Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

स्टान्डर्ड चार्टर्ड बैंकको अगाडी रमिते बन्यो राष्ट्र बैंक

२०७४ श्रावण १९ गते

रोयल आचार्य/बैंकिङ खबर  – विदेशी लगानीमा भित्रिएको स्टान्डर्ड चार्टर्ड बैंक लिमिटेडको अगाडी नेपाल राष्ट्र बैंक रमिते बनेको छ । यस बैंकले नेपाल सरकार र नेपाल राष्ट्र बैंकको नीति विपरित काम गरिरहेको भए पनि मुलुकको केन्द्रीय बैंक मुक दर्शक बनेको छ । नेपाली जनतालाई सेवा दिन कञ्जुस्याईँ गर्ने स्टान्डर्ड चार्टर्ड बैंकले आफ्नो चौतर्फी ध्यान मूनाफा कसरी कमाउने भन्नेतर्फ केन्द्रीत गर्ने गरेको छ । 

कसरी बन्यो राष्ट्र बैंक रमिते ? 
बैंक तथा वित्तीय संस्थाको नियामक राष्ट्र बैंकले कुनै बैंकले नीति विपरित काम गरे त्यसलाई नीति अनुसार काम गर्न लगाउने वा कारवाही गर्ने काम गर्छ । तर स्टान्डर्ड चार्टर्डले गरेको नीति विपरितको काम कारवाहीमा राष्ट्र बैंक रमिते बनेर बसेको छ । नेपालमा रहेका २८ वटा वाणिज्य बैंकहरुमध्ये २७ वटा बैंकहरुले गरेको निर्णयमा समेत सहभागी हुन नसक्ने स्टान्डर्ड चार्टर्ड बैंकका लागि नियम कानून नै नलाग्ने जस्तो देखिएको छ । २८ वाणिज्य बैंकहरुका लागि एउटै नियम कानून लागु हुनुपर्ने भए पनि यथार्थमा त्यो देखिएको छैन । सबै वाणिज्य बैंकहरुका लागि एउटै कानून भएको र सबैले पालना गरिरहेको राष्ट्र बैंकको दाबी छ । बैंकिङ खबरसँग कुरा गर्दै राष्ट्र बैंकका प्रवक्ता एवं कार्यकारी निर्देशक नारायण पौडेलले भने ‘हाल सञ्चालन भएका सबै बैंकहरुले मापदण्ड पुरा गरेका छन् ।’ मापदण्ड पुरा नगरी कुनै पनि बैंक सञ्चालन नहुने उनको भनाई छ । 

नेपाल सरकारको नीति कार्यान्वयनको बाधक
स्टान्डर्ड चार्टर्ड बैंक नेपाल सरकारको नीति कार्यान्वयनको बाधकको रुपमा प्रस्तुत भएको छ । नेपाल सरकारले चालु आर्थिक बर्ष २०७४÷७५ का लागि ल्याएको बजेटमा सबै स्थानीय तहमा वाणिज्य बैंकका शाखा खोलिने उल्लेख गरेको छ । सोहि अनुरुप सबै स्थानीय तहमा वाणिज्य बैंकका शाखा खोल्न अर्थमन्त्रालयले निर्देशन समेत दिएको थियो । 

नेपाल सरकारले बजेटमा नै समावेश गरेको यो कार्यक्रममा स्टाण्डर्ड चार्टड बैंक भने सहभागी नहुने भएको छ । २८ वाणिज्य बैंकमध्ये २७ वाणिज्य बैंकहरुले कुन कुन स्थानीय तहमा जाने भन्नेबारे सहमति गरे । स्टान्डर्ड चार्टड बैंक भने कुनै पनि स्थानीय तहमा नजाने भएको छ । सरकारको योजना कार्यान्वयन गर्न सबै वाणिज्य बैंकहरुले सबै स्थानीय तहमा बैंक शाखा खोल्नुपर्ने हुन्छ । सबै स्थानीय तहमा बाध्य बनाएर भए पनि पठाउने काम नियामक निकायको हो । तर यसमा राष्ट्र बैंकले चासो दिएको छैन । सबै स्थानीय तहमा बैंक शाखा खोल्नका लागि नेपाल बैंकर्स संघलाई जिम्मा दिएको भन्दै राष्ट्र बैंक ढुक्क बसेको छ । स्थानीय तहमा शाखा खोल्नका लागि बैकर्स संघलाई जिम्मा दिएको र संघले नै क–कसले कहाँ–कहाँ खोल्ने वर्क आउट गरेर राष्ट्र बैंकलाई पठाएको प्रवक्ता पौडेलले बताए । संघले नै छलफल गरेर वर्क आउट गरेकाले राष्ट्र बैंकले केहि नभनेको उनको भनाई छ । 

