हकप्रद सेयर निष्काशनको क्रममा हुने गरेको बेथिति रोक्न नेपाल धितोपत्र बोर्ड कडा ढंगले उत्रिएको छ । सुरुमा हकप्रद सेयर निष्काशनको घोषणा गर्ने र पछि हकप्रद रद्द गरी मर्जरमा जाने क्रम बढेपछि अब हकप्रद निष्काशन रद्द गर्ने बैंक तथा वित्तीय संस्थालाई कडाइ गरिने भएको हो । धितोपत्र बोर्डको निर्णयलाई समर्थन गर्दै नेपाल राष्ट्र बैंकले हकप्रद रद्द गरेर मर्जरको अनुमतिका लागि आउने संस्थालाई बोर्डको सहमतिबिना मर्जर स्वीकृति नदिने भएको छ । हकप्रद निष्काशन घोषणा गर्ने र पछि रद्द गर्ने निर्णयले सेयर बजारमा प्रभाव परेको भन्दै सेयर बजारको नियामक धितोपत्र बोर्ड र बैंकहरुको नियामक राष्ट्र बैंक मिलेर यस्तो रोक लगाएका हुन् ।
सहाराको हकप्रद रद्द नहुने
रिलायबल डेभलपमेन्ट बैंक, जनता बैंक, त्रिवेणी विकास बैंक, राप्तीभेरी विकास बैंक लगायतले हकप्रद निष्काशन रद्द गर्दा लगानीकर्ताहरु मर्कामा परेका थिए । तर, सहारा विकास बैंकले भने हकप्रद रद्ध गर्न नपाउने भएको छ । देवः विकास बैंकसँग मर्जरमा जानका लागि हकप्रद रद्द गर्ने सोचमा रहेको सहाराले अब हकप्रद जारी गर्नैपर्ने भएको छ । सहाराले २५० प्रतिशत अर्थात एक बराबर दुई दशमलव पाँचको अनुपातमा हकप्रद सेयर निष्काशन गर्दैछ । देवःसँग मर्जरमा जाने भएपछि सहाराले हकप्रद पारित गर्न बोलाएको साधारणसभा पनि स्थगित गरेको थियो ।