Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

शाखा सञ्जालमा कमजोर देखिएका पाँच वाणिज्य बैंकहरु

२०७४ श्रावण १७ गते

रोयल आचार्य । सञ्चालनमा रहेका २८ वाणिज्य बैंकहरुमध्ये शाखा सञ्जालका हिसाबले सबैभन्दा अगाडी कृषि विकास बैंक रहेको छ भने सबै भन्दा पछाडी विदेशी लगानीमा सञ्चालन भइरहेको स्टान्डर्ड चार्टर्ड बैंक रहेको छ । शाखा सञ्जालका हिसाबले सबैभन्दा कमजोर मानिएको स्टान्डर्ड चाटर्ड बैंकको एकदमै न्युन मात्रामा शाखा सञ्जालहरु रहेका छन् । अन्य बैंकको तुलनामा यस बैंकको शाखा संख्या लज्जास्पद छ । जनतालाई सेवा दिने भन्दा बढी नाफा कमाउने उद्देश्य बोकेको यस बैंकको शाखा जम्मा एक दर्जन मात्रै छ । त्यो पनि शहर केन्दित मात्रै । यसैबीच २८ वाणिज्य बैंकहरुमध्ये शाखा सञ्जाल विस्तारमा कमजोर देखिएका पाँच वाणिज्य बैंकहरुको बारेमा यहाँ चर्चा गरिन्छ :

स्टान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड 
विदेशी लगानीमा भित्रिएको स्टाण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड शाखा सञ्जाल विस्तारमा सबैभन्दा कमजोर देखिएको छ । यस बैंकको जम्मा १२ वटा मात्रै शाखा छन् । भएका १२ वटा शाखा पनि मुलुकका नामुद शहर केन्द्रित छन् । यस बैंकको उपत्यकाभित्र ५ वटा र उपत्यका बाहिरका प्रमुख शहरहरुमा ७ वटा मात्रै शाखा सञ्जाल रहेका छन् । शाखा खोल्न बाँकी रहेका स्थानीय तहमा २७ वटा वाणिज्य बैंकहरुले शाखा खोल्ने सहमति गरे पनि यो बैंक भने स्थानीय तहमा नजाने भएको छ । यो बैंकले जनताको सेवालाई ध्यानमा नराखेको देखिन्छ । 

हिमालयन बैंक लिमिटेड 
शाखा सञ्जाल विस्तारमा हिमालयन बैंक पनि कमजोर देखिएको छ । यस बैंकको हाल ४४ वटा शाखा सञ्जालहरु छन् । उपत्यकाभित्र १७ वटा र उपत्यका बाहिर २७ वटा यस बैंकका शाखाहरु रहेका छन् । बैंक शाखा नपुगेका तीन स्थानीय तहहरुमा यो बैंकले शाखा खोल्ने भएको छ । हिमालयनले बाराको प्रसोनी गाउँपालिका, दोलखाको गौरीशंकर गाउँपालिका र बाँकेको राप्ती सोनारी गाउँपालिकामा शाखा खोल्ने भएको छ । 

नेपाल बंगलादेश बैंक लिमिटेड
नेपाल बंगलादेश बैंक पनि शाखा सञ्जालमा कमजोर देखिएको छ । यो बैंकको जम्मा ४५ वटा मात्रै शाखा सञ्जालहरु सञ्चालनमा रहेका छन् । उपत्यकाभित्र १४ वटा शाखा सञ्जालहरु छन् भने उपत्यका बाहिर यस बैंकका ३१ वटा शाखाहरु सञ्चालनमा रहेका छन् । नेपाल बंगलादेश बैंकले बैंक शाखा नपुगेका ७ स्थानीय तहहरुमा शाखा स्थापना गर्ने भएको छ । यस बैंकले भोजपुरको साल्पाछिलिचो गाउँपालिका, धनकुटाको साँघुरीगढी गाउँपालिका, संखुवासभाको पाच खपन नगरपालिका, तेह्रथुमको छथर गाउँपालिका, बाराको परवानीपुर गाउँपालिका, अर्घाखाँचीको छत्रदेव गाउँपालिका र जुम्लाको सिंजा गाउँपालिकामा शाखा खोल्ने भएको छ ।

सानिमा बैंक लिमिटेड
एनआरएनहरुको बिशेष लगानी रहेको सानिमा बैंक शाखा सञ्जाल विस्तारमा चौथो कमजोर वाणिज्य बैंक हो । सानिमाको उपत्यकाभित्र १३ वटा र उपत्यका बाहिर ३३ वटा शाखा सञ्जालहरु रहेका छन् मुलुकभर यस बैंकको जम्मा ४७ वटा मात्रै शाखाहरु छन् । सानिमा बैंकले बैंक शाखा नपुगेका ५ स्थानीय तहमा शाखा खोल्ने भएको छ । सानिमाले इलामको माई नगरपालिका, सुनसरीको हरिनगरा गाउँपालिका, दोलखाको मेलुङ गाउँपालिका, दैलेखको डङ्गेश्वर गाउँपालिका र डडेलधुराको भागेश्वर गाउँपालिकामा शाखा खोल्ने भएको छ । 

सिभिल बैंक लिमिटेड
शाखा सञ्जाल कम भएको अर्को वाणिज्य बैंक सिभिल बैंक हो । यो बैंकको जम्मा ५२ वटा शाखा कार्यालयहरु रहेका छन् । उपत्यकाभित्र १८ वटा र उपत्यका बाहिर यस बैंकको ३४ शाखा कार्यालयहरु रहेका छन् । शाखा सञ्जाल विस्तारमा कमजोर नम्बर ५ मा परेको सिभिल बैंकले बैंक शाखा नपुगेका ६ जिल्लाका ९ जिल्लामा शाखा विस्तार गर्ने भएको छ । सिभिलले इलामको माईजागमाई गाउँपालिका, पाँचथरको याङवरक, हिलिहाङ र मिक्लाजुङ गाउँपालिका, रामेछापको खाँदेवी गाउँपालिका, लमजुङको राईनास, क्व्होलासोथार, दुधपोखरी र मस्र्याङ्दी गाउँपालिकामा शाखा खोलने भएको छ । (सम्बन्धित बैंकको वेबसाइटको सहयोगमा)

Ad