२०७३ भाद्र १९ गते

राष्ट्रिय वाणिज्य बैंकलाई  ‘नम्बर एक’ बनाउने सिईओ श्रेष्ठको उद्घोष 

राष्ट्रिय वाणिज्य बैकले अघिल्लो आर्थिक वर्षमा उत्कृष्ट कार्यसम्पादन गर्ने देशभरका १७ शाखा कार्यालय र २६ कर्मचारीलाई एक समारोहका बीच पुरष्कारसहित सम्मान गरेको छ । एक विशेष समारोहमा राष्ट्रिय वाणिज्य बैंक संचालक समितिका अध्यक्ष डा. रवीन्द्र प्रसाद पाण्डेले पुरष्कार तथा सम्मानपत्र वितरण गरे । 

rbb bank


सो अवसरमा प्रमुख अतिथि डा.पाण्डेले वस्तुगत आधारमा पारदर्शी ढंगले गरिने पुरष्कार तथा सम्मानको अभ्यासबाट शाखा तथा कर्मचारी माझ कार्य उत्प्रेरणा बढाउने बताए । उनले अर्थतन्त्र संधै असहज रहने परिप्रेक्ष्यमा निक्षेप र कर्जा वृद्धिबीच तालमेल मिलाउन बैक व्यवस्थापन तथा कर्मचारीले नयाँ लगानीका क्षेत्र पहिल्याउन खोजमूलक भई जोखीम वहन गर्ने क्षमता बढाउनु पर्नेमा जोड दिए । 

‘बैकले पनि युवा लक्षित कार्यक्रम ल्याउनु पर्ने अहिलेको आवश्यकता हो उनले भने ।’ सो समारोहमा सभापतिको आसनबाट बैकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले बजारमा विद्यमान तीब्र प्रतिष्पर्धाकाबीच राष्ट्रिय वाणिज्य बैकलाई सबै आधारमा पहिलो बैक बनाउने उद्घोष गरे । रावालाई नम्बर एक बैंक बनाउन सेवाको गुणस्तर वृद्धि ,कर्जा प्रवाहमा क्रियाशीलता, सुमुधुर औद्योगिक सम्वन्ध कायम लगायतका कदमबाट बैकलाई नयाँ ढंगले अघि बढाउन बैक व्यवस्थापन प्रयत्नशील रहेको वताए । बैकको समग्र उत्थानका निम्ति चालिने कुनै पनि कदममा सबै सरोकारवालाबाट हार्दिक सहयोगको अपेक्षा गरेको उनको भनाई थियो । rbb

कार्यक्रममा बैकका कामु.नायव प्रमुख कार्यकारी अधिकृत विष्णु प्रसाद वैद्यले आफनो स्वागत मन्तव्यमा बैकका अल्पकालीन तथा दीर्घकालीन लक्षहरुबारे प्रकाश पार्दै प्रतिष्पर्धात्मक बैंकिङ बजारमा अग्रता हासिल गर्न ग्राहकलाई छिटो छरितो र विश्वसनीय सेवा प्रवाहमा कर्मचारीबाट थप सक्रियताको अपेक्षा प्रकट गर्नुभयो । 
कार्यक्रममा सर्वोत्कृष्ठ शाखा कार्यालय लालबन्दीका प्रवन्धक फौद बहादुर सुनुवार, उत्कृष्ठ कर्मचारीका तर्फबाट बैकको शाखा कार्यालय लमहीका प्रवन्धक श्यामसुन्दर गौतम, बैकमा क्रियाशील यूनियनहरुमध्ये राष्ट्रिय कर्मचारी संगठन नेपालका अध्यक्ष राजेन्द्र कुमार कार्की, नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष दीपेन्द्र कार्की ,नेपाल वित्तीय संस्था कर्मचारी संघ रावा बंैकका महासचिव माधव दत्त पन्त, राष्ट्रिय वाणिज्य बैक कर्मचारी संघका महासचिव हेम राज सुवेदीले मन्तव्य दिनुभएको थियो । बैंकको ब्रान्च अपरेसन विभागका प्रमुख उद्धब प्रसाद खनालको संयोजनमा सम्पन्न सो समारोहमा बैकका उपप्रवन्धक  धर्मराज अर्यालले वधाई कविता वाचन गर्नुभएको थियो ।

अघिल्लो आर्थिक वर्ष ०७१÷०७२ को कार्यसम्पादनमा बैकका देशभरका शाखाहरुमध्ये शाखा कार्यालय लालवन्दीले सर्वोत्कृष्ठ स्थान हासिल गरेको थियो भने क वर्गका शाखामध्ये शाखा कार्यालय वानेश्वर, ख वर्गका शाखामध्ये शाखा कार्यालय भैरहवा, ग वर्गका शाखामध्ये शाखा कार्यालय सिन्धुली, घ वर्गका शाखामध्ये शाखा कार्यालय लालवन्दी , ङ वर्गका शाखामध्ये शाखा कार्यालय सुनवलले प्रथम स्थानसहित कूल १७ शाखाले द्धितीय तथा तृतीय पुरष्कार प्राप्त गरेका थिए ।