चीन र अमेरिकाले प्रतिस्पर्धात्मक रूपमा मुद्रा अवमूल्यन नगर्ने प्रतिबद्धता जनाएका छन् । चीनले क्रमिक रूपमा आफ्नो मुद्रा युआनको बजारमुखी विनिमय दर कायम गर्ने भएको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामा र उनका चिनियाँ समकक्षी सी जिनपिङले यस विषयमा संयुक्त रूपमा ‘फ्याक्ट सिट’ पनि जारी गरेका छन् । सूचना तथा सञ्चार प्रविधिका उत्पादन तथा सेवाको व्यापारिक बिक्रीमा विदेशी आपूर्तिकर्तालाई अनावश्यक रूपमा नरोकिने जनाइएको छ । दुवै मुलुकले प्रतिस्पर्धात्मक अवमूल्यनको अवस्था आउन नदिने र प्रतिस्पर्धात्मक उद्देश्यका लागि विनिमय दरलाई निसाना नबनाउने बताएको फ्याक्ट सिटमा उल्लेख छ ।
वित्त नीतिको प्रयोगमा जोड
फ्याक्ट सिटले दुवै पक्षले आईसीटीको व्यापारिक बिक्री अवसरका लागि रोक्न नहुने प्रतिबद्धता जनाएको उल्लेख गरेको छ । दुवै पक्षले सबै नीतिगत विधि मौद्रिक, वित्त र संरचनाको प्रयोग गर्ने प्रतिबद्धता जनाएका छन् । यसले विश्वास बढाउने र वृद्धिलाई बलियो बनाउने दाबी उनीहरूको छ । वृद्धि बलियो बनाउन, रोजगारी सिर्जना गर्न र घरधुरीको माग बढाउनका लागि वित्त नीतिको प्रयोग गरिनुपर्ने भनाइ दुवै पक्षको रहँदै आएको छ ।
साइबर नियम पारित हुने
विदेशी व्यावसायिक समूहले चीनको रोकिएको साइबर नियम यो वर्ष पारित हुने बताएका छन् । नियमनले विदेशी कम्पनीलाई बजार प्रवेशमा अवरोध सिर्जना गर्ने र प्रविधिलाई आउन नदिएर देशको सुरक्षालाई कमजोर बनाउने उनीहरूले बताएका छन् । वित्त, सूचना प्रविधि, बीमा र उत्पादनमूलक क्षेत्रलाई विस्तार गरिरहेका विश्वव्यापी व्यावसायीक समूहले चीनलाई भ्रष्टाचारको नियम समीक्षा गर्न आग्रह गरेका छन् । अमेरिकाले यो मुद्दालाई अगाडि बढाउन बेइजिङलाई दबाबसमेत दिएको छ ।
स्पष्ट नीति
चीनले बजारमुखी विनिमय दर निर्धारणलाई क्रमिक रूपमा प्राथमिकता दिने र दुई किसिमले लचिलो हुने बताइएको छ । मुद्रा अवमूल्यनको कुनै आधार नभएको विषयमा चीनले जोड दिएको छ । दुवै पक्षले स्पष्ट नीति सञ्चारको महत्वलाई जोड दिएका छन् ।
चीनले सन् २०१५ को अगस्टमा युआनलाई अवमूल्यन हुन दिएर विश्व बजारलाई चोट पुर्याएको थियो । यो वर्ष पनि झिनो अन्तरले भए पनि अवमूल्यन हुन अनुमति दिएको थियो । चिनियाँ मुद्रा अझै अमेरिकी डलरसँगको विनिमयमा ६ वर्षकै न्यून नजिक रहँदै आएको छ ।



