बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले १० लाख रुपैयाँसम्मको सुनचाँदी धितो कर्जालाई असल मानिने व्यवस्था गरेको छ । केन्द्रीय बैङ्कले आइतवार परिपत्र जारी गर्दै बैङ्क तथा वित्तीय संस्थालाई नयाँ व्यवस्था लागू गर्न निर्देशन दिएको छ । जसअनुसार, अब बैंक तथा वित्तीय संस्थाहरुले पर्याप्त धितो राखी १० लाख रुपैयाँसम्म सुनचाँदी कर्जा दिएमा उक्त कर्जालाई असल मानिनेछ ।
यसअघि असल कर्जा वर्गमा मुद्दति रसिदको धितोमा गएका कर्जा तथा सापटहरु र नेपाल सरकारको सुरक्षणपत्र तथा नेपाल राष्ट्र बैंक ऋणपत्रको धितोमा गएका कर्जा तथा सापटलाई मात्र राखिएकोमा १० लाख रुपैयाँसम्मको सुनचाँदी धितो कर्जा थप गरिएको राष्ट्र बैंकले जनाएको छ । केही वर्ष पहिलासम्म सुनचाँदी धितोको कर्जा असल कर्जामा समावेश भए पनि पछि खारेज गरिएको थियो ।
अतिरिक्त धितो सुरक्षण वापत मुद्दती रसिद वा नेपाल सरकारको सुरक्षणपत्र वा नेपाल राष्ट्र बैंक ऋणपत्र धितो राखी कर्जा प्रवाह गरेमा त्यस्तो कर्जा तथा सापटलाई भने असल, कमसल, सूक्ष्म निगरानी, शंकास्पद र खराव कर्जाको रूपमा वर्गीकरण गर्नुपर्ने व्यवस्था छ । जसअनुसार, बढीमा एक वर्षसम्म भुक्तानी अवधि भएको चालू पुँजी कर्जालाई नवीकरण गर्दा असल कर्जामा समावेश गर्न सकिनेछ । त्यस्तै, इजाजतपत्र प्राप्त संस्थाले ऋणीको कर्जा तिर्न सक्ने क्षमता, भावी नगद प्रवाह, आम्दानीको स्रोत जस्ता कर्जा प्रवाहका न्यूनतम आधारको विश्लेषण गर्दा कर्जाको सदुपयोग हुने सुनिश्चित भएमा मात्रै कर्जा नवीकरण गर्नुपर्ने व्यवस्था छ । चालू पुँजी प्रकृतिका कर्जामा प्राप्त हुनुपर्ने ब्याज नियमित नभएमा त्यस्तो कर्जालाई ब्याज वक्यौता अवधिको आधारमा वर्गीकरण गर्ने व्यवस्था रहेको छ ।