Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

सिईओको राजीनामा माग गर्दै नविल बैंकका कर्मचारी आन्दोलनमा

२०७४ असार ६ गते

रोयल आचार्य । व्यवस्थापन समिति विरुद्ध नविल बैंकका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । व्यवस्थापन समितिले कर्मचारी विनियमावलीको पालना नगरेको भन्दै नविल बैंक कर्मचारी संघ आन्दोलनमा उत्रिएको हो । कर्मचारी संघले ३ बुँदे माग राख्दै आइतबारबाट बैंकको केन्द्रीय कार्यालयमा धर्ना दिएका छन् । संघमा आवद्ध कर्मचारीले बैंकको केन्द्रीय कार्यालयको मूल ढोका बाहिर कालो व्यानर तथा हातमा विरोधका प्ले कार्डहरु बोकेर धर्नामा बसेका छन् ।

संघको नेतृत्वमा सुरु गरिएको आन्दोलनमा कर्मचारी विनिमावलीको पूर्ण रुपमा पालना गर्नु पर्ने, कर्मचारीहरुको वृत्ति विकास सुनिश्चित गरिनुपर्ने साथै व्यवस्थापन समितिले राजिनामा दिनु पर्ने लगायतका माग राखिएको छ । बैंकको व्यवस्थापन समितिको प्रमुखमा प्रमुख कार्यकारी अधिकृत शशिन जोशी रहेका छन् । धर्नाका क्रममा संघका कर्मचारीहरुले ‘असक्षम व्यवस्थापन चाहिँदैन, बैंक डुबाउन पाईन’ जस्ता नारा लगाएका थिए । 

आइतबारबाट सुरु भएको आन्दोलन मंगलबार कर्मचारीहरुको हस्ताक्षर संकलन गरेर बोर्डमा बुझाईने नविल बैंक कर्मचारी संघका अध्यक्ष शुक्र भट्टराईले बताए । ‘बैंकको व्यवस्थापन समतिले नियम कानूनलाई वेवास्ता गरी मनखुुसी तरिकाले काम कारवाही गरेका कारण आन्दोलनमा उत्रिन बाध्य भयौ’ बैंकिङ खबरसँग कुरा गर्दै  अध्यक्ष भट्टराईले भने – हाम्रो पहिलो चरणको शान्तिपूर्ण आन्दोलन एक सातासम्म चल्छ, एक सातासम्म पनि हाम्रो माग पुरा नभए अर्को सातादेखि अझै सशक्त रुपमा आन्दोलन गर्छौँ ।’ बैंकलाई राम्रो बनाउनका लागि आन्दोलनमा उत्रिएको अध्यक्ष भट्टराईको भनाई छ । 

नविल बैंकका कर्मचारीहरु विगतदेखि नै विभिन्न माग सहित आन्दोलनमा उत्रिने गरेका थिए । बैंकका कर्मचारीहरुले तलब बृद्धि, थप सेवा सुविधा लगायतका माग राख्दै यस अघि पनि आन्दोलनमा उत्रिएका थिए । २०७१ साल भदौमा करार सेवामा कार्यरत प्राविधिकतर्फका कर्मचारी स्थायी गर्नुपर्ने माग गर्दै तथा कर्मचारीको सेवा सुविधा वृद्धिको माग गर्दै २०७३ असारमा ३१ बुँदे माग राख्दै कर्मचारी आन्दोलनमा उत्रिएका थिए । त्यसपछि पनि विभिन्न समयमा कर्मचारीहरु आन्दोलनमा उत्रिएका थिए । 

Ad