Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

एक सातामा चार बैंकले सुरु गरे अनलाइन आस्वा सेवा

२०७४ श्रावण २७ गते

यो साता चार वटा बैंकले अन लाइन आस्वा सेवा सुरु गरेका छन् । धितोपत्रको प्राथमिक निष्काशनमा आवेदन दिन सहज पार्ने उद्देश्यले साउन १ गतेदेखि आस्वा सेवा अनिवार्य गरिएको छ । गत माघ १ गतेदेखि ऐच्छिक रुपमा सुरु भएको आस्वा सेवा अहिले सबैजसो बैंकले दिइरहेका छन् । कतिपय बैंकले यो सेवा निःशूल्क दिइरहेका छन् । केही समयअघिसम्म निःशूल्क आस्वा सेवा दिने प्रतिष्पर्धामा रहेका बैंकहरु अब भने अनलाइन आस्वा सेवामा प्रतिष्पर्धा गर्न थालेका छन् । 

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले साउन २७ गतेदेखि अनलाइन आस्वा सेवा सुरु गरेको छ । बैंकको ६८ जिल्लामा रहेका १७९ वटै शाखा कार्यालयहरुबाट यो सेवा निशुल्क रुपमा लिन सकिने बताइएको छ । जसअनुसार, अब प्राथमिक सेयर निष्काशन हुंदा ग्राहकले घरमै बसेर सेयर भर्न पाउनेछन् । सिडीएस एण्ड क्लियरिङ्ग लिमिटेडको सम्बन्धित निक्षेप सदस्यतामार्फत मेरो सेयरको यूजर प्राप्त गरेका ग्राहकले बैंकमा उपस्थित नभईकन पनि सहज रुपमा अनलाइन सी–आस्बा सेवा मार्फत आइपीओ, एफपीओ तथा म्युचल फण्डहरुमा आवेदन दिन सक्ने भएका हुन् । हाल शहरी क्षेत्रमा मात्र सिमित रहेको धितोपत्र बजारको सेवा राष्ट्रिय वाणिज्य बैंकको ६८ जिल्लामा रहेका १७९ वटा शाखा कार्यालयबाट यो सेवा लिन सकिने हुँदा दुरदराजमा रहेका लगानीकर्ताहरुले पनि पुँजी बजारको लाभ लिन सक्नेछन् ।   

एनआईसी एशिया बैंक लिमिटेड
आफ्नो २०औं वार्षिकोत्सवको समय पारेर एनआईसी एशिया बैंक लिमिटेडले पनि अनलाइन आस्वा सेवा सुरु गरेको छ । गत माघ देखि आस्वा प्रणालीमा सहभागी भई आफ्नो सम्पूर्ण शाखाहरु बाट आस्वा सेवा मार्फत सेयर आवेदन लिने गरेको बैंकले आइतबार (साउन २२ गते)देखि अनलाइन आस्वा सुरु गरेको हो । जसअनुसार अब ग्राहकहरुले यस बैंकको मोबाइल बैंकिङ्ग वा इन्टरनेट बैंकिङ्ग सेवा प्रयोग गरि विनाकुनै शुल्क सहज रुपमा बैंकमा नै उपस्थित नभईकन अनलाइन आस्वा सेवा मार्फतआइपिओ, एफपिओ तथा म्युचुअल फण्डहरुमा आवेदन दिन सक्नेछन् । साथै बैंकले संचालन माल्याएको आर्कषक व्याजदर भएको कुनै पनि बचत खाताखोली शुरुमा निशुल्क रुपमा मोबाइल बैंकिङ्ग वा इन्टरनेट बैंकिङ्ग सेवा प्राप्त गर्न सक्ने जनाएको छ ।

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले पनि धितोपत्रको दरखास्त लिने प्रकृयालाई अझ सरल, प्रभावकारी एवं सहज बनाउन अनलाइन मार्फत दरखास्त दिन सकिने सेवा सुरु गरेको छ । यस सेवा अन्तर्गत आगामी दिनहरुमा निष्काशन हुने आइृपिओ एफपिओको अनलाइन दरखास्त दिन इच्छुक लगानीकर्ताले घरमै बसी बसी निः शुल्क दरखास्त दिने सक्ने व्यवस्था गरिएको छ । यस बैंकमा खाता नभएका लगानीकर्ताहरुले समेत यस बंैकमा खाता खोली आस्वा सेवा निः शुल्क उपभोग गरेर लाभ लिन सक्ने छन् ।

टुरिजम् डेभलपमेन्ट बैंक लिमिटेड
टुरिजम् डेभलपमेन्ट बैंक लिमिटेडले धितोपत्र दरखास्त संकलन सम्बन्धी कार्य गर्नको लागि अनलाइन आस्वा प्रणालीको शुरुवात गरेको छ । धितोपत्रको सार्वजनिक निष्काशन कार्यलाई छिटो, छरितो र पारदर्शी बनाई सर्वसाधारण लगानीकर्ताहरुले सहज रुपमा धितोपत्र खरीद गर्न सक्ने व्यवस्था गर्ने उद्देश्य रहेको यस प्रणालीमा, टुरिजम डेभलपमेन्ट बैंकमा खाता खोलेका ग्राहकहरुले इन्टरनेट बैंकिङ्गमार्फत घरमै बसीबसी आवेदन दिन सक्नेछन् । इन्टरनेट बैंकिङ्ग मार्फत प्राप्त निवेदनको आधारमा बैंकले खातामा रकम रोक्का राखी सेयर आवेदन स्विकार गर्ने छ । सेयर बाँडफाँड पश्चात बाँडफाँड भएको रकम खातामा खर्च लेखी बाँकी रकम फुकुवा गरिने छ । 

आस्वा प्रणाली अन्तर्गत सार्वजनिक रुपमा धितोपत्र निष्काशन हुँदा यस बैंकको जुनसुकै शाखा कार्यालयका खातावाला लगानीकर्ताहरुबाट सेयर खरिद गर्न चाहेमा अनलाइन वा दरखास्त फारम संकलन गरी फारममा उल्लेख भए अनुसारको रकम सम्बन्धित लगानीकर्ता खाताधनीकै खातामा रोक्का राखी धितोपत्र बाँडफाँड भएपश्चात लगानीकर्ताको नाममा कायम हुन आएको धितोपत्र बराबरको रकम सम्बन्धित धितोपत्र निष्काशनकर्ता कम्पनीमा पठाई बाँकी रकम सम्बन्धित खाताधनीले पुर्ववतः रुपमा प्रयोग गर्न सक्ने गरी फुकुवा गरिने छ । 

Ad