हरेक साताको अन्तिम दिन शुक्रबार बैँकिङ खबर डट कमले साताभरिका बैँकिङ समाचारहरुलाई एउटै पानामा समेट्दै आइरहेको छ । यस साता पनि बैँक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विभिन्न गतिविधिहरु भए । बैँक तथा वित्तीय संस्थासम्बन्धि विभिन्न समाचार तथा गतिविधिहरुलाई सञ्चार माध्यमहरुले महत्वका साथ प्रकाशन तथा प्रशारण गरे । यो साताको विहीबार नेपाल राष्ट्र बैंकले मर्जर तथा एक्विजिसन सम्बन्धी विनियमावली संशोधन गर्यो । समग्रमा, साताको सुरुवातदेखि बैँक तथा वित्तिय क्षेत्रमा भएका प्रमुख गतिविधिहरु यहाँ प्रस्तुत गरिन्छ :
मर्जर तथा एक्विजिसन सम्बन्धी विनियमावली संशोधन
नेपाल राष्ट्र बैंकले मर्जर तथा एक्विजिसन सम्बन्धी विनियमावली संशोधन गर्यो । बैंक तथा वित्तीय संस्था गाभिँदा कायम गर्ने सेयर आदनप्रदान अनुपात गणना विधिलाई थप वैज्ञानिक बनाउँदै मर्जर नीति २०५८ र एक्विजिसन नीति २०७० लाई एकै ठाउँमा गाभेर राष्ट्र बैंकले बिहीबार बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धि विनियमावली २०७३ सार्वजनिक गरेको हो । नयाँ विनियमावलीमा गाभ्ने तथा गाभिने संस्थाहरुको सम्पतिको मूल्यांकन प्रचलित बजार मूल्यमा गर्नु पर्ने गाभ्ने गाभिने संस्थाहरुको गणना गरिएको समायोजित खुल सम्पतिलाई ७५ प्रतिशत, ब्यवसायिक मूल्यांकनलाई २० प्रतिशत र नेपाल स्टक एक्सचेन्जबाट प्रकाशित पछिल्लो १८० दिनको औषत कारोबार मूल्यको आधारमा तय हुने रकमलाई पाँच प्रतिशत भाराङ्क दिइ आधार नेटवर्थ गणना गर्ने लगायतका व्यवस्था थप गरिएको छ ।
जलविद्युत्मा बैंकिङ लगानी
साताको सोमबार नेपालका १४ बैंकहरुको सहलगानीमा ५४ मेगावाटका दुई आयोजना निर्माण गर्ने सम्झौता सम्पन्न भयो । सानीगाड हाइड्रो प्रालीले प्रवद्र्धन गरेको ३८ दशमलव ४६ मेगावाटको माथिल्लो कालंगा गाड जलविद्युत् आयोजनामा ऋण लगानी गर्ने गरि माछापुच्छ्रे बैंकको नेतृत्वमा सम्झौता भएको हो । माछापुच्छ्रे सहित राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, एनसीसी बैंक, सनराइज बैंक, जनता बैंक, कुमारी बैंक र सिभिल बैंक गरि ८ बैंकले रु चार अर्ब ७४ करोड ऋण लगानी गर्ने भएका छन् । त्यस्तै, एनएमबी बैंक नेतृत्वमा ६ बैंकको सहवित्तीयकरणमा कालंगा हाइड्रो प्रालिको प्रवद्र्धन रहेको १५ दशमलव ३३ मेगावाटको कालंगा गाड जलविद्युत् आयोजनाका लागि ऋण सम्झौता भएको छ । यस आयोजनाको लागि एनआईसी एशिया बैंक, सिभिल बैंक, जनता बैंक, देव बिकास बैंक, ज्योती बिकास बैंकको लगानी रहने छ । यस आयोजनाको लागि ती बैंकहरुले रु २ अर्ब १० करोड ऋण लगानी गर्ने भएका छन् । यता लक्ष्मी बैंक लिमिटेडले पनि २४.२ मेगावाटको लिखु ए हाइड्रोइलेक्ट्रिक आयोजनामा ९६ करोड ७० लाख लगानी गर्ने सम्झौता गर्यो ।
नेपाल बैंकमा आन्दोलन
