संख्यात्मक हिसाबले हेर्दा नेपालमा बैंक तथा वित्तीय संस्थाहरु पर्याप्त भएपनि बैंकहरु सबै सुगममुखी बन्दा दुर्गम भेगका सर्वसाधारणहरु अझै पनि बैंकिङ पहुँचबाट बाहिरै छन् । बैंकहरु सहरमै सीमित हुने र ग्रामीण भेगमा पुगेपनि सुगमतिर मात्रै शाखाहरु विस्तार गर्ने गरेको तथ्यांकले देखाएको छ । तथ्यांकअनुसार, बैंक तथा वित्तीय संस्थाको शाखा सबैभन्दा बढी काठमाडौंमा र सबैभन्दा कम मुगु तथा बाजुरा जिल्लामा रहेको छ ।
बैंकका शाखा : कुन जिल्लामा कति ?
नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष ०७२/७३ सम्ममा शाखाको आधारले ५५५ शाखासहित काठमाडौं अगाडि छ भने बाजुरा र मुगुमा जम्मा दुई शाखा मात्र छन् । राष्ट्र बैंकका अनुसार काठमाडौंमा वाणिज्य बैंकका ४०४ तथा विकास बैंकका ९२ र फाइनान्स कम्पनीका ५९ शाखा छन् । राष्ट्र बैंकका अनुसार काठमाडौंपछि बढी बैंक तथा वित्तीय संस्थाको शाखा हुने जिल्लामा रूपन्देही १७२, कास्की १५६, चितवन १४६, ललितपुर ११६ र मोरङ १०६ रहेको छ । यी जिल्लाले देशभर भएको कुल हिस्सामा ४३ प्रतिशत हिस्सा ओगट्ने गर्छन् ।
कम शाखा भएका जिल्लामा भने सरकारी लगानीका बैंकका मात्रै शाखा छन् । डोल्पा, हुम्ला र कालिकोट ३, बझाङ र जाजरकोटमा ४, बैतडी, दार्चुला र जुम्लामा ६ शाखा छन् । सुदूरपश्चिमका पहाडी तथा हिमाली जिल्लामा बैंक तथा वित्तीय संस्थाको संख्या कम छ । ती जिल्ला मानव विकास सूचांकलगायत अन्य आर्थिक दृष्टिकोणले पछाडि मानिन्छन् । शाखा संख्या कम भएका जिल्लामा विकास बैंक तथा फाइनान्स कम्पनीको समेत उपस्थिति छैन ।
दुर्गममा बैंक पुर्याउन राष्ट्र बैंकको प्रयास
केन्द्रीय बैंकको नीतिका कारण पछिल्लो समय भने काठमाडौं उपत्यका बाहिर शाखा खोल्ने क्रम केही बढेको छ । वित्तीय पहुँच विस्तारका लागि केन्द्रीय बैंकले राष्ट्र बैंकले शाखा नभएका स्थानमा प्रोत्साहन गरेको छ । भने काठमाडौंसहित सहरी क्षेत्रमा केन्द्रीय बैंकले शाखा खोल्न कडाइ गरेको छ । लघुवित्तलाई पनि शाखा सञ्जाल नभएका स्थानमा जानका लागि राष्ट्र बैंकले प्रोत्साहन गरेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिमा राष्ट्र बैंकले अतिविकट ९ वटा जिल्लाबाहेक अन्य जिल्लाका लागि नयाँ लघुवित्त खोल्न लाइसेन्समा रोक लगाएकोमा केही साताअघि मात्रै गभर्नर डा. चिरंजीबि नेपालले दुर्गम भेगका जनतालाई वित्तीय पहुँचमा ल्याई उनीहरुको स्तरोन्नतिका लागि राष्ट्र बैंकले नयाँ लघुवित्तलाई लाइसेन्स दिने बताएका छन् । आफुले भनेको ठाउँमा गएर काम गर्न तयार भएको अवस्थामा नयाँ लघुवित्त खोल्न लाइसेन्स दिने तयारी केन्द्रीय बैंकले गरेको हो ।
असार मसान्तसम्ममा देशभर गरेर बैंक तथा वित्तीय संस्थाको शाखा संख्या २ हजार ८९६ छ । जसमा वाणिज्य बैंकको शाखा संख्या १ हजार ८६९, विकास बैंकको ८५२ र फाइनान्स कम्पनीको १५२ रहेको छ । औसतमा देशभर गर्दा बैंक तथा वित्तीय संस्थाको एउटा शाखाबाट ९ हजार ६ सय ८४ जनाले वित्तीय सेवा लिने गरेका छन् ।