रोयल आचार्य । चालु आर्थिक बर्षमा अधिकांश विकास बैंकहरुले राम्रो मूनाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले ल्याएको पुँजी वृद्धिको योजनामा सफल देखिने विकास बैंकहरुले उच्चतम् मूनाफा कमाउन सफल भएका हुन् ।
राष्ट्रिय तथा क्षेत्रीय स्तरका विकास बैंकहरुको पछिल्लो तेस्रो त्रेमासमा सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेखनीय मुनाफा कमाएका डाटा छ । हालसम्म ४३ वटा राष्ट्रिय तथा क्षेत्रीय स्तरका विकास बैंकहरुले तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । राष्ट्र बैंकले तोकेअनुसारको चुक्ता पुँजी पुर्याउनका लागि पनि विकास बैंकहरु अब्बल नै देखिएका छन् । राष्ट्र बैंकको पुँजी वृद्धिको नीति अनुसार हकप्रद सेयर, बोनस सेयर, मर्जर र एक्विजिशनका नीतिहरु अपनाएर बैंकहरुले चुक्ता पुँजि पुर्याउने कसरत गरिरहेका छन् । केहि विकास बैंकहरु वाणिज्य बैंकमा विलय हुने निर्णय गरेका छन् भने केहि विकास बैंकहरु आफूआफू मर्जरमा जाने सहमति गरेका छन् । तर, अधिकांश विकास बैंकहरुले मर्जरमा नगई आफै चुक्तापुँजी पुर्याउन सफल हुने भएका छन् ।
कुन विकास बैंकले कति कमाए ?
चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा ४३ वटा राष्ट्रिय तथा क्षेत्रीय स्तरका विकास बैंकहरुले वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । सार्वजनिक भएको ४३ वटा विकास बैकको वित्तीय विवरण हेर्दा सबैभन्दा बढी मुनाफा कमाउनेमा कैलाश विकास बैंक रहेको छ । कैलाशले तेस्रो त्रैमासमा ३६ करोड ७९ लाख ९५ हजार खुद नाफा कमाएको छ । कैलाश पछि दोस्रोमा मुक्तिनाथ विकास रहेको छ । मुक्तिनाथले तेस्रो त्रैमासमा ३५ करोड ५१ लाख २५ हजार २ सय २० रुपैयाँ खुद नाफा कमाएको छ । कैलाश र मुक्तिनाथ पछि सिद्धार्थ डेभलपमेन्ट बैंकले बढी मुनाफा कमाएको छ । तेस्रो त्रैमासमा खुद मुनाफाका आधारमा तेस्रो ठूलो विकास बैंक बन्न सफल सिद्धार्थ भने नाम निशाना नरहने गरी जनता बैंकसँग विलय हुने भएको छ ।
सिद्धार्थ पछि फेवा विकास बैंकले २७ करोड १३ लाख ३६ हजार रुपैयाँ खुना नाफा कमाएको छ । त्यसैगरी शाईन रेसुंगा डेभलपमेन्ट बैंकले २६ करोड ९० लाख पाँच हजार छ सय ८० रुपैयाँ, गरिमा विकास बैंकले २४ करोड ८५ लाख ५२ हजार आठ सय ९० रुपैयाँ, सांग्रिला डेभलपमेन्ट बैंकले २४ करोड ४९ लाख तीन हजार पाँच सय ३० रुपैयाँ मुनाफा कमाएको छ । तेस्रो त्रैमासमा कमाएको खुद नाफाका हिसाबले आठौँ स्थानमा पर्न सफल महालक्ष्मी विकास बैंकले २२ करोड ०४ लाख तीन हजार रुपैयाँ कमाएको छ । महालक्ष्मी पछि क्रमशः टुरिजम डेभलपमेन्ट बैंक, देवः विकास बैंक, एनआडीसी डेभलपमेन्ट बैंक, ज्योति विकास बैंक, एस डेभलपमेन्ट बैंक, काण्ठमण्डप डेभलपमेन्ट बैंक, कामना विकास बैंक लगायतले खुद मुनाफा राम्रो कमाएका छन् ।