वाणिज्य बैंकहरूले टुक्रा सुन आयात गर्न पाउने भएका छन् । बैंकहरूलाई टुक्रा सुन आयात गर्न वाणिज्य मन्त्रालयले अनुमति दिएको हो । अवैध रूपमा सुन नेपाल भित्रिएपछि बैंकहरूको सुन बिक्री हुन छाडेपछि बिक्री वितरणलाई सहज बनाउन केही समयअघि नेपाल राष्ट्र बैंक, राजस्व अनुसन्धान विभाग, भन्सार विभाग, सुन व्यवसायीबीच भएको छलफल अनुसार बैंकहरूले १०० ग्राम, २०० ग्राम, ५०० ग्रामको पनि सुन ल्याउन पाउने सहमति भएको हो ।
हाल बैंकहरूले सुन किलोको टुक्रा आयात गरी किलोमै बिक्री गर्ने गरेका छन् । तर सबै सुन व्यवसायीसँग किलो सुन किन्ने क्षमता नभएपछि बैंकहरुसँग भएको सुन नबिक्ने समस्या देखिने गरेको छ । नेपालमा रहेका २२ हजारभन्दा बढी सुन पसलमध्ये झन्डै दुई दर्जन जतिले मात्रै किलो सुन किन्ने क्षमता राख्छन् । अब भने बैंकहरूले १ सय ग्राम, २ सय ग्राम, ५ सय ग्राम र एक किलोको परिमाणमा सुन ल्याउन पाउने भएका हुन् ।
वाणिज्य बैंकहरूले दक्षिण अफ्रिका, यू.ए.ई., हङकङ, स्विट्जरल्याण्ड लगायतका देशहरूबाट सुन एक किलोमा आयात गर्छन् । वाणिज्य बैंकहरूले पालैपालोमा दैनिक १५ किलो सुन आयात गर्न पाउने व्यवस्था छ । नेपाल राष्ट्र बैंक, संचालक समितिको बैठकमा पारित गरेर वाणिज्य बैंकहरूलाई परिपत्र गरिसकेपछि बैंकहरूले साना टुक्रा सुन आयात गर्न सक्नेछन् ।



