Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

विकट क्षेत्रमा प्रभु बैंकको सेवा, ६१ शाखा थपिँदै

२०७४ असार ४ गते

रोयल आचार्य/रुपा कोइराला । प्रभु बैंकले विकट क्षेत्रमा प्राथमिकताका साथ शाखा कार्यालयहरु स्थापना गरिरहेको छ । ग्रामिण भेगका जनतालाई बैंकिङ सेवा दिने उद्देश्यले बैंकले अहिले शहरभन्दा पनि ग्रामिण भेगमा बढी शाखा विस्तार गरिरहेको छ । नेपाल राष्ट्र बैंकले बैंकिङ पहुँच बाहिर रहेका ९ जिल्लामा शाखा खोल्न बैंकहरुलाई निर्देशन दिएको छ । ग्रामिण भेगमा शाखा खोल्दा मूनाफा आर्जन नहुने भएकाले बैंकहरुले त्यस्ता ठाउँमा शाखा खोल्न नमानेका बेला प्रभु बैंक भने अग्रसर देखिएको छ । मूनाफाभन्दा पनि जनताको सेवालाई बिशेष प्राथमिकतामा राखेर दुर्गममा शाखा खोलिएको प्रभु बैंकले जनाएको छ । रुकुमको रुकुमकोट, मुस्ताङको मार्फा, मनाङको चामे, मुक्तिनाथको रानिपौवा, अछाम लगायतका दुर्गम ठाउँहरुमा शाखा विस्तार गरिसकेको प्रभु बैंकले अन्य थप विकट क्षेत्रमा शाखा विस्तार गर्ने तयारी गरिरहेको छ । मध्य र सुदुपश्चिमका आधाभन्दा बढी जनसंख्या सहज वित्तीय पहुँचमा नरहेको तथ्यलाई मध्यनजर गर्दै सक्षमसँग मिलेर प्रभु बैंकले वित्तीय पहुँचमा रहेको असन्तुलनलाई कम गर्ने लक्ष्य लिएको छ । प्रभु बैंकको यस कार्यमा सक्षमले प्राविधिक र वित्तीय सहयोग गर्ने जनाएको छ ।

बैंकिङ पहुँचको अभाव भएका जिल्लाहरुमा प्रभुको शाखा
बैंकिङ पहुँचका दृष्टिकोणले नेपालका ७५ जिल्लामध्ये अति नै पछि परेका नौ जिल्लाहरु छन् । ति नौ जिल्लाहरुमा शाखा खोल्न बैंकहरुले गाह्रो मानिरहेका बेला प्रभु बैंकले भने ती नौ मध्ये केही जिल्लामा शाखा विस्तार गरिसकेको छ भने बाँकी जिल्लाहरुमा पनि शाखा विस्तार गर्ने तयारी गरेको जनाएको छ । बैंक तथा वित्तीय संस्थाको एकदमै न्यून उपस्थिति भएका मनाङ, जुम्ला, डोल्पा, कालिकोट, मुगु, जाजरकोट, बझाङ, बाजुरा र दार्चुला जिल्लामा वित्तीय साक्षरता र बैंकिङ पहुँचको अवस्था अझै निराशाजनक देखिएको छ । ती जिल्लामा अझै पनि मानिसहरु साहू महाजनसँग नै कारोबार गर्न बाध्य छन् । उनीहरुमध्ये धेरैलाई बैंक तथा वित्तीय संस्थासँग कारोबार गर्नु त टाढाकै कुरा भयो, यस्ता संस्था भनेको के र कसका लागि भन्ने कुरा नै थाहा छैन । प्रभु बैंकले शाखा विस्तार गरेपछि ती जिल्लाहरुमा बैंकिङ पहुँच पुगेको छ भने वित्तीय साक्षरताको पनि विकास भइरहेको छ ।