नेपाल बैङ्क लिमिटेडका कर्मचारीहरुले सेवा सुविधा बढाउने माग राख्दै आन्दोलन सुरु गरेका छन् । आफ्ना माग पूरा नभएसम्म धर्ना कार्यक्रम नरोक्ने बताएका छन् । विगतमा व्यवस्थापनसँग भएका सहमतिहरु कार्यान्वयनको माग राख्दै भदौ १४ गतेदेखि बैंकका कर्मचारी बिहान १० बजेदेखि १ बजेसम्म बैङ्कको प्राङ्गणमा धर्ना बस्दै आएका छन् । करारमा रहेका कर्मचारीलाई अवकाससहितको सेवासुविधा प्रदान गर्ने, कर्मचारीको उपदान वृद्धि गर्नुपर्ने, कर्मचारीको शिशु स्याहार भत्ता मासिक एक हजार रुपैयाँ प्रदान गर्नुपर्ने, कर्मचारीको पोसाक भत्ता वार्षिक चार हजार रुपियाँले वृद्धि गर्नुपर्ने लगायतका माग राख्दै कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् ।
आर्थिक विधेयक तथा वाफियाप्रति चासो
व्यवस्थापिका–संसद्को अर्थ समितिले राजनीतिक सहमति गरेर विनियोजन विधेयकसँग आश्रित तीनवटै विधेयक पारित गर्न निर्देशन दियो । सिंहदरबारमा विहीबार बसेको समितिको बैठकले बाँकी आर्थिक विधेयक, ऋण तथा जमानतसम्बन्धी संशोधन विधेयक र राष्ट्र ऋण उठाउनेसम्बन्धी संशोधन विधेयक पारित गर्न सरकारलाई निर्देशन दिएको समितिका सभापति प्रकाश ज्वालाले जानकारी दिए । व्यवस्थापिका–संसद्ले खर्च गर्ने विधेयक पारित गरेको तथा खर्च जुटाउने विधेयक पारित नगर्दा आर्थिक चक्रमा असर पर्ने भएकाले त्यसलाई अगाडि बढाउनुपर्नेमा जोड दिइएको हो । वैठकमा बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक र अन्य विधेयकलाई पनि अगाडि बढाउने विश्वास समेत दिलाइयो ।
बैंक खाताम नगद लाभांशको सुरुवात
सिद्धार्थ म्युचुअल फण्डले लगानीकर्ताको बैंक खातामा नै नगद लाभांश जम्मा गरिदिने घोषणा गर्यो । सिद्धार्थ फण्डद्धारा सञ्चालित सिद्धार्थ लगानी बृद्धि योजना १ र सिद्धार्थ इक्विटी ओरियन्टेड स्किमले लगानीकर्ताको बैंक खातामा नगद लाभांश जम्मा गरिदिने भएका हुन् । नेपाल धितोपत्र बोर्डले लगानीकर्ताले पाउने नगद लाभांस बैंक खातामा अनिवार्य रुपमा पठाउन निर्देशन दिएपछि त्यसको सुरुवात गर्ने यो नै पहिलो कम्पनी हो । यसअघि लाभांश लिन सम्बन्धित कम्पनीको मर्चेन्ट बैंकरकहाँ लगानीकर्ता स्वयं धाउनुपर्ने बाध्यता थियो ।
संस्थापक सेयर धितोमा राख्दा नो अब्जेक्सन लेटर
कतिपय नियामक निकाय नभएका संस्थाका संस्थापकले ‘नो अब्जेक्सन लेटर’ पेश नगरेको भन्दै सीडीएससीले संस्थापक सेयर धितोमा राख्दा लगानीकर्ताले सम्बन्धित सेयर रहेको कम्पनीबाट पाउने ‘नो अब्जेक्सन लेटर’ निक्षेप संग्रहकर्ता (डीपी) र सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) लाई पनि पेश गराउनु पर्ने निर्देशन जारी गर्यो । सेयर बिक्री गरेको भन्दा पुरा सेयर नभएमा कारोबारको २० प्रतिशत रकम बिक्रीकर्ता राफसाफ सदस्य (ब्रोकर) कट्टा गरेर खरिद कर्ता ब्रोकरकोमा जम्मा गर्नुपर्ने व्यवस्था भएकोले डीपीले निर्देशन पुर्जी समेत तत्काल प्रविष्टि गर्न निर्देशन दिएको छ । निक्षेप सदस्यको गल्तिले ग्राहकहरु क्लोज आउट हुन पर्ने अवस्था आएमा डिपीले नै क्षती व्यहोर्न पर्ने भन्दै परिपत्र गरेको सीडीएससीले जनाएको छ ।
