आर्थिक वर्ष २०७४ देखि कार्यान्वयनमा ल्याइएको ब्याजदर करिडोर पद्धतिलाई नेपाल राष्ट्र बैंकले परिमार्जन गरेको छ । आइतबार होटल र्याडिसनमा आर्थिक वर्ष २०७४।७५को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबि नेपालले व्याजदर करिडोरमा समयसापेक्ष परिमार्जन गरेको बताए ।
उनका अनुसार, स्थायी तरलता सुविधा दरलाई ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा लिइने पद्धतिलाई यथावत् राखेको छ । हाल कायम रहेको ७.० प्रतिशतको स्थायी तरलता सुविधा दरलाई राष्ट्र बैंकले यथावत राखेको हो ।
त्यस्तै, ब्याजदर करिडोर अन्तर्गतको दुईहप्ते निक्षेप संकलन दरलाई तल्लो सीमाको रुपमा लिइने व्यवस्थालाई पनि यथावत कायम गरिएको छ । दुईहप्ते निक्षेप संकलन दरलाई ३.० प्रतिशत कायम गरिएको छ । यो नीतिगत व्यवस्थाले बजार ब्याजदरमा देखिएको उतार चढावलाई न्यूनीकरण गर्न योगदान पुर्याउने विश्वास राष्ट्र बैंकले लिएको छ ।