बैंकिङ खबर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जेठमा अनलाइन प्रणालीको परीक्षण गर्ने भएको छ । चालू आर्थिक वर्षभित्रमा नै पूर्ण रुपमा अनलाइन प्रणाली लागू गर्ने तयारी गरिरहेको नेप्सेले जेठमा परीक्षण गर्न लागेको हो । यसका लागि सफ्टवेर तयार गर्ने काम अन्तिम चरणमा पुगेको बताइएको छ । सफ्टवेर वाइको कम्पनीले बनाइरहेको छ । कम्पनीका अनुसार १८ वटा मोडेलमध्ये १६ वटाको काम लगभग सकिएको छ । नेप्सेका अनुसार जेठमा अनलाइन प्रणालीको आन्तरिक परिक्षण गरेपनि त्यसपश्चात् युजर एसेप्टेन्स टेस्टिङ (युएटी)गर्नुपर्ने हुन्छ ।
अहिले सेयरको प्राथमिक बजारमा डिम्याट खाता, अनलाइन आस्वा लगायतका विभिन्न प्रविधिहरु भित्रिरहेका छन् । यद्यपि, दोस्रो बजारमा भने अझै पनि ब्रोकरकहाँ नै धाउनुपर्ने अवस्था छ । यसै अवस्थालाई मध्येनजर गर्दै र लगानीकर्ताको मागलाई ध्यानमा राख्दै नेप्सेले अनलाइन कारोबारको सुरुवात गर्न लागेको हो ।
अन्य विकसित मुलुकहरुमा हेर्ने हो भने प्राथमिक बजारको तुलनामा दोस्रो बजार प्रविधिको प्रयोगमा निकै अगाडी हुने गरेको छ । नेपालमा भने ठीक विपरीत भइरहेको छ । त्यसैले, लगानीकर्ता एवम् ब्रोकरहरुले अनलाइन ट्रेडिङको सुरुवात छिटै गरिनुपर्ने माग राख्दै आएका छन् ।