Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

एकआपसमा गाभिए फेवा र गण्डकी, गण्डकी विकास बैंकको नामबाट एकीकृत कारोबार

२०७४ असार २२ गते

रोयल आचार्य/बैंकिङ खबर – राष्ट्रिय स्तरको फेवा विकास बैंक र क्षेत्रीय स्तरको गण्डकी विकास बैंकसँग एकआपसमा गाभिएका छन् । पोखरा केन्द्रीय कार्यालय रहेका यी दुई विकास बैंक एकआपसमा गाभिएर गण्डकी विकास बैंकको नामबाट बुधबार एकिकृत कारोबार शुरु गरेका छन् । मर्जरपछि बनेको गण्डकीको प्रमुख कार्यकारी अधिकृतमा भने रेशम बहादुर थापालाई नियुक्त गरिएको छ । 

फेवा विकास बैंक राष्ट्रिय स्तरको र गण्डकी विकास बैंक १० जिल्ला कार्यक्षेत्र भएको विकास बैंक हो । दुई बैंकको आपसी सहमतिमा मर्ज भएर गण्डकी विकास बैंकको नामबाट एकिकृत कारोबार शुरु गरिएको साविकको गण्डकी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत छविन्द्रनाथ शर्माले बताए । ‘फेवा गण्डकीमा विलय भएको होइन आपसी सहमतिमा मर्जर पछिको नाम गण्डकी राखिएको हो’ बैंकिङ खबरसँग कुराकानी गर्दै शर्माले भने, ‘अब हामी दह्रो विकास बैंकको रुपमा प्रस्तुत भएका छौँ ।’ 

चुक्ता पूँजी २ अर्ब नजिक
नेपाल राष्ट्र बैंकले ल्याएको पूँजी वृद्धिको योजना अनुसार राष्ट्रिय स्तरको विकास बैंकलाई चालू आवको असार मसान्तसम्ममा दुई अर्ब ५० करोड रुपैयाँँ चुक्ता पुँजी पुर्याउनुपर्ने भएपछि यी दुई विकास बैंकहरु मर्जरमा गएका हुन् । मर्जरपछि बनेको गण्डकी विकास बैंकको चुक्ता पूँजी एक अर्ब ८४ करोड रुपैयाँ पुगेको साविकको गण्डकी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत शर्माले बताए । शर्माका अनुसार गण्डकीको चुक्ता पुँजी ६४ करोड ३९ लाख रुपैयाँ र फेवा विकास बैंकको चुक्ता पूँजी १ अर्ब १९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको थियो । 

यसरी पुग्दैछ अढाई अर्ब चुक्तापुँजी
राष्ट्र बैंकले तोक अनुसारको चुक्ता पूँजी पुर्याउन २५ प्रतिशत तत्कालै हकप्रद सेयर जारी गर्ने शर्माको भनाई छ । २५ प्रतिशत हकप्रद निष्कासन पश्चात मर्जरपछि बनेको गण्डकी विकास बैंकको चुक्ता पूँजी दुई अर्ब ५० करोड भन्दा बढी हुनेछ । 

मर्जर पछि बैकको निक्षेप १८ अर्ब २३ करोड रुपैयाँ, कर्जा १६ अर्ब ४७ करोड र  ग्राहक संख्या २ लाख पचास हजार रुपैयाँ पुगेको छ भने बैंकमा कर्मचारी चार सय जना, ५० वटा शाखा र एटीएम संख्या २१ वटा पुगेको छ । गत वर्षको असारमा विश्व विकास बैंक र फेवा फाइनान्स एक–आपसमा मर्जर भएर ‘फेवा विकास बैंक’ बनेको थियो । 

Ad