Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

हप्तैपिच्छे विकास ऋणपत्र, सर्वसाधारणको सहभागिता शून्य

२०७४ असार १९ गते

ममता थापा-यही असार ७ गते मात्र ६ अर्ब रुपैयाँको १५ वर्षे विकास ऋणपत्र जारी गरेको नेपाल राष्ट्र बैङ्कले फेरि १३ गते रू। ७ अर्बको ५ वर्षे सोही ऋणपत्र विक्री गरेको छ । सरकारको आन्तरिक ऋण जुटाउन राष्ट्र बैङ्कले जारी गरेको सो ऋणपत्र २०७९ ‘ग’ मा माग रकमको ३ गुणाभन्दा बढी आवेदन पर्‍यो । त्यति धेरै आवेदन पर्दा समेत विकास ऋणपत्र खरीदमा सर्वसाधारणको सहभागिता शून्य प्राय रह्यो ।

असार ७ मा जारी गरेको विकास ऋणपत्रमा पनि मागभन्दा दोब्बर आवेदन परेको थियो । त्यसमा पनि सर्वसाधारणको सहभागिता नगन्य रहेको राष्ट्र बैङ्कको सार्वजनिक ऋण व्यवस्थापन विभागको तथ्याङ्कले देखाएको छ । विभागकी कामु कार्यकारी निर्देशक नीलम तिम्सिनाका अनुसार ७ गतेको निष्कासनमा १५ अर्ब ८६ करोड रुपैयाँको आवेदन परेको थियो । यस्तै १३ गतेको बोलकबोलमा २२ अर्ब रुपैयाँभन्दा बढीको आवेदन परेको उनले बताइन् । सर्वसाधारणले ऋणपत्र खरीद गर्न पाउने व्यवस्था भए पनि उनीहरूको सहभागिता न्यून हुनुले नेपालमा ऋणपत्रको बजार बैङ्क तथा वित्तीय संस्थामा मात्र केन्द्रित रहेको पुष्टि गरेको छ ।

सरकारी ऋणपत्रमा ब्याजदर केही कम भए पनि शून्य जोखीम र उच्च तरलता हुने भएकाले यसमा बैङ्क तथा वित्तीय संस्थाहरू बढी आकर्षित भएको उनको भनाइ छ । तर, सर्वसाधारणलाई छुट्ट्याइएको ९अप्रतिस्पर्धी० अंशमा पनि आवेदन नपर्नुले सर्वसाधारणमा लामो अवधिका सरकारी ऋणपत्रमा लगानी गर्ने पर्याप्त रकम नभएको सङ्केत गरेको अर्थशास्त्रीहरू बताउँछन् । ‘या त सर्वसाधारणसँग लगानीयोग्य पूँजी छैन अथवा ऋणपत्रका विषयमा उनीहरूलाई पूर्ण जानकारी नै छैन्,’ एक अर्थशास्त्रीले भने ।

बोलकबोलका क्रममा बैङ्कले लगाएको बोलीका आधारमा ऋणपत्रको ब्याजदर निर्धारण हुने र त्यसरी निर्धारित ब्याजदर सर्वसाधारण आवेदकलाई पनि लागू हुने तिम्सिता बताउँछिन् । ‘बैङ्कले कम ब्याजमै बोली लगाउने भएकाले सर्वसाधारण यसमा आकर्षित नभएका हुन सक्छन्,’ उनले भनिन्, ‘लामो अवधिको ऋणपत्रमा सर्वसाधारणको रुचि नभएको पनि हुनसक्छ ।’ बैङ्क तथा वित्तीय संस्थाबाट ऋणपत्रमा आएको माग हेर्दा बैङ्किङ प्रणालीमा लगानीयोग्य रकम ९तरलता०को सङ्कट अब नरहेको उनको ठहर छ ।

तरलता अनुगमन तथा प्रक्षेपण संरचनाअनुसार बैङ्क तथा वित्तीय संस्थामा अनिवार्य नगद मौज्दातबाहेक रू। ५४ अर्ब अतिरिक्त रकम रहेको तिम्सिनाले जानकारी दिइन् । यस्तै अवस्था कायम रहे राष्ट्र बैङ्कले फेरि बजारबाट रकम प्रशोचन गर्ने अवस्था आउन सक्ने उनले बताइन् ।

