राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा. मीनवहादुर श्रेष्ठले नेपाल राष्ट्र बैंकमा राजिनामा दिएका छन् । राष्ट्र बैंकमा कार्यकारी निर्देशक श्रेष्ठलाई अघिल्लो बिहीबार सरकारले आयोगको उपाध्यक्षमा नियुक्त गरेको थियो । योजना आयोगमा नियुक्त भएपछि श्रेष्ठले राष्ट्र बैंकमा करिब दुई वर्ष कार्यकाल बाँकी छँदै राजिनामा दिएका हुन् ।
उनले कात्तिक १ गतेबाट लागू हुने गरी राजिनामा गरेका हुन् । कार्यकाल छँदै राजिनामा गर्नु परे कम्तिमा एक महिना अगाडि जानकारी गराउनु पर्ने राष्ट्र बैंकको नियम छ । उनले असोजको तलव र दसैंको भत्ता राष्ट्र बैंकबाटै बुझ्ने छन् ।
आयोगको उपाध्यक्ष देशको मर्यादाक्रममा नवौं नम्बरमा हुन्छ । कार्यकारी निर्देशक नेपाल सरकारको सचिव बराबरको पद हो । मर्यादाक्रममा निकै माथि पुगेका श्रेष्ठले राष्ट्र बैंक छाड्ने निर्णय गरेका हुन् ।