Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

यस्ता छन्, साताभरका उत्कृष्ट बैंकिङ खबरहरु

२०७४ श्रावण २० गते

हरेक साताको अन्तिम दिन शुक्रबार बैंकिङ खबर डट कमले साताभरिका बैंकिङ समाचारहरुलाई एउटै पानामा समेट्दै आइरहेको छ । यस साता पनि बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विभिन्न गतिविधिहरु भए । बैंक तथा वित्तीय संस्थासम्बन्धी विभिन्न समाचार तथा गतिविधिहरुलाई सञ्चार माध्यमहरुले महत्वका साथ प्रकाशन तथा प्रशारण गरे । यो साता नेपाल राष्ट्र बैंकले बैंक संचालकहरुको योग्यता तय गर्यो । समग्रमा, साताको सुरुवातदेखि बैँक तथा वित्तीय क्षेत्रमा भएका प्रमुख गतिविधिहरु यहाँ प्रस्तुत गरिन्छ :

बैंक संचालकको योग्यता
नेपाल राष्ट्र बैंकले साताको विहीबार बैंक तथा वित्तीय संस्थाका संचालकहरुको योग्यता तोक्यो । बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन (बाफिया) को दफा १६ मा बाणिज्य बैंकहरुका संचालक र दफा १७ मा स्वतन्त्र संचालकको योग्यता तोकिने ब्यवस्था छ । यस्तै सोही ऐनको दफा २९ मा लघुवित्त वित्तीय संस्थाका कार्यकारी प्रमुखको योग्यता तोक्ने ब्यवस्था छ । सोही ब्यवस्था अनुसार राष्ट्र बैंकले संचालक, स्वतन्त्र संचालक र कार्यकारी प्रमुखको योग्यता तोकेको हो । 

एनआईसी एसिया बैंकमा डलर सटही सुविधा
एनआईसी एशिया बैंक लिमिटेडले नेपालमै पहिलो पटक नगद अमेरिकी डलर आयात गरी सहज रुपमा नगद अमेरिकी डलर उपलब्ध गराउने व्यवस्था मिलायो । राष्ट्र बैंकको हालको नियमानुसार बैंकले नेपाली नागरिकले विदेश जाँदा आफ्नो राहदानी वापत २५ सय रुपैयाँ अमेरिकी डलरसम्म सटही सुविधा प्राप्त गर्न सक्ने व्यवस्था लागू गरेको जनाएको छ । बैंकले हालका लागि आफ्नो काठमाडौँ भित्रका सम्पूर्ण ३२ शाखा कार्यालयहरु (त्रिपुरेश्वर, जावलाखेल, न्यूरोड खिचापोखरी, बनेपा, भक्तपुर, कलंकी, क्षेत्रपाटी, महाराजगंज, सामाखुसी, बौद्ध, बागबजार, कौशलटार, ग्वार्को, खुमल्टार, सुकेघारा, डिल्लीबजार, न्यूरोड विशालबजार, कमलादी, पुल्चोक, बत्तीसपुतली, किर्तिपुर, सातदाबाटो, टेकु, पेप्सीकोला, थानकोट, ठमेल, नयाँ बानेश्वर, थापाथली रजिष्टर्ड कार्यालय शाखा, बालाजु, कपन, लाजिम्पाट र गोल्फुटार) तथा उपत्यका बाहिरका शाखा कार्यालयहरु (विराटनगर, वीरगंज, धरान, पोखरा, नेपालगंज, नारायणगढ, बुटवल आदि) बाट सहज रुपमा उपलब्ध गराउने व्यवस्था गरेको छ । साथै, यस बैंकले विदेश जाने ग्राहकहरुलाई ख्क्ष्क्ब् क्ष्लतभचलबतष्यलब िम्भदष्त ऋबचम मार्फत पनि अमेरिकी डलर सटही सुविधा प्रदान गर्दै आएको छ ।

