२०७३ भाद्र २१ गते

गत वर्षको बजेटबाट बच्यो सवा एक खर्ब रकम

nepal-moneyगत आर्थिक वर्ष २०७२/७३ मा ५६ प्रतिशत बजेट मात्रै खर्च भएको छ । सरकारले पर्याप्त खर्च गर्न नसक्दा गत वर्षको बजेटबाट १ खर्ब २७ अर्ब रुपैयाँ बचेको छ । सो रकम अब चालू आर्थिक वर्षका लागि सारिएको छ । गत जेठ १५ मा चालु आर्थिक वर्षको बजेट सार्वजनिक हँुदा ५९ अर्ब रुपैयाँ बच्ने अनुमान गरिएकोमा अपेक्षाभन्दा ६८ अर्ब रुपैयाँ बढी बचत भएको हो ।  

गत वर्ष राजस्व भने लक्ष्यभन्दा बढी उठेको छ । गत वर्षको राजस्वको लक्ष्यभन्दा ७ अर्ब बढी रकम संकलन भएको हो । सुरुमा ४ खर्ब ७५ अर्ब राजस्व उठ्ने अनुमान थियो । नाकाबन्दीका कारण उक्त लक्ष्य संशोधन गरेर ४ खर्ब ६० अर्बमात्रै उठ्ने भनिएकामा ४ खर्ब ८२ अर्ब रुपैयाँ राजस्व संकलन भएको हो । यसबाहेक तत्कालीन सरकारले ८८ अर्ब रुपैयाँ नै आन्तरिक ऋण उठाएको थियो । 

यसरी रकम बढी भएपछि सरकार पूरक बजेट ल्याउने तरखरमा जुटेको छ । चालु आर्थिक वर्षमा १० खर्ब ४८ अर्ब रुपैयाँ खर्च गर्ने सरकारी योजना छ । जुन गत वर्षभन्दा २ खर्ब २९ अर्ब रुपैयाँले बढी हो । भदौ दोस्रो सातासम्ममा मात्रै १ खर्ब ९१ अर्ब रुपैयाँ खातामा यत्तिकै थन्किएको छ । जसमा १ खर्ब २७ अर्ब गत वर्ष बचेको रकम हो भने बाँकी चालु वर्षमा उठेको रकम हो ।