
- तपेन्द्र बहादुर साँउद
बाँकेको बैजनाथ गाउँपालिका वडा नं. ८ मा चौफेरी भन्ने एउटा सानो गाउँ छ। त्यही सानो गाउँबाट शुरु हुन्छ मेहनती विष्णु वलीको संघर्ष। विष्णु दिदीको एउटा सानो चिटिक्क परेको परिवार छ। जसमा विष्णु वली, उनका श्रीमान् खेमबहादुर वली, एक छोरा, एक छोरी, सासु र ससुरा गरी जम्मा ६ जनाको परिवार छ।
एउटा न्युन मध्यम वर्गको पारिवारीक स्थिति भएको उनको परिवारलाई दुई छाक खान र एकसरो लगाउनका लागि खासै समस्या नभए पनि छोराछारीको सुनौलो भविष्यका लागि केही गर्न नसकेको पीरले दिनानुदिन सताउँदै गएको थियो । यही आर्थिक समस्याबाट छुटकारा पाउन विष्णुका श्रीमान् नेपाली सेनामा भर्ति भए। नेपाली सेनाको जागिरबाट कमाएको १ जनाको कमाईले वली परिवारलाई अहिलेको महँगीमा बढ्दै गएको खर्च धान्न समस्या पर्न थाल्यो। अझ भनाैं सोचे जस्तो आर्थिक प्रगति भने गर्न सकिनन्।
मातृभूमीको सेवा गर्ने इच्छा हुँदाहुँदै पनि पारिवारिक समस्याले गर्दा नचाहँदा नचाहँदै नेपाली सेनाको नोकरीलाई निरन्तरता दिन सकेनन्। जागिर छोडेको केही समय त घर व्यवहारको काम गरेर बिताए । तर, आर्थिक समस्याले दिनानुदिन पिरोल्न थाल्यो । अब कसरी, के व्यवसाय गर्ने, व्यवसाय गरौं भने सीप छैन, पुँजी छैन।
गाउँ घरतिर सरसापट गरौं भने सहयोग गर्ने कोही छैनन्। सहयोग गरिहाले चर्को व्याज असुल्छन्। यो भन्दा सजिलो विकल्प त विदेश हो भनेर श्रीमानले विदेश जाने सोच बनाएको वली बताउँछिन् । श्रीमानको विदेश जाने कुराले उनलाई झन चिन्तित बनायो। विदेश जाने सबैको प्रगती सोचे जस्तो नभएको, विदेश जानेले दुःख पाएको, विदेश गएपछि सधैं चिन्तामा नै बस्नु परेको आफैंले देखेकी विष्णु वलीले श्रीमानलाई कुनै पनि हालतमा विदेश पठाउन नपरे हुन्थ्यो भनेर अनेक उपायहरुको खोजी गर्न थालिन्। ‘तर कहिँ कतै केही उपाय नदेखिरहेका बेला आशाको दियो बनेर छिमेक लघुवित्तको प्रवेश मेरा घरमा भयो’, उनी भन्छिन्।
शुरुमा बाख्रापालनका लागि १५ हजार ऋण लिएको र उक्त ऋणको किस्ता तिर्न गाह्रो हुन्छ की भनेर डराएको उनले सम्झिइन् । तर विस्तारै व्यवसाय गर्दै जाँदा ऋणले त मानिसलाई मेहनती बनाउने र ऋण रकमलाई बिउको रुपमा प्रयोग गरी व्यवसाय गर्न सकेमा उन्नती गर्न सजिलै सकिने रहेछ भन्ने लाग्यो।
“एक दिन हामी गाउँघरका दिदीबहिनीहरु भेला भइ बसिरहेका बेला एक जना साथीले कोहलपुरमा छिमेक लघुवित्त वित्तीय संस्थाको बारेमा सुन्नु भएको रहेछ। साथीको कुरा सुनेपछि हामी सम्पूर्ण महिला दिदीबहिनी मिलेर छिमेक लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय कोहलपुरमा खबर गरि समुह बनाई दिन आग्रह गर्यौं। त्यसपछि वित्तीय संस्थाका कर्मचारीले ७ दिनसम्म तालिम दिनुभयो । तालिम त लियौं तर बिना धितो ऋणको सुविधा लगायत अन्य धेरै सुविधाको बारेमा सुन्दा विश्वास गर्न गाह्रो भयो । ७ दिनको तालिम लिइसकेपछि ०६९/०४/०३ मा नियमानुसार समुह दर्ता भयो । यसरी छिमेक लघुवित्त वित्तीय संस्था लि. को शाखा कार्यालय कोहलपुर ‘ख’ मा आवद्ध भएर बैंकिङ्ग कारोवार गर्न थालेपछि भने अब केही गर्न सकिन्छ की भन्ने आँट पलायो । छिमेकमा आवद्ध भइसकेपछि श्रीमानसँग सल्लाह गरि आफ्नो सिप र दक्षतालाई मध्यनजर गर्दै पशुपालन गर्ने सोच बनायौं” आफ्नो अनुभव वलीले सुनाइन् ।
