January 16th, 2022

अफगानिस्तानका बैंकहरूमा आर्थिक अभाव घट्दै

बैंकिङ खबर/ तालिवानले सत्ता हातमा लिएपछि अफगानिस्तानमा हरेक खालका प्रतिबन्धहरु लागेका छन् । जसले यहाँको सामाजिक, आर्थिक, शैक्षिक, प्रशासनिक लगायतका क्षेत्र प्रभावित बनेका छन्।

यस्तैमा प्रभावित बनेको क्षेत्र हो बैंक । यहाँका बैंकहरुमा शुरुमा निकै संकट आएको भए पनि अहिले दैनिकरुपमा अभाव घट्दै गएको बताइएको छ। यहाँका संचार माध्यमहरुले जनाए अनुसार अहिले अन्तर्राष्ट्रिय समुदायले अफगानिस्तानलाई नगद उपलब्ध गराएका छन्, जसले गर्दा संकट केही कम भएको छ।

वित्तीय स्रोतको सुरक्षा भइरहेको र आर्थिक सङ्कट पनि रोकिइरहेको तालिबानका कार्यवाहक विदेशमन्त्री आमिर खान मोताकीले जनाएका छन्। उनले तालिबानले अफगानिस्तानको आर्थिक पतनलाई रोकेको बताए । “अफगानिस्तानका बैंकहरूमाथि दिनदिनै दबाब घट्दो छ।” मोताकीले भनेका छन्।

तालिवानको अन्तरिम सरकारले अहिलेसम्म कर्मचारीको तलबको बिल तीन महिनाका लागि भुक्तानी गरेको र चौथो महिनाको तलब दिने तयारी भइरहेको पनि उनले बताए।

यद्यपि, ठोस सहयोगको अभावमा अफगानिस्तानमा मानवीय स्थिति दिनप्रतिदिन खराब हुँदै गइरहेको भन्दै संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमले अफगानिस्तानको स्थितिलाई सम्बोधन गर्न हालसम्म १.५ बिलियन अमेरिकी डलर संकलन गरेको जनाइसकेको छ।

अफगानिस्तानमा अधिकांश भूभागमा हिउँ परेको र हिउँदे बर्षाका कारण उपलब्ध खाद्यान्नलाई आवश्यक भएको स्थानमा पुर्याउन कठिनायी भइरहेको संयुक्त राष्ट्रसंघका मानवीय सहायतासम्बन्धी समन्वय कार्यालयका महासचिव स्टेफन डुजारिकले बताएका छन्। उनले हालसम्म १.५ अर्ब अमेरिकी डलर संकलन गरिसकेको जानकारी गराएका छन्।

तालिबानको सत्ता कब्जापछि अफगानिस्तानमा पहिलो पटक एटीएम सेवा संचालनमा

तालिबानले सत्ता कब्जामा लिएपछि पहिलो पटक अफगानिस्तानमा शनिबारदेखि एटीएम सेवाहरू सञ्चालन भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन्।

दा अफगानिस्तान बैंक (डीएबी), अफगानिस्तानको केन्द्रीय बैंकले बिहीबार विज्ञप्तिमार्फत् देशका वाणिज्य बैंकहरूद्वारा एटीएम सेवाहरू पुनः सञ्चालन गरिने जनाएको, खामा प्रेसले उल्लेख गरेको छ। सहकारीसँगको वार्तापछि यो निर्णय भएको हो।

अगस्टमा तालिबानले सत्ता कब्जामा लिएपछि एटीएम सेवाहरू बन्द भएका थिए। “दा अफगानिस्तान बैंक बैंकिङ प्रणाली र सेवाहरू सामान्यमा फर्काउन प्रयासरत छ, विज्ञप्तिमा भनिएको छ, “एटीएमहरू पुनः सक्रिय गर्नाले मानिसहरूलाई थप सुविधा दिनेछ।”

जनताको सुविधाका लागि वाणिज्य बैंकका एटीएम विशेष क्षेत्रमा उपलब्ध हुनेछन्। यद्यपि बैंकले निश्चित रकम झिक्न प्रतिबन्ध कायमै रहेकाले झिक्ने रकमको सीमा भने उल्लेख गरिएको छैन, खामा प्रेसले जनाएको छ। नयाँ नीति अनुसार एक व्यक्तिले हप्तामा २०० अमेरिकी डलर वा २०,००० अफगानी रकम झिक्न सक्नेछन्।

राष्ट्रसंघ प्रमुखद्वारा अफगानिस्तान केन्द्रीय बैंकलाई सहयोग गर्न आग्रह

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अफगानिस्तानको केन्द्रीय बैंकलाई तुरुन्तै सहायता प्रदान गर्न र देशको अर्थतन्त्रमा तरलता रोक्न थप सहयोगका लागि अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन्।

