्टनर लिमिटेडले १० करोड ६५ लाख ४१ हजार सात सय रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्दैछ । यसका लागि कम्पनीले धितोपत्र बोर्डमा ०७२ फाल्गुन ४ गते नै आवेदन दिइसकेको छ । कम्पनीले स्थानीय वासिन्दाका लागि एक सय रुपैयाँ अंकित दरका १० लाख ६५ हजार चार सय १७ लाख कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो । कम्पनीको सेयर निष्काशन तथा विक्रि प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड नियुक्त भएको छ ।
नेपाल हाइड्रो डेभलपरको दुई लाख ६० हजार कित्ता
नेपाल हाइड्रो डेभलपर लिमिटेडले दुई करोड ६० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशनका लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले स्थानीय वासिन्दाका लागि एक सय रुपैयाँ अंकित दरका दुई लाख ६० हजार कित्ता साधारण सेयर जारी गर्न लागेको हो । गत वैशाख २० गते आवेदन दिएको कम्पनीको सेयर निष्काशन तथा विक्रि प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।
आँखुखोलाको आठ लाख कित्ता
आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडले स्थानीय वासिन्दाका लागि आठ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्दैछ । कम्पनीले एक सय रुपैयाँ अंकित दरका आठ लाख कित्ता आईपीओ निष्काशनका लागि गत जेठ ३१ गते धितोपत्र बोर्डमा आवेदन दिएको छ । बोर्डले कम्पनीको उक्त प्रस्तावमाथि छलफल गरिरहेको छ । कम्पनीको आईपीओ सिभिल क्यापिटल मार्केट लिमिटेडले निष्काशन गर्नछ ।
अरुण काबेलीको ३० लाख कित्ता
अरुण काबेली पावर लिमिटेडले सर्वसाधारणका लागि ३० करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्दैछ । कम्पनीले एक सय रुपैयाँ अंकित दरका ३० लाख कित्ता आईपीओ निष्काशनका लागि गत असार २८ गते धितोपत्र बोर्डमा निवेदन दिएको हो । कम्पनीले सेयर निष्काशन तथा विक्रि प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
छ्यांदी हाइड्रोपावरको आठ लाख कित्ता
छ्यांदी हाइड्रोपावर हाइड्रोपावर लिमिटेडले पनि स्थानीय वासिन्दाका लागि आईपीओ निष्काशन गर्न धितोपत्र बोर्डमा गत साउन ३ गते आवेदन दिएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरका आठ करोड रुपैयाँ बराबरका आठ लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको हो । उक्त आईपीओ निष्काशनका लागि कम्पनीले ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा विक्रि प्रबन्धकमा नियुक्त गरेको छ ।
यीबाहेक कतिपय कम्पनीले आईपीओ निष्काशन गर्ने निर्णय मात्रै गरेका छन् भने अन्य आवश्यक प्रक्रिया सकेर धितोपत्र बोर्डमा निवेदन दिने तरखरमा छन् :
पञ्चकन्या माईको साढे २७ लाख कित्ता
पञ्चकन्या माई हाइड्रो पावर लिमिटेडले सर्वसाधारणका लागि २७ लाख ५० हजार कित्ता साधारण शेयर (आईपीओ) निष्काशन गर्ने प्रक्रिया अघि बढाएको छ । आईपीओ निष्काशनका लागि कम्पनीले सेयर निष्काशन तथा बिक्रि प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेडलाई नियुक्त गरेको छ । पञ्चकन्या समूहबाट प्रवद्र्धित कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा उक्त आईपीओ जारी गर्न लागेको जनाएको छ । कम्पनीले पहिले आयोजना प्रभावितका लागि ११ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने र त्यस पछि सर्वसाधारणका लागि १६ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गर्ने समेत स्पष्ट पारेको छ ।