शुरुमा बाख्रापालनका लागि १५ हजार ऋण लिएको र उक्त ऋणको किस्ता तिर्न गाह्रो हुन्छ की भनेर डराएको उनले सम्झिइन् । तर विस्तारै व्यवसाय गर्दै जाँदा ऋणले त मानिसलाई मेहनती बनाउने र ऋण रकमलाई बिउको रुपमा प्रयोग गरी व्यवसाय गर्न सकेमा उन्नती गर्न सजिलै सकिने रहेछ भन्ने लाग्यो। शुरुमा रु. १५ हजार पनि ऋण चलाउन डर मान्ने विष्णुले हालसम्म २५ पटक गरि १६ लाख ७४ हजार कर्जा कारोबार गरी कृषि तथा पशुपालन व्यवसायमा सफलता प्राप्त गरेकी छिन्।
बाख्रापालनबाट व्यवसाय शुरु गरेकी उनले श्रीमानको सल्लाह बमोजिम भैंसी पालनका लागि ५० हजार ऋण लिई भैंसीपालन व्यवसाय शुरु गरिन्। छिमेकको साथ र सहयोग पाउने भएपछि भैंसीपालन व्यवसायलाई थप बढाउने सोच बनाइन्। विदेशमा गएर डलर कमाउने सपना देखेका उनका श्रीमानले पनि अब विदेश जानुको सट्टा स्वदेशमा नै बसेर उक्त व्यवसायलाई थप व्यवस्थित बनाउने योजना बनाए। श्रीमानको यस्तो योजना देखेपछि विष्णु थप खुशी भइन् । जसले उनलाई थप हौसला र उर्जा प्राप्त हुँदै गयो ।
समय क्रमसँगै छिमेकसँग बेला बेलामा ऋण लिँदै आफूले गरेको व्यवसायमा लगानी गर्दै सानो व्यवसायलाई बढाउदै गइन्। कृषि र पशुपालन व्यवसायमा केही गर्न खोज्ने सदस्यहरुको लागि उद्यमशिलता विकास कर्जा आएपछि उक्त कर्जा शिर्षकमा ५ लाख कर्जा लिएर ३ वटा भैंसी थपिन्।
विस्तारै व्यवसाय बढ्दै जाँदा आधुनिक तरिकाले गाईभैंसी पालन गर्ने सोच बनाउन थालिन् र पछि फेरि ५ लाख उद्यमशिलता विकास कर्जा लिइ आधुनिक गोठको निर्माण गरि बिष्णु भैंसीपालन ब्यवसाय दर्ता गर्दै ४ वटा उन्नत जातको गाई थपेर गाई भैंसी पालन गर्न थालिन्। आजभोलि उनका श्रीमान मोटरसाइकलमा दुधका क्यान राखेर डेरीमा दुध विक्री गर्छन् ।
दैनिक ६० लिटर दुध उत्पादन गरि प्रतिलिटर ५५ रुपैयाँका दरले दैनिक ३ हजार ३ सय मासिक, ९९ हजार र वार्षिक रु. ११ लाख ८८ हजारको दुध कारोबार गर्छन्। जसबाट खर्च घटाई लगभग वार्षिक ६ लाख आम्दानी हुने बताउँछन् वली दम्पती ।
हाल कमाएको आम्दानी व्यवसायमा बढाउनमा खर्च गरेका उनले अबका दिनमा चाँडै नै घडेरी किन्ने योजना भएको सुनाइन्। उनी भन्छिन्, ‘विभिन्न लघुवित्तमा कारोबार नगरी एउटै भरपर्दो र बलियो लघुवित्तबाट कारोबार गरे राम्रो प्रगति गर्न सकिने रहेछ । धेरै लघुवित्तको सदस्य बन्यो भने प्रगती भन्दा पनि दुर्गती हुने रहेछ ।’ उनलाई छिमेकको गोल्डेन सदस्य भएकाले कर्जा चुक्ता गर्दा टीका लगाई प्रोत्साहन रकम पाउँदा औधी खुशी लाग्छ ।
निकट भविष्यमा २ जना काम गर्ने सहयोगी राखेर बाख्रापालन र तरकारी खेती गर्ने व्यवसायिक योजना बनाएकी छिन्। उनको यस व्यवसाय सफल हुनुमा छिमेकको साथै परिवारको समेत ठूलो हात छ । आजकाल उनीहरु आफ्नै व्यवसायमा व्यस्त छन्। व्यवसायका लागि सल्लाह माग्न आउनेलाई सल्लाहसमेत दिन्छन् ।
छिमेकसँग लिएको १ लाख ऋणले ससुरा बुवाका लागि घर छेउमै किराना पसल खोलिदिएकी छिन्। यसरी स–परिवारसँगै बसेर खुशीसाथ जीवनयापन गरिरहेको र आफ्नै व्यवसाय भएकाले कसैको दवाव र केहीको अभाव नभएको बताउँछिन्। उनको व्यवसाय त्यसक्षेत्रका लागि नमुना हुनुका साथै मेहनतीहरुका लागि प्रेरणाको स्रोत बन्न सफल भएको छ। ‘सबैभन्दा ठूलो कुरा त विदेश जान तम्तयार भएका मेरा श्रीमानलाई छिमेकले तगारो बनेर छेक्यो ।’ उनी भन्छिन्, ‘विदेशिने सबैको तगारो बनोस् छिमेक। मेरो शुभकामना छ।’
(लेखक छिमेक लघुवित्तको कोहलपुर ‘ख’ शाखाका शाखा प्रवन्धक हुन्)