“अफगानिस्तानको केन्द्रीय बैंकको कार्यलाई संरक्षित र सहयोग गरिनु पर्छ र अफगान विदेशी मुद्रा भण्डारको सशर्त फुकुवाका लागि मार्ग पहिचान गरिएको छ,“ स्पुतनिकले गुटेरेसको बयानलाई उदृत गर्दै लेखेको छ। “हामीले अर्थतन्त्रमा द्रुत रूपमा तरलता इन्जेक्सन गर्न र लाखौंको लागि गरिबी, भोक र विपन्नता निम्त्याउने मन्दीबाट बच्न अझ बढी केन्द्रीत गर्नु पर्दछ,“ गुटरेसले भनेका छन्।

अगस्टको मध्यमा तालिबानले कब्जा गरेपछि अमेरिकाले अफगानिस्तानको करिब १० अर्ब डलरको सम्पत्ति रोक्का गर्दै इस्लामिक इमिरेट्समाथि प्रतिबन्ध लगाएको थियो।

यस बीचमा अफगानिस्तानलाई विदेशी सहायताको रोकले अफगानिस्तानको पहिल्यै कमजोर आर्थिक प्रणालीलाई थप कमजोर बनाएको छ । जसले लाखौं मानिसहरूको जीवनमा प्रतिकूल असर पारेको छ।

नाकाबन्दी एवं प्रतिबन्धहरु फुकुवा गर्न आग्रह

यसैबीच चीनले अमेरिकाद्वारा अफगानिस्तानमाथि लगाइएका नाकाबन्दी एवं विभिन्न प्रकारका प्रतिबन्धहरु फुकुवा गर्न आग्रह गरेको छ । चीनको विदेश मन्त्रालयले आग्रह गरेको हो । अमेरिकाले पछिल्लो समयमा अफगानिस्तानमा तालिबान सत्ता आएपछि विभिन्न नाकाबन्दी लगाएको छ।

हाल अफगानिस्तान निकै अप्ठ्यारो अवस्थामा रहेको, यहाँ हिमपात तथा चिसोका कारण अफगान नागरिकहरु निकै अप्ठ्यारोमा परेको र मानवीय सहायताको पनि खाँचोे परिरहेकाले अमेरिकालाई सो नाकाबन्दी फिर्ता गर्न आग्रह गरेको हो । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले सो आग्रह गरेका हुन् । मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा केही दिनअघि उनले सो आग्रह गरेका हुन् ।

अफगान नागरिक यतिबेला निकै कठिन अवस्थामा रहेका र यहाँको आर्थिक अवस्था पनि नाजुक रहेकाले अफगानिस्तानमाथि अमेरिकी सरकारले लगाएका आर्थिकलगायतका विभिन्न नाकाबन्दीहरु फुकुवा गर्नुपर्ने उनको भनाइ थियो । चीनले अफगानिस्तानलाई मानवीय सहायताका सामग्रीहरु उपलब्ध गराउँदै आएको छ ।

अफगानिस्तानमा मानवीय दुर्घटनाबाट जोगाउन पाँच अर्ब डलर आवश्यकः राष्ट्रसंघ

अफगानिस्तानलाई मानवीय दुर्घटनाबाट जोगाउन पाँच अर्ब डलर आवश्यक भएको राष्ट्रसंघले जनाएको छ। पाँच अर्ब डलरमध्ये चार अर्ब अफगानिस्तानभित्रका अफगानी र बाँकी रकम देशको सीमा बाहिर बसोबास गर्नेका लागि उपलब्ध गराइनेछ।

राष्ट्रसंघका अनुसार अफगानिस्तानभित्रका २ करोड २० लाख मानिसहरु र देश बाहिर विभिन्न देशमा रहेका ५७ लाख विस्थापित अफगानीलाई राहत अपरिहार्य छ। ‘अफगानिस्तानमा चौतर्फी मानवीय संकट छ। मेरो यो सन्देश छ कि अफगानी मानिसहरुका लागि ढोका बन्द नगर्नूहोस,’ राष्ट्रसंघका सहायता प्रमुख मार्टिन गिरिफ्थले भने। बढ्दो भोक, रोग, कुपोषण र असामयिक मृत्यु रोक्न सहयोग गर्न पनि उनले आह्वान गरे।

१५ अगष्टमा तालिवानले सत्ता कब्जा गरेपछि अफगानिस्तानमा आर्थिक संकट बढ्दो छ। मूल्यबृद्धि बढिरहेको छ भने बरोजगारदर उच्च छ। सन् २०२१ मा अफगानिस्तानमा अहिलेसम्मकै खराब खडेरी परेको थियो। यद्यपी तालिवानहरुले यसलाई बचाउ गर्दै आर्थिक अवस्था खराब नभएको बताउँदै आएका छन्। एजेन्सी


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]