Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

काभ्रेका सबै गाउँपालिका वाणिज्य बैंकबिहिन

२०७४ असार २३ गते

रोयल आचार्य/बैंकिङ खबर – राजधानी काठमाडौंको छिमेकी जिल्ला काभ्रेपलाञ्चोकका ८५ प्रतिशत भन्दाबढी गाउँपालिका बैंकिङ पहुँच बाहिर रहेका छन् । देशकै केन्द्र नजिक रहेको काभ्रेपलाञ्चोक जिल्लाका ७ वटा गाउँपालिकामध्ये ६ वटामा अझै पनि बैंक शाखा पुग्न सकेका छैनन् । काभ्रेका १३ स्थानीय तहमा ६ वटा नगरपालिका र ७ वटा गाउँपालिका छन् । काभ्रेका ७ गाउँपालिकामध्ये एउटा गाउँपालिकामा मात्रै बैंकको शाखा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । देशको राजधानीसँग सिमाना जोडिएको जिल्लाको हविगत त यस्तो छ भने दुर्गम भेगमा झन् कस्तो होला ? 

नेपाल राष्ट्र बैंकले बैंकिङ पहुँच विस्तारका लागि विभिन्न तरिकाहरु अपनाएको भए पनि राजधानी छेउकै जिल्लाका गाउँपालिकामा बैंकिङ पहुँच नपुग्नु दुखद भएको काभ्रे ज्याम्दीका स्थानीय विजय पराजुलीले बताए । गाउँपालिमा बैंक शाखा नहुँदा वित्तीय कारोबार गर्नबाट बञ्चित हुनु परेको स्थानीयवासीको गुनासो छ । बैंकका शाखाहरु सबै शहर केन्द्रीत भएर मात्रै खुलेका छन् । काभ्रे जिल्लाका ग्रामिण भेगका जनता अझै बैंकिङ पहुँच बाहिर भएका कारण शाहू महाजनबाट कर्जा लिएर  खर्च टार्न बाध्य भएको लक्ष्मी बैंक भकुण्डेवेसीका शाखा प्रवन्धक हरिहर अधिकारीले बताए । बैंकिङ खबरसँग कुरागर्दै शाखा प्रवन्धक अधिकारीले भने ‘म यस ठाउँको सबैभन्दा पुरानो बैंकको कर्मचारी हुँ, मैले थाहाँ पाएसम्म स्थानीय जनतामा अझै बैंकिङ चेतना पुग्न सकेको छैन ।’ शहरका केहि भूभागका जनताहरुले थोर बहुत बैंकबारे बुझेको र बैंकिङ कारोबार गर्ने गरेको भए पनि ग्रामिण भेगका अधिकांश जनता अझै बैंकिङ कारोबार भन्दा टाढा रहेको शाखा प्रवन्धक अधिकारीको भनाई छ ।

बैंकिङ चेतना बुझेका गाउँपालिकाका जनताहरु बैंक शाखा कहिले खुल्छ भनेर बाटो हेरेर बसेका छन् । ‘सरकारले आगामी आर्थिक वर्षभित्रै सबै स्थानीय तहमा बैंकको एक शाखा अनिवार्य खोल्ने तयारी गरेको छ, अर्थमन्त्रालयले पनि सबै स्थानीय तहमा बैंकिङ पहुँच विस्तारका लागि नेपाल राष्ट्र बैंकलाई निर्देशन दिइसकेको छ’ स्थानीय सरोज अधिकारीले भने कहिले बैंक शाखा खुल्छ भनेर आश गरेर बसेका छौं । 

काभ्रे जिल्ला त केवल प्रतिनीधि पात्र मात्रै हो । देशका अधिकांश ग्रामिण भेगमा बैंकका शाखा खुल्न सकेका छैनन् । नेपालमा वित्तीय पहुँच ज्यादै न्युन छ । वित्तीय साक्षरताको कमीले गर्दा ग्रामिण भेगका मानिसले बैंकिङ सेवाबारे जानकारी पाएका छैनन् । बैंकहरुले ग्रामिण भेगमा शाखा विस्तारलाई ध्यान नदिएका कारण पनि वित्तीय साक्षरताको अभाव भएको छ । 

मूलुक संघीय संरचनामा गएपछि सात सय ४४ वटा स्थानीय निकायहरु बनाइएको छ । नयाँ संविधान अनुसार बनाइएको स्थानीय निकायमध्ये पहाडी तथा तराई क्षेत्रका अधिकांश गाउँपालिकामा बैंक शाखा पुग्न सकेका छैनन् । एक अनौपचारिक तथ्यांक अनुसार नेपालका ७० प्रतिशत जति स्थानीय निकाय बैंकिङ पहुँच बाहिर छन् । भर्खरै घोषणा भएका २० प्रतिशत नगरपालिकामा एउटा बैंकको समेत शाखा छैन भने करिब ५० प्रतिशत गाउँपालिकामा पनि बैंक शाखा छैनन् । बैंकिङ पहुँच विस्तारका लागि नेपाल राष्ट्र बैंकले आवश्यक गृहकार्य गरिरहेको जनाएको छ । 

सबै गाउँपालिका वाणिज्य बैंक बिहिन
काभ्रेपलाञ्चोकका कुनै पनि गाउँपालिकामा वाणिज्य बैंकको शाखा नभएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार जिल्लाका ७ गाउँपालिका मध्ये ६ वटामा बैंकिङ पहूँच बाहिर रहेका छन् । बैंक शाखा छ भनिएको भुम्लु गाउँपालिकामा विकास बैंकका शाखा मात्रै छन् । जिल्लाका ७ वटै गाउँपालिकामा ‘क’ वर्गका बैंकको एउटा पनि शाखा नभएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार हाल २८ वाणिज्य बैंक, ५४ विकास बैंक, ३३ वटा फाइनान्स कम्पनीका एक हजार नौ सय ८८ शाखा सञ्चालनमा छन् । हाल भएका अधिकांश शाखामध्ये सबैभन्दा बढी महानगरपालिका र उपमहानगरपालिकामा छन् । हाल ८० प्रतिशत नगरपालिका र ३५ प्रतिशत गाउापालिकामा बैंक शाखाहरु पुगेका छन् । 

बैंकिङ पहूँच बाहिर रहेका काभ्रेका गाउँपालिका
१. चौरी देउराली गाउँपालिका
२. तिमाल गाउँपालिका
३. रोशी गाउँपालिका
४. महाभारत गाउँपालिका
५. बेथान चोक गाउँपालिका
५. खानीखोला गाउँपालिका

Ad