विकट क्षेत्रमा राष्ट्र बैंकको फोकस
ग्रामिण भेगमा बैंकिङ पहुँच विस्तारका नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत विशेष व्यवस्था नै लागू गरेको छ । नेपालमा हाल हाल ५२ वटा लघुवित्त वित्तीय संस्थाहरु संचालनमा छन् । ती संस्थाले ४ लाख समूहका २० लाख ६८ हजार सदस्यलाई सेवा पुर्याएको राष्ट्र बैंकले जनाएको छ । लघुवित्तहरुले यी सदस्यहरूलाई ४३ करोड ३० लाख रुपैयाँ ऋण लगानी गरेका छन् । लघुवित्त संस्थाहरूको सेवा ७५ वटै जिल्लामा पुगेको देखिए पनि जिल्ला सदरमुकाम र ग्रामीण बजारमा मात्र केन्द्रीत देखिएपछि इजाजत बन्द गरेको राष्ट्र बैंकले विकट भनिएका नौ जिल्लामा जान तयार हुने लघुवित्तहरुलाई लाइसेन्स दिने व्यवस्था मिलाएको छ ।

लघुवित्त नपुगेको ठाउँमा प्रभु बैंक
बिशेष गरेर ग्रामिण भेगका विपन्न वर्गलाई सेवा दिने उद्देश्यले सञ्चालन अनुमति पाएका लघुवित्त वित्तीय संस्थाहरु अझै पनि विकट क्षेत्रमा पुग्न सकेका छैनन् । तर, देशका विभिन्न विकट क्षेत्रहरु जहाँ लघुवित्त पुगेका छैनन्, त्यस्ता ठाउँमा समेत प्रभु बैंकले शाखा विस्तार गरेको छ । विकट क्षेत्रमा शाखा विस्तार गर्दा नाफा नहुने भए पनि सेवा र बैंकिङ पहुँच विस्तारकै लागि प्रभु बैंकले शाखा विस्तार गरिरहेको छ ।

विकट जिल्लामा प्रभु बैंकका शाखा
नेपाल राष्ट्र बैंकले तोकेको ति विट नौ जिल्लाहरुमध्ये केही जिल्लामा प्रभु बैंकले शाखा खोलिसकेको छ । नौ जिल्लाहरुमध्ये निम्न जिल्लामा प्रभु बैंकको शाखा खुलिसकेका छन् ः
१.मनाङ
२. रुकुम
३. मुस्ताङ
४. गुल्मी

अब हरेक स्थानीय तहमा प्रभु बैंकका शाखा
नेपाल राष्ट्र बैंकले सबै स्थानीय तहमा शाखा खोल्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएबमोजिम प्रभु बैंकले निकट भविष्यमा नै ६१ वटा शाखा विस्तार गर्ने योजना अघि सारेको छ । प्रभुले हिमाली भेगमा १२ वटा, पहाडी भेगमा ३३ वटा र तराई भेगमा १६ वटा शाखा विस्तार गर्ने जानकारी दिएको छ । हाल प्रभु बैंकको उपत्यकाभित्र ४४ र उपत्यकाबाहिर ८९ वटा गरी कुल १३३ वटा शाखा रहेका छन् ।

हिमाली भेगमा खुल्न लागेका शाखाहरु
प्रभु बैंकले हिमाली भेगका सोलुखुम्बु, रसुवा, मुस्ताङ, मनाङ, म्याग्दी, हुम्ला, डोल्पा र बझाङ जिल्लामा शाखा विस्तार गर्नेछ । सोलुखुम्बुको दुधकोसी र रसुवाको पर्वतीकुण्डमा शाखा विस्तार गरिने बैंकले जनाएको छ । त्यस्तै, मुस्ताङ जिल्लामा थासाङ गाउँपालिका, डालोमे गाउँपालिका र लोमान्थाङ गाउँपालिका गरी तीन वटा शाखा विस्तार गर्ने योजना प्रभु बैंकको छ । यसका अलावा मनाङमा नासोङ गाउँपालिका र नेस्वाङ गाउँपालिका गरी दुई वटा तथा म्याग्दीको धौलागिरी गाउँपालिकामा एउटा शाखा विस्तार गर्ने बैंकले जनाएको छ । त्यस्तै, हुम्ला जिल्लामा खर्पुनाथ र बरगाउँ गरी दुई वटा, डोल्पाको शेफोक्सुन्डोमा एउटा र बझाङको धुनगढमा एउटा शाखा विस्तार गर्ने बैंकले बताएको छ ।