अनुत्पादक क्षेत्रमा बढी लगानी
अनुत्पादक क्षेत्रमा मात्रै बढी लगानी खन्याएर नाफा कुम्ल्याएको यो बैंकले उत्पादनमूलक क्षेत्रमा २० प्रतिशत लगानी गर्नुपर्ने राष्ट्र बैंकको निर्देशनको पालना गरेको छैन । नयाँ मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले उत्पादनमूलक क्षेत्रमा वाणिज्य बैंकले गर्नुपर्ने लगानी २० प्रतिशतबाट बढाएर २५ प्रतिशत पुर्याएको छ । धेरै नाफा कमाउनका लागि तत्काल मुनाफा आर्जन हुने घरघडेरी, गाडी तथा ठेकेदार कम्पनीहरुमा मात्रै यो बैंकले लगानी गर्ने गरेको छ । हुन त, प्रायः बैंकहरुले यो नीतिको पालना गर्न सकेका छैनन् । जेठ मसान्तसम्ममा बैंकहरुले उत्पादनमूलक क्षेत्रमा १७.५ प्रतिशत लगानी गरेका छन् । जसमध्ये, स्टान्डर्ड चार्टर्ड बैंकको लगानी यस क्षेत्रमा अत्यन्तै न्युन रहेको छ । स्रोतका अनुसार, यो बैंकको लगानी उत्पादनमूलक क्षेत्रमा आठ प्रतिशत मात्रै छ । गत चैत्र मसान्तसम्मको तथ्यांक अनुसार, यो बैंकले ६९ अर्ब ५६ करोड ७४ लाख रुपैयाँ निक्षेप संकलन गरी ३७ अर्ब ३५ करोड ५९ लाख रुपैयाँ लगानीे गरेको छ ।

शाखा विस्तारमा आनाकानी
शाखा विस्तारमा समेत स्टान्डर्ड चार्टर्ड बैंकले आफूखुसी गर्दै आइरहेको छ । २७ वटा वाणिज्य बैंकहरु राष्ट्र बैंकको निर्देशनअनुसार स्थानीय तहमा जान तयार हुन यो बैंकले अस्वीकार गरेको छ । दुर्गम भेगमा बैंक पुर्याएर त्यहाँको ससानो पुँजीलाई पनि बैंकिङ क्षेत्रमा ल्याउने र समग्र मुलुकको आर्थिक विकासमा प्रयोग गर्ने राष्ट्र बैंक तथा नेपाल सरकारको उद्देश्य छ । तर, राष्ट्रिय हित भन्दा पनि पूर्ण रुपमा मुनाफा केन्द्रित यस बैंकले दुर्गम भेगमा शाखा खोल्न आनाकानी गरेको छ । सन् १९८७ मा नेपाल प्रवेश गरेको यस बहुराष्ट्रिय बैंकले हालसम्म नेपालमा १४ वटा शाखा र २३ वटा एटीएम सञ्चालनमा ल्याएको छ । जसमध्ये, सबैजसो शाखाहरु सहरी भेगमा मात्रै छन् ।

कृषिमा लगानी गर्दैन
उत्पादनमूलक क्षेत्रमा लगानी गर्न नै नमानेको स्टान्डर्ड चार्टर्डले सोही क्षेत्रअन्तर्गतको कृषिमा त झन् शून्य बराबर लगानी गरेको छ । नयाँ मौद्रिक नीतिमा वाणिज्य बैंकहरुले कृषिमा कुल कर्जाको ५ प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था गरिएको छ । स्टान्डर्ड चार्टर्ड बैंकले यो निर्देशनको पनि पालना गरेको छैन ।

Ad