फर्स्ट माईक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकमा आफ्नो पूँजी वृद्धि योजना पेश गरेको छ । नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय सस्ंथा नियमन विभागबाट भाद्र ८ मा जारी गरेको परिपत्र अनुसार बैंकले पूँजी वृद्धि योजना सार्वजनिक गरेको जनाएको छ ।
बैंकले राष्ट्र बैंकमा बुझाएको पूँजी वृद्धि योजना अनुसार गत आर्थिक बर्षको मुनाफाबाट १५ प्रतिशत बोनश बाँड्ने र चालु आर्थिक बर्ष्भित्रै पचास प्रतिशत हकप्रद जारी गर्ने भएको छ । अहिले बैंकको चुक्तापूँजी २३ करोड रुपैयाँ रहेको छ । बोनश पश्चात बैंकको चुक्तापूँजी २६ करोड रुपैयाँ पुग्ने र त्यसपछि पचास प्रतिशत हकप्रद जारी गरेपछि चालु बर्षमै ३९ करोड रुपैयाँ चुक्तापूँजी पुग्नेछ । त्यसपछि बैंकले आगामी आर्थिक बर्षमा १५ प्रतिशत बोनश र अर्को बर्ष पुनः पचास प्रतिशत हकप्रद जारी गरेर ६८ करोड पूँजी पुर्याउने योजना राष्ट्र बैंकमा बुझाएको छ ।
चालु आर्थिक बर्षको मौद्रिक नीतिबाट राष्ट्रिय स्तरको थोक कर्जा प्रदान गर्ने लघुवित्त वित्तीय संस्थाको पूँजी ६० करोड पुर्याउने व्यवस्था गरेको राष्ट्र बैंकले यहि भाद्र मसान्तभित्र त्यस्ता संस्थालाई वृद्धि पूँजी योजना बुझाउन निर्देशन दिएको थियो ।