आर्थिक वर्ष ०७३र७४ मा आठौंपटक विकास ऋणपत्र जारी भइसकेको छ । वैशाखमा मात्र ३ पटकसम्म त्यस्तो ऋणपत्र जारी गरिएको थियो । पछिल्ला आर्थिक वर्षमा भने २ देखि ५ पटकसम्म मात्र ऋणपत्र जारी गरिएको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ । निक्षेपको ब्याजदर चर्किंदै गएको अवस्थामा राष्ट्र बैङ्कले भने असार १३ मा विक्री गरेको ऋणपत्र ४ दशमलव ९९ प्रतिशत ब्याजदरमै बैङ्कहरूले किनेका छन् । ‘यसरी १ साता नबित्दै थप ऋणपत्र जारी गर्नुको कारण सरकारले बजेटमा नै आन्तरिक ऋण उठाउने तालिका सार्वजनिक गर्नु हो,’ तिम्सिना भन्छिन्, ‘यसले बजारमा तरलता हुनु र नहुनुसँग कुनै अर्थ राख्दैन, यो वित्तीय व्यवस्थापनको कुरा हो ।’  

विसं २०७९ असार १४ गते सावाँ भुक्तानी हुने ५ वर्षे विकास ऋणपत्रको ब्याज अर्धवार्षिक रूपमा भुक्तानी हुने र आर्जित ब्याजमा ब्याजकर ९अर्थात् बैङ्क वित्तीय संस्था० लाग्ने व्यवस्था छ । कुल रकमको ८० प्रतिशत प्रतिस्पर्धी बोलकबोलवालालाई छुट्ट्याइएको थियो भने बाँकी अप्रतिस्पर्धी बोलवालाहरू ९अर्थात् सर्वसाधारण०लाई छुट्ट्याइएको थियो । अप्रतिस्पर्धी बोलवालाहरूलाई छुट्ट्याइएको रकमका लागि पूरा बोल प्राप्त नभएमा बाँकी रकम प्रतिस्पर्धी बोलवालाहरूलाई विक्री गरिन्छ । अप्रतिस्पर्धी बोलवालाहरूलाई छुट्ट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा त्यस्ता बोलवालाहरूलाई समानुपातिक रूपमा उक्त ऋणपत्रको रकम बाँडफाँट गरिन्छ ।

विकास ऋणपत्र बोलकबोलको माध्यमबाट विक्रि हुने गर्छ भने बोलकबोलमा एकल ब्याजदर विधि ९डच बोलकबोल प्रक्रिया० प्रयोग गरिन्छ । विकास ऋणपत्रको बोलकबोल ब्याजदरमा गर्नुपर्छ । एकै व्यक्ति वा संस्थाले अलगअलग वा बहुब्याजदरमा पनि बोल गर्न सक्छ । अनलाइन प्रणालीको माध्यमबाट बोलकबोल गर्नुपर्छ ।

ऋणपत्र बैङ्क तथा वित्तीय संस्थामा धितो राखी कर्जा लिन पाइने व्यवस्था छ । यस ऋणपत्र बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले खरीद गर्न पाउने भए तापनि धेरैजसो बैङ्कहरूको माग बढी आउने गरेको छ । यसबारे जनचेतना कम भएर वा खरीद प्रक्रिया झन्झटिलो मानेर पनि खरीदका लागि आम नागरिकले चासो नदिएको हुन सक्ने जानकारहरू बताउँछन् ।

२० गते थप ७ अर्बको ऋणपत्र
राष्ट्र बैङ्कले यही असार २० गते ७ अर्ब रुपैयाँबराबरको ६ वर्षे विकास ऋणपत्र विक्री गर्ने भएको छ । २०८० असार २१ गते साँवा फिर्ता हुने उक्त ऋणपत्रको ब्याज भने अर्धवार्षिक रूपमा भुक्तानी दिने बैङ्कले बताएको छ । सरकारले चालू आर्थिक वर्षका लागि दिएको आन्तरिक ऋणको लक्ष्य पूरा गर्न उक्त विकास ऋणपत्र जारी गर्न लागेको राष्ट्र बैङ्क स्रोतले बताएको छ । त्यसका लागि मङ्गलवार दिउँसो ३ बजेसम्ममा बोलपत्र पेश गर्न सम्बन्धित सबैलाई बैङ्कले आग्रह गरेको छ । बोलकबोलमा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने लगानीकर्तालाई ऋणपत्र विक्री गरिने राष्ट्र बैङ्कको भनाइ छ । आर्थिक अभियान दैनिकमा प्रकाशित समाचार