२०७३ भाद्र १८ गते

आन्तरिक अर्थतन्त्रभन्दा माथि उठ्दै नेपालको बैंकिङ क्षेत्र

coinपछिल्लो पाँच वर्षमा बैंक तथा वित्तीय संस्थाको निक्षेप ह्वातै बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थासँग २१ खर्ब ७ अर्ब निक्षेप रहेको छ । जबकी ५ वर्षअघि अर्थात आर्थिक वर्ष ०६८/६९ मा बैंक तथा वित्तीय संस्थाहरुसँगको निक्षेप १० खर्ब ७४ अर्ब रुपैयाँ मात्रै थियो । सो अवधिमा निक्षेपको आकार १० खर्बले बढेको हो । बैंक तथा वित्तीय संस्थाको निक्षेप देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) कै हाराहारीमा पुगेको हो । गत आर्थिक वर्षमा नेपालको जीडीपीको आकार २२ खर्ब ४८ अर्ब छ । आर्थिक वर्ष ०६८/६९ मा जीडीपीको आकार १५ खर्ब ५८ अर्ब थियो । जीडीपी र बैंक तथा वित्तीय संस्थाको निक्षेपको अनुपात गत आर्थिक वर्षको अन्त्यसम्ममा ९३ प्रतिशत पुगेको छ । अघिल्लो आर्थिक वर्ष (०७१/७२) मा जीडीपी र निक्षेपको अनुपात ८३ प्रतिशत थियो । राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष ०६८/६९ मा जीडीपी निक्षेप अनुपात ६९ प्रतिशत थियो । 

रेमिट्यान्समा आएको उच्च वृद्धिका कारण बैंक तथा वित्तीय संस्थामा निक्षेप बढेको विज्ञहरु बताउँछन् । खासगरी पछिल्लो समयमा ग्रामीण क्षेत्रमा कृषिउपज नगदमा खरिद बिक्री बढ्नु तथा कामको भुक्तानी पनि नगदमा बढ्दै गएको छ । यसले आन्तरिक अर्थतन्त्रको आकारभन्दा बैंकिङ क्षेत्रको निक्षेपको आकार आगामी वर्षदेखि बढी हुने सम्भावनालाई प्रष्ट पारेको छ । खासगरी आन्तरिक उत्पादनमा आएको कमीको कारण देशको अर्थतन्त्रको आकार बढेको छैन । गत वर्ष भारतीय नाकाबन्दी तथा भूकम्पको कारण आर्थिक वृद्धिदर ०.७७ प्रतिशत मात्र वृद्धि भएको थियो । अघिल्ला वर्षपनि आर्थिक वृद्धिदर अवस्था सन्तोषजनक रहेको छैन ।
अर्थतन्त्रका अन्य क्रियाकलाप सुस्त देखिए पनि गत वर्ष बैंकहरूको गरेको नाफामा यसको कुनै असर थिएन ।