
अन्तर्राष्ट्रिय बैंकिङ/ गतवर्ष चीनको कुल ग्रार्हस्थ उत्पादन (जीडीपी) मा ८.१ प्रतिशतले वृद्धि भएको छ। सन् २०२१ मा देशको कुल जीडीपी बढेर ११४.३७ ट्रिलियन युआन (झण्डै १८ ट्रिलियन अमेरिकी डलर) पुगेको त्यहाँको राष्ट्रिय तथ्याङ्क विभागले जनाएको छ।
सरकारले ६ प्रतिशतभन्दा माथि वृद्धि हासिल गर्ने लक्ष्य राखेको थियो। तर जीडीपी सरकारी लक्ष्यभन्दा धेरै वृद्धि भएको हो। ग्लोबल टाइम्सले जनाए अनुसार चीनको जीडीपी झण्डै एक दशकमा सबैभन्दा तीव्ररूपमा बढेको छ।
चीनको अर्थतन्त्र सन् २०२० को तुलनामा २०२१ मा २ ट्रिलियन डलर बढेको हाे। जुन लगभग विश्वको आठौँ ठूलो अर्थतन्त्र इटालीको सन् २०२० को जीडीपी बराबर हो।
महामारी र बाह्य जटिलताका बाबजुद चीनको अर्थतन्त्र स्थिर रहेको सरकारी तथ्याङ्कले देखाएको हो। एनबीएसका अनुसार सन् २०२१ मा चीनको प्रतिव्यक्ति आय १२ हजार ५५१ डलर छ। यो विश्व बैंकले परिभाषित गरेको उच्च आय भएका देशको हाराहारी हो। १२ हजार ६९५ डलरभन्दा धेरै प्रतिव्यक्ति आय भएकालाई उच्च आय भएको मुलुकमा राखिन्छ ।एजेन्सी