सेयर निष्काशन तथा वितरण
मिथिला लघुवित्त विकास बैंकको हकप्रद सेयर निष्काशन मंगलबारदेखि बन्द भयो । सहारा बिकास बैंकले लगानीकर्तालाई एक बराबर १.५ को अनुपातमा अर्थात डेढ सय प्रतिशत हकप्रद दिने निर्णय गर्यो । ललितपूर फाइनान्स लिमिटेडले जारी गर्न लागेको अर्थात १ बराबर १ अनुपातको हकप्रद सेयरलाई इक्रा नेपालले ग्रेड फाइभ रेटिङ प्रदान गर्यो । मुक्तिनाथ विकास बैंकले ५० प्रतिशत हकप्रद शेयर निष्काशनका लागि भदौ ३० गते बुक क्लोज गर्ने निर्णय गर्यो । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्कासनका लागि भदौ २६ गतेदेखि बुक क्लोज गर्ने सूचना निकाल्यो । त्रिवेणी विकास बैङ्क लिमिटेडले १९ प्रतिशत बोनस सेयर दिने निर्णय गर्यो । श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले प्रस्ताव गरेको १०.५ प्रतिशत बोनश शेयर र ०.५५ प्रतिशत नगद लाभांश राष्ट्र बैङ्कबाट स्वीकृत भयो । मेरो माइक्रोफाइनान्सले १० प्रतिशत बोनश शेयर र १० प्रतिशत नगद लाभांश दिने निर्णय गर्यो । हाम्रो विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई २५ प्रतिशत बोनश शेयर दिने प्रस्ताव अघि सार्यो । सानिमा बैंकले पनि १५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि शुन्य दशमलव ७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गर्यो । ५० प्रतिशत हकप्रद सेयर निष्काशनका लागि यति डेभलपमेन्ट बैंकले एनसीएम मर्चेन्ट बैंकिङ लिमिटेडलाई सेयर निष्काशन तथा विक्रि प्रबन्धकमा नियुक्त गर्यो । नबिल बैंकले आफ्ना शेयरधनीलाई गत ३० प्रतिशत बोनश शेयर र १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गर्यो । नबिल ईन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले एक अर्बको सामुहिक लगानी कोषको १० करोड ईकाई असोज २ गतेदेखि सर्वसाधारणलाई विक्रि गर्ने निर्णय गर्यो ।
अन्य
सिभिल बैंकले हामा मर्चेन्ट एण्ड फाइनान्स लिमिटेडलाई खरिद गर्ने सम्झौता गर्यो । एशियाली विकास बैंक (ए.डि.बि.) ले हिमालयन बैंक लिमिटेडलाई त्ँए ब्धबचम द्दण्ज्ञट( ीभबमष्लन एबचतलभच द्यबलप ष्ल ल्भउब िप्रदान गर्यो । निक्षेप तथा कर्जा सुरक्षण निगमले २० करोड रुपैयाँ निक्षेप लगानीका लागि प्रस्ताव माग गर्यो । नेपाल राष्ट्र बैंकले बजारबाट पुनः १० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्यो । बुम रेमिट्यान्स प्रा लिले एस डेभलपमेन्ट बैंक लिमिटेडलाई आफ्नो एजेन्ट नियूक्त गर्यो । सेञ्चुरी कमर्सियल बैंकले ५ रुपैयाँमा बचत खाता खोल्ने गरी नयाँ बचत खाता सञ्चालनमा ल्यायो । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले नयाँ फिल्ड कर्मचारीहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले इमता अभिवृद्धि तालिम सुरु गर्यो ।





