पञ्चकन्या माई हाइड्रो पावर लिमिटेडले सर्वसाधारणका लागि २७ लाख ५० हजार कित्ता साधारण शेयर (आईपीओ) निष्काशन गर्ने प्रक्रिया अघि बढाएको छ । आईपीओ निष्काशनका लागि कम्पनीले सेयर निष्काशन तथा बिक्रि प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेडलाई नियुक्त गरेको हो । साधारण शेयर निष्काशनका लागि बिक्रि प्रबन्धक नियुक्त गर्ने सम्बन्धमा विहिबार त्रिपक्षीय सम्झौता भएको छ । सम्झौतामा हाइड्रोका कार्यकारी निर्देशक सन्तोष कुमार प्रधान तथा एनसीएम मर्चेन्ट बैकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध संचालक बिजय लाल श्रेष्ठ र नबिल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले हस्ताक्षर गरे ।
पञ्चकन्या समूहबाट प्रवद्र्धित कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा उक्त आईपीओ जारी गर्न लागेको जनाएको छ । कम्पनीले पहिले आयोजना प्रभावितका लागि ११ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने र त्यस पछि सर्वसाधारणका लागि १६ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गर्ने समेत स्पष्ट पारेको छ ।
इलाम जिल्ला स्थित माबु, माईमझुवा, र सुलुबुङ्ग गाविसमा रहेको अप्परमाई जलविद्युत आयोजनाबाट ९.९८ मेगावाट विद्युत उत्पादन सुरु भइसकेको छ भने यसको क्षमतामा वृद्धि गरी १२ मेगावाट पुर्याउने योजना रहेको छ । साथै ६.१ मेगावाट क्षमताको माथिल्लो माई सी (क्यास्केड) जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा रहेको छ ।