Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

पुँजीवृद्धिको दौडधुप : १६ बैंकको हकप्रद आउँदै

२०७४ श्रावण १७ गते

गत साउन १६ गतेदेखि सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले १० बराबर चारको अनुपातमा हकप्रद सेयर निष्काशन गरिरहेको छ । बैंकले एक सय रुपैयाँ अंकित दरमा एक अर्ब ८८ करोड ५४ लाख २५ हजार सात सय रुपैयाँको एक करोड ८८ लाख ५४ हजार दुई सय ५७ कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । सेञ्चुरीले पछिल्लोपटक सेती फाइनान्स र सगरमाथा फाइनान्सलाई गाभेर एकीकृत कारोबार सुरु गरिसकेको छ । बैंकले अल्पाइन डेभलपमेन्ट बैंक प्राप्ति गर्ने स्वीकृति प्राप्त गरिसकेको छ । सबै वित्तीय संस्थालाई गाभेपछि र ४० प्रतिशत हकप्रद बिक्री पश्चात सेञ्चुरीको चुक्ता पूँजी सात अर्ब ९० करोड रुपैयाँ पुग्नेछ भने चालू आर्थिक वर्षको बोनसबाट बैंकले पूँजी आठ अर्ब पुर्याउने जनाएको छ ।

त्यस्तै, कन्काई विकास बैंकले २१४ प्रतिशत अर्थात एक दुई दशमलव १४ को अनुपातमा हकप्रद सेयर निष्काशन गरिरहेको छ । बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा ३२ करोड १० लाख रुपैयाँको ३२ लाख १० हजार कित्ता हकप्रद निष्काशन गरेको हो । हाल १५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कन्काईको हकप्रद बिक्रीपछि पूँजी ४७ करोड १० लाख रुपैयाँ पुग्नेछ । बाँकी रहेको दुई करोड ९० लाख रुपैंया बराबरको बोनस बितरण गरी कन्काइले चुक्ता पूँजी ५० करोड रुपैंया पुर्याउने छ ।

मौद्रिक नीतिले बैङ्क तथा वित्तीय संस्थाको चुक्तापूँजी वृद्धि गर्न दिएको निर्देशनका कारण गत आवमा हकप्रद सेयर निष्कासन गर्ने कम्पनीको सङ्ख्या अत्याधिक बढेको छ । आर्थिक वर्ष २०७३।७४ मा मात्रै नेपाल धितोपत्र बोर्डले कुल ४५ करोड ६४ लाख २४ हजार एक सय ४२ कित्ता हकप्रद सेयर निष्कासनका लागि स्वीकृति दिएको थियो । सो अवधिमा १७ वाणिज्य बैङ्क, २९ विकास बैङ्क, १० वित्त कम्पनी, नौ लघुवित्त विकास बैङ्क, पाँच बीमा कम्पनी र एक जलविद्युत् कम्पनी गरी कुल ७१ कम्पनीले हकप्रद निष्काशन गर्ने अनुमति पाएका थिए । जसमध्ये, ६४ कम्पनीले आव २०७३।७४ मै हकप्रद सेयर निष्कासन गरिसकेका थिए । चालू आर्थिक वर्षमा कन्काई र सेञ्चुरीको हकप्रद निष्काशन भइरहेको छ । अब रिलायबल माइक्रोफाइनान्स वित्तीय संस्था, लुम्बिनी जनरल इन्स्योरेन्स, सानिमा माई हाइड्रोपावर, काबेली विकास बैङ्क, सिन्धु विकास बैङ्क र अरुण फाइनान्सको हकप्रद सेयर निष्कासन हुन बाँकी छ ।

यसैबीच, पुँजीवृद्धिका लागि हकप्रद निष्काशन गर्न लागेका क, ख र ग वर्गका बैंकहरुको बारेमा यहाँ चर्चा गरिन्छ :

