
बैंकिङ खबर/ चालु आर्थिक वर्षको अन्तिम दुई महिनायता वित्तीय प्रणालीमा तरलता(लगानीयोग्य रकम) अभाव झन् चुलिन थालेको छ । तरलता अभावका कारण यसको असर बैंकदेखि सहकारी हुँदा अहिले बीमा क्षेत्रमा समेत पर्न थालेको छ । बीमा समितिका अनुसार बीमा क्षेत्रको व्यवसाय ३३.३७ प्रतिशतसम्मले घटेको छ ।
साउनदेखि नै निरन्तर घटिरहेको व्यवसाय मंसिर महिनामा भने केहि सुधार भएको समितिले तथ्यांकले देखाउँछ । चालु आर्थिक वर्षको साउन महिनामा मात्रै जीवन बीमा कम्पनीहरुले १६ अर्ब १६ करोड रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरुले २ अर्ब ९९ करोड रुपैयाँ गरी १९ अर्ब ६० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए ।
कात्तिकमा जीवन बीमा व्यवसायबाट १० अर्ब १९ करोड रुपैयाँ र निर्जीवन बीमा व्यवसायबाट २ अर्ब ८७ करोड रुपैयाँ गरी १३ अर्ब ६ करोड रुपैयाँ मात्रै बीमाशुल्क आर्जन गरेको छ । यो पछिल्लो पाँच महिनाकै न्यून अर्थात् मंसिर महिनाको तुलनामा ३३.३७ प्रतिशतले कम हो । कात्तिकको तुलनामा मंसिर महिनामा भने बीमाशुल्क सामान्य बढेको छ । यस अवधिमा जीवन बीमा व्यवसायबाट ११ अर्ब १६ करोड रुपैयाँ र निजीवन बीमा व्यवसायबाट २ अर्ब ८४ करोड रुपैयाँ गरी कुल १४ अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । कार्तिक महिनाको तुलनामा ७.१९ प्रतिशतले बढी भएपनि साउन महिनाको तुलनामा भने अझै २८.५७ प्रतिशतले कम हो ।
बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार पछिल्लो समय बीमा कम्पनीहरुको व्यवसाय घट्दो क्रममा रहेको छ ।
उनले बीमा कम्पनीहरुको व्यवसाय पछिल्लो समय केही खस्किएको बताए ।
अर्थतन्त्रमा आइरहेको समस्याले गर्दा त्यसको असर बीमा क्षेत्रमा पनि देखिएको हुन सक्ने उनको बुझाइ छ । बैंक तथा वित्तीय संस्थामा देखिएको तरलता अभावका कारण यस्तो भएको हुन सक्ने उनले बताए । सरकारले तत्काल तरलता समस्या समधानको लागि स्थानिय निकायमा जाने बजेटको ८० प्रतिशतसम्म निक्षेपको रुपमा सञ्चालन गर्न पाउने र विलासिताको सामान आयतमा कडाई गर्ने निर्णय गरेको छ । जसले तरलतामा सहज हुने सरकारको अपेक्षा छ ।
सहकारीमा पनि तरलताको असर
लगानीयोग्य रकम (तरलता) अभावको असर सहकारीमा पनि देखिन थालेको छ । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेल सहकारीहरुले पनि तरलताको समस्या सामना गर्नु परेको बताउँछन् ।
कर्जाको माग अत्यधिक हुँदा सहकारी संस्थाहरुमा पनि तरलताको चाप परेको अध्यक्ष कँडेलको भनाइ छ । उनी थप्छन्, ‘सहकारीहरुमा बैंकहरुजस्तो ऋण लगानी गर्नै नसक्ने अवस्था भने आएको छैन ।
बैंकर्स संघका अनुसार मंसिर पहिलो सातामात्रै बैंकहरुले १४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्। निक्षेप भने बढ्नुको सट्टा ७ अर्ब रुपैयाँ घटेको छ । गत कात्तिक १३ गतेसम्म बैंकहरुको कुल ऋण लगानी ४० खर्ब ४१ अर्ब रुपैयाँ रहेकोमा १० मंसिरसम्म ४० खर्ब ५५ अर्ब पुगेको छ । निक्षेप भने ४२ खर्ब २६ अर्ब रुपैयाँबाट घटेर ४२ खर्ब १९ अर्ब रुपैयाँमा झरेको छ ।
बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) का अध्यक्ष परितोष पौड्याल सहकारीमा पनि तरलताको समस्या रहेको बताउँछन् । पौड्याल भन्छन्, ‘बैंकहरु निक्षेपका लागि सहकारी संस्थामा धाइरहेको छन् । सहकारीहरुमा पनि तरलताको समस्या छ, पैसा दिन सक्ने अवस्था छैन ।’ अहिले देखिएको समस्या कुनै एक क्षेत्रको लागि मात्रै नभएर समग्र अर्थतन्त्रकै समस्या भएको उनको भनाइ छ ।
के हो तरलता ?
