सिरहामा सीपमूलक तालिम लिएर घरेलु तथा साना उद्योग सञ्चालन गर्नेको सङ्ख्या बढ्दै गएको छ । विदेशमा गएर मेहनत गर्नुभन्दा स्वदेशमै सीप सिकेर राम्रो आम्दानी गर्न सकिन्छ भन्ने बुझेका एक हजार ८०० महिला तथा पुरुषले आव २०७२/७३ मा विभिन्न सीपमूलक तालिम लिएपछि घरेलु तथा साना उद्योग सञ्चालन गर्न थालेका हुन् ।
बैंक तथा वित्तीय संस्थाले घरेलु तथा साना उद्योगमा सजिलै ऋण लगानी गर्न थालेकाले पनि सिरहामा उद्योग दर्ता गराउने क्रम बढेको हो । सिरहामा गत आवमा ८५ वटा कृषिजन्य उद्योग दर्ता भएको सो कार्यालयले जनाएको छ । आव २०७२/७३ मधेस मधेस बन्दको बाबजुद पनि सिरहा जिल्लामा ३६१ वटा नयाँ उद्योग दर्ता भएको प्रमुख कर्णले बताए ।
सो कार्यालयले जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको उद्यमी सिर्जना तथा रोजगारी कार्यक्रमअन्तर्गत मोबाइल मर्मत, हाउसवाइरिङ, ब्युटिपार्लर मोटरसाइकल मर्मतलगायतका तालिम १०५, सीप विकास तथा रोजगारी कार्यक्रमअन्तर्गत ५४, उद्यमशीलता रोजगारमूलक कार्यक्रमअन्तर्गत ३७ जनालाई तालिम दिएको हो । यसैगरी उद्योग प्रवद्र्धन कार्यक्रमतर्फ ६०, साझेदारी तालिममा ११०, उद्योग तथा वाणिज्य प्रशासन कार्यक्रमतर्फ एक हजार ६३, तथा औद्योगिक विकास कार्यक्रमतर्फ ७१जनालाई सिलाइ कटाइ, प्लेमिङलगायतका तालिम दिएको कार्यालय प्रमुख राजेन्द्रकुमार लाल कर्णले बताए । तालिम लिएकामध्ये २६२ महिला र एक हजार सात पुरुष विभिन्न उद्योग व्यवसायमा सहभागी भएको उनको भनाइ छ ।
कार्यालयका अनुसार आव २०७२÷७३ मा उत्पादनमूलक उद्योग १११, सेवामूलक उद्योग १६५ र कृषि तथा वनजन्य उद्योग ८५ गरी ३६१ वटा नयाँ उद्योग दर्ता भएको छ । यसैगरी १३२ उद्योग नवीकरण, २५ उद्योगको नामसारी र १७ वटा उद्योगको लगत कट्टा गरिएको छभने नयाँ उद्योग दर्ता, नवीकरणलगायतका विभिन्न शीर्षकमा रु ९४ लाख ७२ हजार ३०९ राजस्व सङ्कलन भएको छ । रासस