२०७३ भाद्र २१ गते

अवैधानिक सुन आयात घट्दै, बिक्न थाल्यो वैधानिक सुन

gold 1केही सातादेखि अवैधानिक रुपमा सुन आयात गर्ने क्रममा कमी आएको छ । बजारमा अवैधानिक सुन भित्रिन छाडेपछि बैंकहरुमा मौज्दात रहेको सुन धमाधम बिक्न थालेको छ । विगत तीन महिनादेखि विधि नभएर बैंकहरुमा थन्किएको सुन पछिल्लो एक महिनामा नै सबै विक्रि भएको हो । गत महिना मात्र बैंकहरूमा बिक्री नभएको करिब ३ सय ५० किलो सुन मौज्दात थियो । 

तीजको सिजन तथा गैरकानुनी माध्यमबाट आउने सुन नभित्रिएपछि बैंकमा मौज्दात सुन बिक्री भएको हो । विशेषतः तीज, दशैँ, तिहार तथा विवाहको लगन भएको महिनालाई सुन विक्रि हुने सिजन मानिन्छ । सिजनमा सुनको माग अत्याधिक हुने भएकाले पनि तीजको महिनामा बैंकहरुको सुन सबै विक्रि भएको हो । 

सबै सुन विक्रि भएपछि अब बैंकहरु पुनः आयात गर्ने तयारीमा छन् । लामो समयदेखि सुन नबिकेको भन्दै बैंकहरुले सुन आयात गर्न छोडेका छन् । यसरी बैंकमा रहेको सुन नबिकेपछि बजारमा अवैधानिक सुन भित्रिरहेको अनुमान गरिएको थियो । 

राष्ट्र बैंकले वैधानिक माध्यमले सुन आयातका लागि वाणिज्य बैंकलाई मात्र अनुमति दिएको छ । बैंकहरूले पालोपालो गरेर सुन आयात गर्ने गर्छन् । राष्ट्र बैंकले सिजनमा दैनिक २० किलो तथा अफसिजनमा १५ किलो सुन आयातका लागि बैंकहरूलाई अनुमति दिन्छ । अवैधानिक तरिकाले बजारमा आउने सुनका कारण बजारमा बेला–बेलामा बैंकहरूले वैधानिक तरिकाले भित्र्याउने सुन नबिक्ने समस्या हुन्छ । जसका कारण केही बैंकले सुन आयातको काम नै छाडिसकेका छन् । गत आर्थिक वर्षमा नेपालमा १६ अर्ब रुपैयाँको सुन भित्रिएको थियो ।