पहाडी भेगमा खुल्न लागेका शाखाहरु
पहाडी भेगमा पर्ने पूर्वतिरका जिल्लाहरु ओखलढुंगा, इलाम, धनकुटा, तेह्रथुम र भोजपूर जिल्लामा प्रभुले आठ वटा शाखा विस्तार गर्नेछ । ओखलढुंगाको लिखु गाउँपालिकामा एउटा, इलामको चुलाचुली र सन्दकपूरमा एक÷एक वटा, धनकुटाको भेडेटारमा एउटा, तेह्रथुमको लालीगुराँसमा एउटा, भोजपूरको षडानन्द, अरुण र हतुवागढीमा एक÷एक वटा शाखा विस्तार गर्ने प्रभुको योजना रहेको छ । यसका अलावा, दोलखाको मेलुङ, रामेछापको लिखु र म्याग्दीको रघुगंगा गाउँपालिकामा प्रभुले शाखा स्थापना गर्नेछ । त्यस्तै, बागलुङ जिल्लामा बरेङ गउँपालिका, तमनखोला गाउँपालिका, निसिखोला गाउँपालिका र बडीगाउँ गाउँपालिका गरी चार शाखा स्थापना गर्नेछ भने पर्वतको जलजला गाउँपालिका, कास्कीको माछापूछ्रे गाउँपालिका, अर्घाखाँचीको भुमिकाष्ठन नगरपालिका र जाजरकोटको नालगढ नगरपालिकामा प्रभुको शाखा कार्यालय खुल्नेछन् । त्यस्तै, रोल्पामा मादी–घर्तीगाउँ, त्रिवेणी र थबाङमा गरी तीन वटा शाखा विस्तार गर्ने योजना बनाएको प्रभुले प्युठानको घिम्रुक, अछामको बयलपाटा विनायक र डोटीको बोगाटनमा शाखा विस्तार गर्ने भएको छ । त्यसैगरी, डडेलधुराको मनिलेक र बगरकोटमा पनि प्रभु बैंकका शाखा पुग्ने भएका छन् भने बैतडीको पुर्चौडी हाट र मेलौली तथा दार्चुलाको बयस र हुटीमा पनि प्रभु बैंकको शाखा खुल्ने भएका छन् ।

तराई भेगमा खुल्न लागेका शाखाहरु
तराईँ भेगमा पर्ने मोरङ, सुनसरी, सप्तरी, सिराहा, बारा, धनुषा, नवलपरासी, कपिलवस्तु, रुपन्देही, बर्दिया, कैलाली र कञ्चनपूर गरी १२ जिल्लामा प्रभु बैंकका शाखा कार्यालय थपिने भएका छन् । मोरङको कटहरी, सुनसरीको भोक्राह, सप्तरीको रुपनी, सिराहाको विष्णुपूर तथा धनगढीमाई र बाराको सिम्राउनगढमा छिटै नै प्रभु बैंकका शाखा पुग्ने बताइएको छ । धनुषा जिल्लामा सबेला, मिथिला र गणेशमान चारनाथमा गरी तीन वटा शाखा विस्तार गर्न लागेको प्रभु बैंकले नवलपरासीको त्रिवेणीसुस्त गाउँपालिका, कपिलवस्तुको विजयनगर गाउँपालिका, रुपन्देहीको मार्चावारी गाउँपालिका, बर्दियाको ठाकुर बाबा, कैलालीको चौमाला र कञ्चनपूरको बेलौरी तथा दोधारा चाँदनीमा पनि आफ्नो शाखा विस्तार गर्ने जानकारी दिएको छ । 

Ad