Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

चुक्तापुँजीको झन्झट पार गरेका चार वाणिज्य बैंकहरु

२०७४ श्रावण ३ गते

रुपा कोइराला – नेपाल राष्ट्र बैंकले पुँजीवृद्धिका लागि बैंकहरुलाई दिएको समय सकिएको छ । राष्ट्र बैंकले वाणिज्य बैंक्हरुलाई ०७४ असार मसान्तसम्ममा आठ अर्ब चुक्तापुँजी पुर्याउन निर्देशन दिएको थियो । सो निर्देशन दिनुभन्दा अघि वाणिज्य बैंकहरुको चुक्तापुँजी न्युनतम दुई अर्ब रुपैयाँ थियो । बैंकिङ क्षेत्रलाई सबल बनाउन भन्दै गभर्नर डा. चिरंजीबि नेपालले बैंकहरुको चुक्तापुँजी चार गुणा बढाए । गभर्नर डा. नेपालले आर्थिक वर्ष ०७२।७३को मौद्रिक नीतिमार्फत पुँजीवृद्धिको योजना ल्याएका थिए ।

हालसम्म चार वटा बैंकको चुक्तापुँजी आठ अर्बभन्दा माथि पुगेको छ । जसमध्ये, सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको चुक्तापुँजी आठ अर्बभन्दा माथि थियो । हाल यो बैंकको चुक्तापुँजी आठ अर्ब ५८ करोड रुपैयाँ रहेको छ । 

एस डेभलपमेन्ट बैंक लिमिटेडलाई गाभेर नेपाल इन्भेष्टमेन्ट बैंकले नौ अर्ब २४ करोड रुपैयाँ पुर्याएको छ । एसलाई गाभ्नुअघि नै नेपाल इन्भेष्टमेन्ट बैंकले आठ अर्ब चुक्तापुँजी पुर्याइसकेको थियो । गत वर्ष नै आठ अर्बभन्दा बढी चुक्तापुँजी पुर्याएर यो बैंक पुँजीवृद्धिको नीति लागू भएपछि राष्ट्र बैंकले तोकेको न्युनतम चुक्तापुँजी पुर्याउने पहिलो बैंक बनेको थियो । 

राष्ट्र बैंकले तोकेको चुक्तापुँजी पुर्याउने दोस्रो बैंक हो, नेपाल बैंक लिमिटेड । सरकारी स्वामित्वको यो बैंकले आठ अर्ब दुई करोड रुपैयाँ चुक्तापुँजी पुर्याएको छ । बैंकले मर्जर तथा एक्विजिसनबिना नै आठ अर्ब चुक्तापुँजी पुर्याएको हो । पुँजीवृद्धिका लागि बैंकले हकप्रद सेयर र बोनस सेयरको बाटो अपनाएको थियो । 

त्यस्तै, आठ अर्ब चुक्तापुँजी पुर्याउने निजी क्षेत्रको दोस्रो बैंक बन्न सफल बैंक हो, ग्लोबल आइएमई बैंक लिमिटेड । यो बैंकले हालै रिलायबल डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ति गरेर आठ अर्ब आठ करोड रुपैयाँ चुक्तापुँजीको साथमा एकीकृत कराोबार थालेको छ । पुँजीवृद्धिका लागि यो बैंकले १० वटा बैंक तथा वित्तीय संस्थालाई गाभेको छ । 

Ad