थप तीन जीवन बीमा कम्पनीलाई लाइसेन्स
बीमा समितिले बुधबार तीन वटा कम्पनीलाई जीवन बीमा व्यवसाय सञ्चालनको लागि अन्तिम स्वीकृति प्रदान गर्यो । यससँगै अब १५ वटा कम्पनीले जीवन बीमासम्बन्धी सेवा दिने भएका छन् । यीमध्ये, नौ वटा कम्पनी पहिलदेखि नै सञ्चालनमा छन् भने तीन वटाले हालै अनुमति पाएर सञ्चालनको अन्तिम तयारी गरिरहेका छन् । बाँकी तीन वटाले भने बुधबार मात्रै व्यवसाय सुरु गर्न स्वीकृति पाएका हुन् ।  बुधबार स्वीकृति पाउनेमा रिलायन्स, रिलायबल र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी छन् । यसअघि, असार २० गते आईएमई, युनियन र ज्योतिले लाइसेन्स पाएका थिए । जीवन बीमा कम्पनी सञ्चालनको अनुमति माग गर्दै बीमा समितिमा पुगेका १० कम्पनीमध्ये हालसम्म ६ वटाले लाइसेन्स पाएका हुन् । बाकी चार वटा कम्पनी पनि लाइसेन्स लिने प्रक्रियामा छन् । बुधबार स्वीकृति पाएका तीन वटै कम्पनीले दुई अर्ब चुक्तापुँजी पुर्याएका छन् । यी कम्पनीहरुले अब छ महिनाभित्र काम सुरु गरिसक्नुपर्नेछ । बाँकी तीन वटाले भने साउनभित्रै काम सुरु गर्ने तयारी गरेका छन् ।

सिभिल बैंकमा नयाँ सिईओ
सिभिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा गोबिन्द गुरुङ्ग नियुक्त भए । किशोर महर्जनको पदावधि साउन १२ गते सकिएपछि गुरुङले सीईओको कार्यभार सम्हालेका हुन् । गत वैशाख १२ गते देखि का.मु. प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत गुरुङ हालका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनको पदावधि यही साउन १२ गते सकिएपछि बैंकको नेतृत्व सम्हाल्न आएका हुन् । विगत २१ बर्षदेखि बैंकिङ्ग क्षेत्रमा सकृय गोबिन्द गुरुङ्ग गत वैशाख १२ गतेदेखि सिभिल बैंकमा नै कामु सीईओ थिए । उनी हिमालयन बैंक, तत्कालिन ग्लोबल बैंक, मेगा बैंक हुँदै सिभिल बैंकमा विगत ५ बर्ष देखि आवद्ध छन् ।

पानामा लिक्समा पाकिस्तानी प्रधानमन्त्री दोषी
पानामा लिक्स प्रकरणमा पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफ दोषी ठहरिए । त्यहाँको सर्वोच्च अदालतले उनलाई कालो धन जम्मामा पारेको आरोपमा दोषी ठहर गरेको हो । सर्वोच्च अदालतका न्यायाधीश एजाज हसन, एजाज अफजल, सईद शेख, आसिफ सईद खोसा र गुलजार अहमद पााच सदस्यीय इजलासले नवाज शरीफलाई दोषी ठहर गरेको बीबीसीले उल्लेख गरेको छ । बीबीसीमा उल्लेख भए अनुसार उनी अब प्रधानमन्त्री पदका लागि अयोग्य ठहरिनेछन् । अदालतको फैसलापछि नवाज शरीफले अब पदबाट राजीनामा दिनुपर्छ ।

अन्य,

  • प्रभु इन्स्योरेन्स लिमिटेड स्थापनाको २१ औं वर्ष पुरा गरी २२ औं वर्षमा प्रवेश गर्यो ।
  • राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सहायक कम्पनी आरविवि मर्चेन्ट बैंंकिङ्ग लिमिटेडकोे आ.व. २०७२।०७३ को प्रथम वार्षिक साधारण सभा संचालक समितिका अध्यक्ष एवं राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भयो ।
  • मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना दुई मृतक ग्राहकका श्रीमान्हरुलाई काजकिरिया खर्चवापत तत्काल पाँच/पाँच हजार रुपैयाँ दियो । 
  • सिटिजन्स बैंक लिमिटेडले धादिङ जिल्लाका २८७८ भुकम्पपीडित परिवारलाई नगद सहयोग गर्यो ।
  • नेपाल बैक लिमिटेडले चितवनको भण्डारामा शाखा पुनःस्थापना गर्यो ।
Ad