निक्षेपकर्ताले मागेका बेला नगद दिन सक्ने बैंकको क्षमता नै तरलता हो । बैंक तथा वित्तीय क्षेत्रमा तरलतालाई तुरुन्त लगानीयोग्य पुँजीका रूपमा बुझ्ने गरिन्छ । बैंकमा व्यक्ति तथा विभिन्न संघसंस्था, कम्पनी, संस्थान आदिबाट संकलन हुन आएको रकम चल्ती, मुद्दती तथा निक्षेप खातामा जम्मा भएको हुन्छ र उनीहरूले मागेको समयमा ब्याजसहित रकम भुक्तानी गर्नुपर्ने दायित्व स्वयं बैंकको हुन्छ ।
यसरी सर्वसाधारणले बैंकमा राखेको निक्षेप, बैंकहरूले केन्द्रीय बैंकमा राखेको रकम, बजारमा खरिद–बिक्री भइरहने वित्तीय उपकरण र सुनचाँदीजस्ता बहुमूल्य धातुमा अत्यधिक तरलताको गुण रहेको हुन्छ । साथै, कुनै पनि वित्तीय सम्पत्ति सजिलै खर्चयोग्य रकममा रूपान्तरण गर्न सकिने अवस्थालाई बजारको तरलता भनिन्छ ।
कुनै पनि देशको अर्थतन्त्रमा तरलता, ब्याजदर र मुद्रास्फीतीको अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ। तरलता बढ्यो भने ब्याजदर घट्छ र मुद्रास्फीती बढ्छ । साथै, तरलतामा संकुचन आयो भने ब्याजदर बढ्छ र मुद्रास्फीतीमा दबाब कम हुन्छ । मुनाफा आर्जनमा तरलताको योगदान वा भूमिका रहन्छ । तरलता अभाव अर्थात् तरलताको समस्यामा रहेका संस्थाहरूले आफ्ना तत्काल तिनुपर्ने तिरोहरू फछ्र्योट गर्न सक्दैनन् । यस्तो अवस्था दोहोरिरहे कच्चापदार्थहरूको आपूर्तिमा समस्या त आउँछन् नै, विभिन्न निकायहरूको कालोसूचीमा समेत पर्ने खतरा रहन्छ । त्यसैले, कमजोर तरलताले धेरै किसिममा समस्या निम्त्याउन सक्छन् । तरलता न्युन हुनु मात्रै नभएर अधिक हुनु पनि समस्या नै हो ।
तरलता समस्या सम्बोधन गर्न राष्ट्र बैंक क्रियाशील
नेपाल राष्ट्र बैंकले तरलता समस्या सम्बोधन गर्न तथा शोधनान्तर घाटा घटाउन क्रियाशील भएर लागेको बताउँदै आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनलाई नै केन्द्रमा राखेर काम गरिरहेको स्पष्ट गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको पुस ५ गतेसम्म स्थायी तरलता सुविधामार्फत २ हजार ५०० अर्ब, ओभरनाइट रिपोबाट ६९ अर्ब, रिपोमार्फत २२० अर्ब र सोझै खरिद गरेर २७ अर्ब प्रवाह भएको जानकारी दिए ।
‘विसं २०७९ असारसम्म कर्जा निक्षेप अनुपात ९० प्रतिशत राख्नुपर्ने व्यवस्था गरिएको छ भने चालु आवमा आजसम्म पुनर्कर्जा सुविधा ९२ अर्ब स्वीकृत भइसकेको छ’, सरकारले स्थानीय तहको निक्षेपको ८० प्रतिशत बैंकहरूले निक्षेपका रूपमा गणना गर्न पाउने व्यवस्था गरेको तथा ब्याजदर केही बढेकाले निक्षेप संकलनमा वृद्धि भई अनावश्यक कर्जाको मागमा कमी आउने उनले बताए ।
शोधनान्तर घाटा घटाउन चाँदी आयातका निम्ति विदेशीमुद्रा उपलब्धताको सीमा तोकिएको, वैदेशिक रोजगारीमा रहेकाहरूलाई बैंकको खातामा एक प्रतिशत थप ब्याज दिइएको, केही वस्तुको आयातमा शतप्रतिशत नगद ‘मार्जिन’को व्यवस्था गरिएको गभर्नर अधिकारी बताउँछन् ।




