नेपाल बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकले तोकेको चुक्तापुँजी पुर्याएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षभित्र क वर्गका सबै वाणिज्य बैकहरुलाई चुक्ता पुंजी ८ अर्ब पुर्याउन निर्देशन दिएको थियो । यससँगै राष्ट्र बैंकले तोकेको चुक्तापुँजी पुर्याउनेमा नेपाल बैंक दोस्रो भएको छ । यसअघि, नेपाल इन्भेष्टमेन्ट बैंकले आठ अर्ब चुक्तापुँजी पुर्याएको थियो ।
नेपालको वित्तिय क्षेत्र सुधार कार्यक्रमअन्तर्गत केहीअवधि करार व्यवस्थापन र केहीअवधि नेपाल राष्ट्र बैंकको व्यवस्थापनअन्तर्गत संचालित भई विगत २ वर्षयता खुल्ला प्रतिष्पर्धाबाट नियुक्त प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाहको नेतृत्वमा चलिरहेको यस बैंकको चुक्ता पुँजी हाल आठ अर्ब दुई करोड रुपैयाँ पुगेको छ । पुरानो कर्जा असुली, सम्पत्ति विक्री, समग्र कारोवार तथा कार्यकुशलता अभिवृद्धिमा बैंकद्वारा गरिएको अथक प्रयासबाट नियामक निकायद्वारा निर्धारित न्युनतम सीमाभन्दा केही बढी चुक्ता पुँजी पुर्याउन बैंक सफल भएको हो ।
वि.सं १९९४ सालमा स्थापित भई आठ दशकयता नेपालको आर्थिक सामाजिक विकासमा अविच्छिन्न रुपमा संलग्न रहीआएको यस बैंकमा नेपाल सरकारको ६२.५५ प्रतिशत स्वामित्व रहेको छ । यस बैंकले हाल ८४ अर्ब निक्षेप संकलन गरी ७४ अर्ब कर्जा प्रवाह गरेको छ । देशका ५३ जिल्लामा १३१ शाखा कार्यालय ८ एक्सटेन्सन काउन्टरको कार्यसंजाल मार्फत जनतालाई इ– बैकिंग , मोवाईल बैकिंगलगायतका अनलाईन बैंकिग सेवा उपलव्ध गराईरहेको यस बैकका ४७ स्थानमा आफनै एटिएम सेवाविन्दु रहेका छन् । साढे १५ लाखग्राहकलाई प्रत्यक्ष सेवा पुर्याइरहेको यस बैंकले ग्राहकलाई आधुनिक, विशिष्ट तथा गुणस्तरीय सेवाको अनुभुति दिलाउने उद्देश्यले आगामी आ.व.माप्रथम चरणमा छानिएका २५ शाखाबाट स्मार्ट बैकिंग सेवा आरम्भ गर्दै छ ।