बैंकिङ खबर । पछिल्लो समय सर्वाधिक लगानी भइरहेको भर्चुअल मुद्रा बिटक्वाइनको भाउ अत्याधिक बढेर ४० हजार डलरसम्म पुग्ने प्रक्षेपण गरिएको छ । एक पूर्व हेज फण्ड व्यवस्थापकले आगामी वर्षको अन्त्यसम्ममा बिट्क्वाइनको भाउ अहिलेको तुलनामा बढेर चौबरभन्दा धेरै हुने भविष्यवाणी गरेका छन् । अहिले बिटक्वाइनको भाउ नौ हजार नौ सय नजिक रहेको छ । सन् २०१७ शुरू भएयता मात्रै बिट्क्वाइनको भाउ झण्डै ९ सय प्रतिशत बढिसकेको छ । ‘सन् २०१८ को अन्त्यमा बिट्क्वाइनको भाउ ४० हजार डलर पुग्न सक्छ, यो स्तरमा सजिलै पुग्नेछ,’ सीएनबीसीको सेयर कारोबारसम्बन्धी टक शो ‘फास्ट मनी’मा हेज फण्ड फोरट्रेस इन्भेष्टमेण्ट ग्रुपका पूर्व व्यवस्थापक माइकल नोभोगार्ट्जले भने ।
