नेपाल धितोपत्र बोर्डले मर्चेन्ट बैंकरको अनुमतिपत्रको लागि आवेदन लिने कार्य खुल्ला गरेको छ । न्युनतम शुल्क सम्वन्धी व्यवस्था सहित धितोपत्र व्यवसायी (मर्चेन्ट बैङ्कर) नियमावली, २०६४ मा संशोधन गरी धितोपत्र व्यवसायी (मर्चेन्ट बैङ्कर) (पहिलो संशोधन) नियमावली, २०७४ लाई नेपाल सरकारको स्वीकृति पश्चात बोर्डवाट गत साउन ३ गतेदेखि लागू गरिएकोले मर्चेन्ट वैंकिङ्ग कार्य गर्न अनुमतिपत्रको लागि आवेदन लिने कार्य खुल्ला गरिएको धितोपत्र बोर्डले जनाएको छ ।
मर्चेन्ट वैकिङ्ग सम्वन्धी नियमावली संशोधन नभईन्जेलसम्म मर्चेन्ट वैंकिङ्ग कार्य गर्न अनुमतिपत्रको लागि आवेदन लिने कार्य ०७३ कात्तिक ५ गतेदेखि स्थगित गरिएको थियो । मर्चेन्ट बैंकरको महत्वपूर्ण कार्य क्षेत्र प्राथमिक निष्काशनमा आएको संकुचन, मर्चेन्ट बैंकरहरुले वहन गर्ने जिम्मेवारी तथा लिने जोखिम, करीब दश वर्ष अगाडिको पूँजी सम्वन्धी व्यवस्था, व्यवसायिक क्षेत्रको विस्तार आदिको सम्वन्धमा अध्ययन गरी थप कानुनी तथा नीतिगत व्यवस्था गर्न जरुरी देखिएको भन्दै आवेदन दिने कार्य स्थगित गरिएको थियो । तर, मर्चेन्ट बैंकरको कार्य क्षेत्र विस्तार, बजारको विकास तथा वढ्दो जिम्मेवारी अनुरुप मर्चेन्ट वैंकरको वित्तीय अवस्था सुदृढ गर्न चुक्ता पूँजी बृद्धि, धितोपत्र व्यवसायमा हुन सक्ने कन्फ्लिक्ट अफ इन्ट्रेस्ट हटाउन धितोपत्र व्यवसायमा क्रस होल्डिङमा रोक र निष्काशन तथा विक्री प्रबन्ध सेवामा हुन सक्ने अस्वस्थ्य प्रतिस्पर्धालाई निरुत्साहित गर्नका लागि विद्यमान नियमावलीमा आवश्यक संशोधन गरी लाइसेन्स लिने प्रक्रिया पुनः सुचारु गरिएको हो ।