हकप्रद निष्काशनको अनुमति पाइसकेका बैंकहरु
काबेली विकास बैंक, सिन्धु विकास बैंक र अरुण फाइनान्स पुँजी बढाउनका लागि हकप्रद निष्काशन गर्ने क्रममा रहेका छन् । हकप्रद निष्काशनका लागि यी संस्थाहरुले धितोपत्र बोर्डको स्वीकृति पनि पाइसकेका छन् । जसमध्ये, काबेलीले ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्दैछ । हालसात करोड एक लाख ७६ हजार एक सय रुपैयाँ चुक्तापुँजी रहेको बैंकको ५० प्रतिशत हकप्रद जारी गरेपछि  चुक्तापुँजी १० करोड ५२ लाख ६४ हजार रुपैयाँ पुग्नेछ । 

सिन्धु विकास बैंकले ८० प्रतिशत अर्थात १० बराबर आठको अनुपातमा हकप्रद सेयर निष्काशन गर्दैछ । हाल यो बैंकको चुक्तापुँजी २६ करोड २१ लाख ९२ हजार रुपैयाँ रहेको छ । बैंकले गत आर्थिक वर्षको कमाईबाट आफ्ना सेयरधनीलाई १६.८ प्रतिशत बोनस सेयर वितरण गर्दैछ । बोनस र हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी ४७ करोड १९ लाख रुपैयाँ पुग्नेछ ।

त्यस्तै, अरुण फाइनान्सले पनि चुक्तापुँजी वृद्धिका लागि शतप्रतिशत हकप्रद जारी गर्ने अनुमति पाएको छ । १५ करोड रुपैयाँ चुक्तापुँजी भएको फाइनान्सको एक बराबर एकको अनुपातमा हकप्रद जारी गरेपछि चुक्तापुँजी ३० करोड रुपैयाँ पुग्नेछ ।

कुनकुन बैंक पाइपलाइनमा ?
तीन वाणिज्य बैंकहरु हकप्रद निष्काशनका लागि नेपाल धितोपत्र बोर्डको अनुमतिको पखाईमा छन् । प्रभु बैंकले १० बराबर चारको अनुपातमा दुई करोड ३५ लाख २५ हजार छ सय आठ कित्ता हकप्रद सेयर जारी गरेर चुक्तापुँजी आठ अर्ब नघाउँदै छ । मेगा बैंकले १० बराबर ६.५ को अनुपातमा दुई करोड ९७ लाख ८५ हजार ३४ दशमलव ६३ कित्ता हकप्रद सेयर जारी गर्ने अनुमति मागेको छ । उक्त हकप्रद सेयर निष्काशन र राष्ट्रिय स्तरको टुरिजम डेभलपमेन्ट बैंकसँगको मर्जरपछि मेगा बैंकको चुक्तापुँजी पनि आठ अर्ब नाघ्नेछ । त्यस्तै, युनिक फाइनान्स र हामा मर्चेन्ट फाइनान्सलाई गाभ्ने प्रक्रियामा रहेको सिभिल बैंकले १० बराबर चारको अनुपातमा दुई करोड सात लाख ४० हजार आठ सय ८६ दशमलव ७५ कित्ता हकप्रद सेयर जारी गर्ने अनुमति मागेको छ । एक्विजिसन र हकप्रद निष्काशनपनि सिभिलको चुक्तापुँजी पनि आठ अर्ब नाघ्नेछ । 

त्यस्तै, सात वटा विकास बैंकहरु पनि पाइपलाईनमा छन् । जसमध्ये, ग्रीन डेभलपमेन्ट बैंकले चार सय प्रतिशत, माउन्ट मकालुले ५० प्रतिशत, एक्सेलले ५० प्रतिशत, नेपाल कम्युनिटीले १२० प्रतिशत, कर्णालीले २२५ प्रतिशत, भार्गवले १० बराबर आठको अनुपातमा र ओमले १० बराबर तीनको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने अनुमति मागेका छन् । 

यसका अलावा हकप्रद निष्काशनको पाइपलाइनमा तीन वटा फाइनान्स कम्पनीहरु पनि छन् । जसमध्ये, सेन्ट्रल फाइनान्सले २५ प्रतिशत, रिलायन्स फाइनान्सले १० बराबर ४.५को अनुपातमा र श्री इन्भेष्टमेन्ट फाइनान्सले १० बराबर ८.३ को अनुपातमा हकप्रद जारी गर्न धितोपत्र बोर्डको स्वीकृति मागेका छन् ।

Ad