Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

अन्तरबैंक विद्युतीय भुक्तानी महशूल घट्यो, साउनदेखि १५ रुपैयाँ मात्रै लाग्ने

२०७४ असार २१ गते

नेपाल क्लियरिङ्ग हाउसले अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली (आईपीएस) बाट हुने कारोबारको महसुल घटाएको छ । यसअघि अधिकतम १०० रुपैंयासम्म शुल्क लाग्दै आएकोमा अब बढीमा १५ रुपैंया मात्र महसुल लाग्ने क्लियरिङ हाउसले जनाएको छ । यो महशूल दर साउन १ गतेदेखि लागू हुँदैछ ।

क्लियरिङ्ग हाउसका सदस्य बैंकहरुले अब नेपाली मुद्राको कारोबारमा दुई रुपैंयादेखि देखि १५ रुपैंयासम्म मात्र महशूल तिर्नुपर्नेछ । क्लियरिङ्ग हाउसका अनुसार साउन १ देखि पाँच सय रुपैंयासम्मको कारोबारमा दुई रुपैंया महसुल लाग्ने छ भने पाँच सयदेखि पाँच हजार रुपैंयासम्मको कारोबारमा पाँच रुपैंया शुल्क लाग्ने छ । त्यसै गरि पाँच हजारदेखि ५० हजारसम्म १० रुपैंया तथा ५० हजारभन्दा माथिको कारोबारमा १५ रुपैंया मात्र शुल्क लाग्ने क्लियरिङ हाउसले जनाएको छ । विदेशी मुद्रा कारोबारको हकमा भने प्रति कारोबार १५ रुपैंया महसुल लाग्ने बताइएको छ । बैंक वित्तीय संस्थाहरुको आन्तरिक व्यवस्था अनुसार सेवाग्राहीलाई तोक्ने महशुल दरमा भने फरक पर्न सक्ने कम्पनीले जनाएको छ । 

नेपाल क्लियरिङ्ग हाउसले आईपीएस प्रणाली मार्फत कष्टमर ट्रान्सफर, रेमिट्यान्स, तलब भत्ता, डिभिडेन्ट, आइपीओ रिफन्ड, बीमा, किस्ता भुक्तानी, सरकारी भुक्तानी, क्रेडिट कार्ड बिल भुक्तानी जस्ता महसुल सहज रुपमा तिर्न सक्ने जनाएको छ ।

हालसम्म ७७ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरु क्लियरिङ हाउसको सदस्य बनेका छन् । कारोबार शुल्क परिमार्जन पश्चात बैंक खाताबाट सिधै भुक्तानी कारोबार गर्न सहज हुने र यसको पहुच समेत बृद्धि हुने विश्वास क्लियरिङ हाउसले लिएको छ । 

Ad