
बैंकिङ खबर/ अमेरिकी अर्थतन्त्र चार दशक यताकै तीव्रदरमा वृद्धि भएको पाइएको छ । कोरोना भाइरसको महामारीबाट सिथिल भएको अर्थतन्त्रमा राम्रोसँग सुधारको मार्गमा आएर बिस्तार भएको देखिएको हो ।
वित्त मन्त्रालयका अनुसार अमेरिकी अर्थतन्त्रको वृद्धिदर गत वर्ष (सन् २०२१) मा ५.७ प्रतिशत रह्यो । सन् १९८४ यता अमेरिकी अर्थतन्त्रको यो वृद्धिदर उच्च हो ।
विश्लेषकहरुले आर्थिक वृद्धिदर यो वर्ष केही कमजोर हुने आँकलन गरेका छन् । ब्याजदर बढेको तथा सरकारले प्रोत्साहन खर्च बढाएकाले आर्थिक वृद्धिदरको गति सुस्त हुने सम्भावना रहेको विश्लेषण गरिएको हो ।
यस्तै उच्च बनेको मुद्रास्फिती र कोरोना भाइरसको नयाँ भेरियन्टको जोखिमले अर्थतन्त्रलाई प्रभावित पार्न सक्ने छ ।
विश्व बैंकले अमेरिकाको आर्थिक वृद्धिदर यो वर्ष ३.७ प्रतिशत हुने आँकलन गरेको छ ।
सन् २०२० मा कोरोना भाइरसको महामारीका कारण लागु भएको लकडाउनका कारण अमेरिकी अर्थतन्त्रमा गिरावट आएको थियो । तर सन् २०२१ मा भने अर्थतन्त्रमा राम्रो सुधार आएको हो । अमेरिकी श्रम बजारमा रहँदै आएको कामदारको अभावको समस्या पनि बिस्तारै समाधान हुने क्रममा देखिएको छ ।




