२०७३ भाद्र २३ गते

पुँजी बजारमा रियल सेक्टरको सहभागीता बढाउन नयाँ व्यवस्था ल्याइँदै

real-sectorरियल सेक्टर क्षेत्रका कम्पनीले जारी पुँजीको १० प्रतिशतभन्दा बढी साधारण सेयर (आईपीओ) जारी गर्न पाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले रियल सेक्टर भनिने उत्पादनमूलक उद्योग, जलविद्युत, सेवा क्षेत्रका कम्पनीलाई जारी पुँजीको १० प्रतिशतभन्दा बढी साधारण सेयर जारी गर्न सक्ने व्यवस्था गर्ने भएको हो ।
बोर्डले धितोपत्र बजारमा रियल सेक्टरका कम्पनीको सहभागिता बढाउन साविकको ३० प्रतिशतको अनिवार्य व्यवस्था संशोधन गर्ने तयारी गरेको जनाएको छ । बोर्डको धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०६५ मा संगठित संस्थाले जारी पुँजीको कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणका लागि छुट्ट्याउनु पर्ने व्यवस्था गरेको छ ।
 
नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा हाल बैंक तथा वित्तीय संस्थाको बाहुल्यता रहेको छ । नेप्सेमा सूचीकृत कुल सेयरमध्ये ७७ प्रतिशत सेयर बैंक वित्तीय संस्थाको छ  । अन्य तथा उत्पादनमूलक समूहको हिस्सा सबैभन्दा न्यून छ । सेयर लगानीकर्ताले लगानीका क्षेत्रमा विविधीकरण गर्न नपाएपछि बोर्डले रियल सेक्टरका कम्पनीलाई सेयर बजारमा प्रवेश गराउन सहुलियत दिन लागेको हो । 

सेयर बजारमा रियल सेक्टरका कम्पनीको सहभागिता बढाउन यसअघि नै बोर्डले आयकरमा १५ प्रतिशत छुटको व्यवस्था गरिसकिएको छ । त्यस्तै, बोर्डले पछिल्ला समयमा केही सीमासहितको फ्रि प्राइसिङमा सेयर निष्कासन गर्न सकिने व्यवस्था पनि गरिसकेको छ । रियल सेक्टरका कम्पनीले अंकित मूल्यमा सेयर निष्कासन गर्न नसकिने भनेपछि बोर्डले ‘फ्रि प्राइसिङ’को पनि व्यवस्था गरेको छ ।