Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

नेप्सेको सेयर कसरी बेच्दैछ राष्ट्र बैंक ?

२०७४ श्रावण ८ गते

रोयल आचार्य/बैंकिङ खबर – नेपाल स्टक एक्स्चेञ्जमा रहेको नेपाल राष्ट्र बैंकको सेयर बेच्नका लागि आवश्यक प्रक्रिया शुरु भइसकेको छ । चालु आर्थिक बर्ष २०७४/७५ को मौद्रिक नीतिमा नै राष्ट्र बैंकले नेपाल स्टक एक्स्चेञ्जमा रहेको आफ्नो सेयर बेच्ने उल्लेख गरेको छ । नेप्सेमा रहेको सेयरबिक्रिका लागि राष्ट्र बैंकले आवश्यक अध्ययन गरिरहेको प्रवक्ता एवं कार्यकारी निर्देशक नारायण पौडेलले बताए । ‘नेप्सेमा रहेको सेयर बिक्रि गर्ने कुरा धेरै पहिलेदेखि उठेको बिषय हो’ प्रवक्ता पौडेलले भने, ‘कसरी बेच्दा सहज हुन्छ भनेर नेप्सेसँग पनि परामर्श लिएका थियौ नेप्सले समग्र सेयरबिक्रिको बिषयमा अर्थमन्त्रालयलाई प्रतिवेदन बुझाइसकेको छ ।’ प्रतिवेदन अध्ययनपछि ढिलो छिटो जे भए पनि नेप्सेमा रहेको सेयर राष्ट्र बैंकले बेच्ने प्रवक्ता पौडेलको भनाई छ ।  

यस अघि नेपाल राष्ट्र बैङ्कले नेप्सेमा रहेको सेयरकुन मोडालिटीबाट विक्री गर्ने भनेर अध्ययन गरेको थियो । नेपाल धितोपत्र बोर्डले अर्को स्टक एक्सचेञ्जको प्रक्रिया अघि बढाएपछि नेप्सेको ३४ दशमलव ६० प्रतिशत सेयरविक्री गर्न राष्ट्र बैङ्कले अध्ययन थालेको हो । यस बिषयमा नेपाल धितोपत्र बोर्डले भने मौन बसेको छ । राष्ट्र बैंकले सेयर बिक्री गरे पनि बोर्डले अवरोध नगर्ने बोर्डका सह–प्रवक्ता निरञ्जन घिमिरेले बताए । बैंकिङ खबरसँग कुरा गर्दै सह–प्रवक्ता घिमिरेले भने, ‘नेप्सेमा रहेको राष्ट्र बैंकको सेयर बेच्न पाउनु उसको अधिकार हो, यस बिषयमा जे गर्छ राष्ट्र बैंकको निर्णय गर्छ ।’ आफ्नो सेयरबिक्री सम्बन्धी राष्ट्र बैंकले गर्ने निर्णयमा कुनै प्रतिक्रिया नदिने उनको भनाई थियो । 

बोर्डको नयाँ स्टक एक्सचेञ्ज थप्ने निर्णयबाट असन्तुष्ट भए पछि राष्ट्र बैंकले आफ्नो अंशमा रहेको नेप्सेको सेयर बेच्ने घोषणा गरेको थियो । राष्ट्र बैंकका गभर्नर डा. नेपालले बोर्डको २५ औं वार्षिकोत्सवको अवसरमा समेत नेप्सेमा रहेको बैंकको सेयर छिटै निजीक्षेत्रलाई बेच्ने बताएका थिए । हालसम्म नेप्सेमा सरकारको ५८ दशमलव ६६, राष्ट्र बैङ्कको ३४ दशमलव ६०, एनआईडीसीको ६ दशमलव १२ र ब्रोकरको शून्य दशमलव ६२ प्रतिशत सेयर अंश रहेको छ । नेप्सेका कर्मचारीले भने यसलाई निजीकरण गरिनुपर्ने माग गरेका छन् ।

Ad